तङ्ग्रिँदै वैदेशिक रोजगारः चार लाख जनाको श्रम स्वीकृति के बढ्ला त रेमिट्यान्स?

काठमाडाै
कोरोना माहामारीले थलिएको वैदैशिक रोजगार यस वर्ष तङ्ग्रिँएको छ । २०७८ साल सुरु भएयताको १० महिनामा वैदेशिक रोजगारमा जान करिव चार लाख जनाले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागले २०७८ वैशाख देखि माघ मसान्तसम्मको अवधिमा उनीहरुलाई अन्तिम श्रम स्वीकृति प्रदान गरेको हो।
‘कोरोना महामारी मत्थर हुँदै गएपछि वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या पहिलेकै अवस्थामा पुगेको छ,’ वैदेशिक रोजगार विभागमा सूचना अधिकारी कृष्ण प्रसाद भूसालले न्युज कारखानासँग भने ।
भूसालका अनुसार पछिल्लो १० महिनामा कूल ३ लाख ९७ हजार ६१३ जनाले विभागबाट श्रम स्वीकृति लिइसकेका छन् । सो समयमा औषतमा प्रत्येक महिना ३९ हजार ७६१ जनाले श्रम स्वीकृति लिएको देखिन्छ ।
अहिलेकै गतिमा श्रम स्वीकृति लिनेको संख्या बाँकी दुई महिनामा पनि बढे यो वर्ष करिव पाँच लाख जना वैदेशिक रोजगारमा जाने देखिन्छ ।
‘गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या मात्र ३० हजार थियो । चालु आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या ३ लाख १० हजारभन्दा बढी छ,’ सूचना अधिकृत भूसालले भने ।
विभागका अनुसार २०७८ सुरु भएपछि वैशाखमा २४ हजार ३६३, जेठमा ४ हजार ८६, असारमा २० हजार ६५८, साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५ र माघमा ५४ हजार ४७० जनाले श्रम स्वीकृति लिएका छन् ।
विश्वमा कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगार क्षेत्रमा असर गरेको थियो । महामारीका कारण वैदेशिक रोजगारमा जानेको संख्यामा ठूलो गिरावट आएको थियो ।
विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो ।
कोरोना महामारी नियन्त्रण गर्न प्रायः सबै देश लकडाउनमा गएपछि वैदेशिक रोजगारमा जानेको संख्या ओरालो लागेको थियो । नेपालले पनि २०७६ चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो ।
कोरोनाका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भएपछि आर्थिक वर्ष २०७६/७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४३३ मा झरेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारमा जान विभागबाट ४ लाख ७६ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए ।
वैदेशिक रोजगारमा कोरोनाले अझ ठूलो असर आर्थिक वर्ष २०७७/७८ मा गर्यो । सो वर्ष मात्र १ लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष भने श्रव स्वीकृति लिनेको संख्या पुरानै अवस्थामा फर्केको छ ।
‘कोरोना खोपका कारण विश्वास बढ्यो र बजार खुले । यसैले वैदेशिक रोजगारलाई फेरी पुरानै अवस्थामा फर्काउन मद्दत गर्यो,’ विभागका सूचना अधिकृत भूसालले न्युज कारखानासँग भने ।
कोरोनाका कारण वैदेशिक रोजगारमा जानेको संख्या घट्दा यसले नेपाल भित्रने रेमिट्यान्समा असर गरेको छ । पछिल्ला महिनाहरुमा नेपाल भित्रने रेमिट्यान्स घटेको छ । यसले नेपालको अर्थतन्त्रमा पनि प्रभाव पारेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुससम्मको ६ महिनाको अवधिममा नेपालमा विभिन्न देशबाट ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्स ५.५ प्रतिशतले घटेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा नेपालमा ४ खर्ब ९५ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। यस वर्ष वैदेशिक रोजगारमा जानेको संख्या बढेको छ । यसले पुनः नेपाल भित्रने रेमिट्यान्स बढाउने विश्वास गरिएको छ।










प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
Nepal enters semifinals of Blind Women’s Cricket Tournament
जलवायु न्यायको लागि विश्वव्यापी प्रदर्शन
सरकारलाई मानवअधिकार आयोगको आग्रह- हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुनू
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया