बिहीबार, माघ ८, २०८२

माओवादी केन्द्रको बैठक जारी, पदाधिकारी मनोनयन नगर्ने मनस्थितिमा प्रचण्ड

मेरोन्यूज २०७८ फागुन २३ गते १३:११

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै छ । आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरी आजका लागि बोलाइएको हो ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी छ । बैठकमा नेता नारायणकाजी श्रेष्ठ पक्ष पनि सहभागी छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर श्रेष्ठ समूहले असन्तुष्टि सार्वजनिक गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठ समूहलाई पार्टी छाडेर जान सक्नेसम्म बताएका थिए । प्रचण्डको अभिव्यक्तिपछि सम्बन्ध बिग्रिएको थियो । आजको केन्द्रीय समिति बैठकमा श्रेष्ठ समूहले आफ्ना असहमति दर्ज गराउने भएको छ ।

राष्ट्रिय महाधिवेशन सम्पन्न भएको तीन महिनापछि माओवादी केन्द्रको केन्द्रीय समितिको पहिलो बैठक बसेको हो । आजको बैठकमा अध्यक्ष प्रचण्डले बाँकी केन्द्रीय सदस्य मनोनित गर्ने भएका छन् ।

माओवादीले अझै पदाधिकारी चयन गर्न सकेको छैन । महासचिव चयन गर्न सकस भएपछि प्रचण्डले पदाधिकारी तत्काल मनोनयन नगर्ने मनस्थिति बनाएका छन् ।

प्रतिक्रिया