बुधबार, माघ ७, २०८२

माओवादीको केन्द्रीय समिति बैठक बस्दै, एमसीसीबारे घनिभूत छलफल हुने

मेरोन्यूज २०७८ फागुन २० गते ७:२९

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । राष्ट्रियसभा गृहमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का बारेमा पार्टीभित्र घनिभूत छलफल हुने भएको छ ।

गत १५ गते बसेको प्रतिनिधिसभा बैठकमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रले सहयोग गरेको भन्दै पार्टीभित्र नेता नारायणकाजी श्रेष्ठ पक्षले असन्तुष्टि जनाउँदै आएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनको विषयमा निर्णय लिएर पार्टीमा ह्विपसम्म लगाएपछि श्रेष्ठ पक्षले विरोध जनाउँदै आएको हो ।

एमसीसी पास गरेको भोलिपल्ट राखिएको पत्रकार सम्मेलनमा प्रचण्डले नेता श्रेष्ठ पक्षलाई पार्टी छाडेर जान सक्नेसम्मको चेतावनी दिएका थिए । त्यसपछि पार्टीभित्र थप विवाद उत्पन्न भएपछि श्रेष्ठलाई फकाउन प्रचण्डको उनकै निवासमा पुगेका थिए ।

यसैबीच नेता श्रेष्ठले एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै पार्टीमा देखिएको आन्तरिक मतभेदप्रति सचेत हुन आग्रह गरेका थिए । बिहीबार उनले आफ्नो समाजिक सञ्जालमार्फन सञ्चार माध्यमलाई पार्टीमा भएको मतभेद र अन्तर विरोधलाई अतिरञ्जित ढंगले प्रचार नगर्न अनुरोध गरे ।

‘हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तर विरोधलाई लिएर विभिन्न सञ्चार माध्यममार्फत विभिन्न ढंगले प्रचार भइरहेको सम्बन्धमा अतिरञ्जित ढंगले नबुझ्न सबैसँग अनुरोध गर्दछु,’ उनले भने, ‘अध्यक्ष प्रचण्ड र मेरोबीचमा छलफल जारी छ, र अन्य नेतृत्वदायी कमरेडसँग पनि छलफल भइरहेको छ ।’

प्रतिक्रिया