प्रकाश सपुतको नयाँ गीत ‘पिर’ हेरेपछि …

गायक प्रकाश सपुतको हालै आएको नयाँ गीत ‘पिर’ ले व्यापक बहस सिर्जना गराएको छ । गीतलाई हामीले दुई–तीन वटा पाटो/ पक्षबाट हेरेर विश्लेषण गरिनुपर्छ भन्ने म ठान्छु । यसलाई सकारात्मक र नकारात्मक दुवै पक्षबाट हेरिनुपर्छ । अझ हामी मार्क्सवादीहरुले त द्वन्द्वात्मक दृष्टिकोणबाटै हेरिनुपर्छ । त्यही आधारमा ब्याख्या–विश्लेषण गर्ने र एउटा निश्कर्षमा पुग्नुपर्छ ।
‘पिर’ गीतलाई नकारात्मक पाटोबाट हेर्दा प्रकाशजीले जनयुद्धमा लड्नु गलत थियो, जनयुद्धको यात्रा गलत थियो, संघर्ष गर्नु गलत थियो भन्ने मुख्य भाव त्यसमा अभिब्यक्त गर्न खोज्नु भएको अर्थमा मैले बुझेँ, तर त्यो सत्य होइन ।
जनयुद्ध महान् थियो । यो यात्रा महान् थियो । नेपालमा अहिलेसम्म भएका संघर्ष, क्रान्तिहरुमा एउटा उचाईको क्रान्ति थियो । त्यसैले त्यहाँ जुन वलिदान भए, यो यात्रामा सहभागीहरुले जुन खालको कष्टसाध्य ब्यहोरे, जति विपत्तिको सामना गरे, त्यो सवै राष्ट्र र जनताको सुखद या राष्ट्र र जनताको उज्यालो भविश्य, स्वाधिनता र स्वाभिमानको निम्ति थियो । र, त्यो छ पनि ।
त्यसैले उहाँले जान या अन्जानमा यसमा निराशा भर्न खोज्नुभएको छ, त्यो पक्ष गलत छ । म कसैको उक्सावटमा उहाँले यसो गर्नुभयो भनेर आरोपित गर्न चाहन्न । तर जान या अन्जानमा लड्नु गलत थियो, संघर्ष गलत थियो भन्ने भाव उहाँले गीतको माध्यमबाट दिन खोज्नुभएको छ, यो पाटोबाट यसको समिक्षा गर्नु जरुरी हुन्छ ।
दोस्रो पक्ष भनेको फेरि समाजमा समस्याहरु छन्, समस्या भनेको दुईवटा कारणले निम्तेको छ ।
पहिलो, पुँजीवादले विश्वभर नै संकट थोपरेको छ । त्यो पुँजीवादको समस्या हो । यो नेपालमा आउँदा अझ दलाल पुँजीवादको समस्या हो । नेपालमा मात्र हो र ? यही नजिकको भारत हेर्ने हो भने त्यहाँ झन भंयकरको समस्या, भयंकरका विपत्तिहरुको सामना गरिरहेका युवा–युवती हामी देख्छौं । त्यसैले यो पुँजीवादको समस्या हो ।
दोस्रो, प्रचण्ड–बाबुरामहरुले जुन एउटा आदर्श, मूल्य–मान्यता खडा गर्दै जनयुद्धको नेतृत्व गर्नुभयो, त्यसलाई बीचमै छोडिदिनुभयो । या उहाँहरुको विश्वासघात भनौं, या उहाँहरुको गद्दारी भनौं या उहाँहरुको विचलन । त्यसले क्रान्तिमा अगाडि वढेका याेद्धाहरुको जीवनमा पनि भंयकरको संकट या अप्ठ्यारो ल्यायो ।
जुन युवायुवतीहरु उहाँहरुको आदेशमा पूरै जीवन उत्सर्ग गर्न तयार हुन्थे, आफनो पूरै युवा अवस्थालाई समर्पित गरेका पनि थिए, तिनीहरुको जीवनमा आज साँच्चिकै संकट छ । उनीहरुले साँच्चिकै भयावह अवस्था सामना गरिरहेका छन् ।
त्यसो हो भने अब के त ? समस्या समस्यामै रहन दिने हो ? त्यसो होइन । अर्काे पक्ष भनेको नेपालमा क्रान्ति त अझै जारी छ । राज्यब्यवस्था प्राप्तीको जुन एउटा सपना थियो, अभियान थियो, त्यो पूरा भएको छैन । हामी लडिरहेकै छौं । हामी युवायुवतीलाई निरास नहुन आग्रह गरिरहेका छौं । आम नेपाली जनतालाई पनि यस्तो अनुरोध, अपिल गरिरहेका छौं । किनभने क्रान्ति नै त्यस्तो विकल्प हो, जसले जीवनमा छाएका सवै निरासाहरुलाई सम्वोधन गर्न सक्छ या त्यसको अन्त्य गर्न सक्छ । जनता र राष्ट्रको दिशालाई उज्यालो दिशा या उज्यालो भविश्ष्यतिर प्रेरित गर्न सक्छ ।
