आइतबार, माघ ४, २०८२

चैत नलाग्दै डढेलो, लुक्ला विमानस्थल नजिकै आगलागी हुँदा उडान प्रभावित

मेरोन्यूज २०७८ फागुन २३ गते १९:१७

सोलुखुम्बु । यो वर्ष चैत नलाग्दै आगलागी तथा डढेलो लाग्न सुरु गरेको छ । आइतबार मात्रै तनहुँको दमौलीमा भीषण आगलागी भएको थियो भने सोमवार सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकको जंगलमा डढेलो लागेको छ ।

विमानस्थल नजिकैको जंगलमा आगलागी हुँदा धुवाँको मुस्लोले हवाइ उडानसमेत प्रभावित बनेको छ ।

जिल्लाको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर २ स्थित नाक्चुङ सामुदायिक वन क्षेत्रमा आइतबाररातिदेखि भीषण आगलागी हुँदा आगोको मुस्लोका सोमवार दिउँसोको उडान प्रभावित भएको विमानस्थल कर्मचारीले बताए । कालो मुस्लोसहितको धुँवाले झण्डै दुई घण्टा विमानस्थल नै बन्द गर्नुपरेको विमानस्थलका प्रमुख द्वारिका अछामीले बताए ।

आगलागीको बारेमा बिहान नेपाल प्रहरीलाई स्थानीयले जानकारी गराएपछि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको संयुक्त टोली आगो निभाउन खटिएको थियो ।

जंगलको अप्ठेरो ठाउँमा लागेको आगो निभाउन नसकिएपछि आगो निभाउन हेलिकोप्टरकोसमेत प्रयोग गरिएको थियो ।

आगलागीबाट १० हेक्टरभन्दा बढी क्षेत्रफलको जंगल क्षति पुगेको अनुमान गरिएको छ ।

प्रतिक्रिया