अहिले पनि हामीले हेरयौं भने एकीकृत जनक्रान्तिको यात्रामा (जो विप्लवजीको नेतृत्वमा चलिरहेको छ) १२ जना मानिसहरु शहीद भए, घाइतेहरुको संख्या त्यत्तिकै छ । हामी जेल गयौं, अझै पनि जेलमा हाम्रा सयौं कार्यकर्ता हुनुहुन्छ । यो सबै के–का लागि ? भन्दा अखिर जनताको जीवनका लागि परिर्वतन पूर्णतामा पुगेको छैन । परिवर्तन प्राप्तिको निम्ति या राज्यमा नागरिकको प्रत्यक्ष सहभागिता, त्यसको निम्ति क्रान्ति त जारी नै छ ।
त्यसैले क्रान्तिकारी आन्दोलनबाट छाएको यो निरासालाई हामीले सम्बोधन गर्न सक्नुपर्छ । यी सवै सवालहरुको जवाफ हामी आन्दोलनको यात्रामा दिन्छौं । त्यसैले नेपालका कुनै पनि नागरिक, युवायुवतीहरु निरास हुन जरुरी छैन ।
प्रकाशजीको गीत मैले पनि गहिरिएरै हेरेँ । गीतभित्र जसरी महान् जनयुद्ध, फेरिएको व्यवस्था र नफेरिएको अवस्थाबारे चित्रित गर्न र संम्बेदनशीलताभित्र खेलेर निरासा बाँडेर देखाउन खोज्नुभएको छ, त्यो पुँजीवादको समस्या हो । यो ब्यक्ति विशेषको समस्या भन्दा पनि पुँजीवादले जन्माएको विकराल समस्या हो । अहिले हामीले हेरयौं भने नेपालको जनसंख्याको ठूलो हिस्सा विदेशमा छ । त्यसमा पनि युवायुवतीको संख्या अधिक विदेशमा दुख गरिरहेका छन् । जहाँ मान्छेहरु संसारभरका शहरहरुमा गुलाम या दासको जीवन वाँच्छन । नेपाली युवायुवतीले भोगेका कारुणिक साच्चिकै हृदयविदारक घटनाहरु बीबीसीले पनि सार्वजनिक गरेको छ । हामीले सुनेका छौं, हेरेका छौं । तपाईहरु कयौं पत्रकार र सञ्चारमाध्यमले पनि त्यसलाई तथ्यसहित सार्वजनिक गर्नुभएको छ । यसरी हेर्दा कस्तो लाग्छ भने नेपालका युवायुवती विश्वका धनाढय मान्छेहरुका दास र गुलाम वन्न जन्मिएकाजस्ता, नेपालका छोरीचेली उनीहरुका खेलौना बन्न बाध्य भएजस्तो यो स्थिति छ । यो राज्य र ब्यवस्थाको समस्या हो । जुन कुरा प्रकाश सपुतको गीतमा पनि हामी देख्न पाउँछौं ।
यसर्थ, प्रकाश सपुतजीको ‘पिर’ गीत बहसमा त छ । तर एउटा गीत, एउटा कविता, एउटा कथा र एउटा पुस्तकलाई हेरेर धारणा बनाउने भन्ने कुरा म त्यक्ति धेरै वस्तुवादी ठान्दिन । मूलतः यो राज्यले खडा गरेको समस्या हो । ब्यवस्थाले खडा गरेको समस्या हो । पुँजीवादले खडा गरेको समस्या हो । त्यो समस्यालाई गीतसँग लगेर जोडने, सिर्जनासँग लगेर जोडने कुरा हाम्रा आंशिक वुझाई हुन्छ जस्तो लाग्छ ।
अन्त्यमा,
आशावादी हुन नै म सवैसँग अनुरोध गर्छु । प्रकाश सपुत एकजना लोकप्रिय क्षमतावान ब्यक्ति पनि हुनुहुन्छ । उहाँहरु जस्तो कलाकारहरुले विषयवस्तु प्रस्तुत गर्दा आशावादी हुनु राम्रो हुन्छ । समस्याहरु उजागर गर्नु पनि पर्छ, तर बलिदानहरुको अवमूल्यन गर्नु हुन्न, मिल्दैन पनि । आन्दोलनमा भएका योगदान, बलिदानहरुलाई कमजोर रुपमा प्रस्तुत गर्नु हुदैन । कँही न कँही समस्याको विषय रहन्छ । त्यसैले नेपालभित्रै यहीको माटोभित्रै उज्यालो भविश्य र जीवन छ भन्ने कुराको सन्देश दिन कलाकारहरुले भुल्नु हुँदैन । प्रकाशजी जस्तो लोकप्रिय कलाकारहरुले त अझ मिल्दैन ।
(माओवादी जनयुद्धका एक चर्चित साँस्कृतिककर्मी र हाल नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका एक प्रभावशाली नेता माइला लामासँग गरिएको कुराकानीमा आधारित)
















बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया