सोमबार, वैशाख २१, २०८३

दुर्गमका जनताले पाए वरिष्ठ चिकित्सकबाट सेवा

मेरोन्यूज २०७८ चैत ३ गते २१:४९

काठमाडौँ । गरिबीका कारण मुटु रोग, हार्डजोर्नी, दम, स्त्री रोगजस्ता रोगबाट ग्रस्त जिल्लाका नागरिकले वरिष्ठ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । गरिबीका कारण उपचार गराउन नपाएका उनीहरुले दावाँली मिलन क्लबको सक्रियतामा आफ्नै जिल्लामा उपचार गराएका हुन् ।

Advertisement
NiccNicc

उक्त क्लब, नेपाल चिकित्सक सङ्घ, भोजपुर अस्पताल र भोजपुर नगरपालिकाको साझेदारीमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा करिब तीन हजार १०० भन्दा बढी बिरामीलाई एक सय ५० विशेषज्ञ चिकित्सकले सेवा प्रदान गरेका थिए । एक मात्र सरकारी अस्पताल रहेको भोजपुरमा सामन्य किसिमको बिरामी हुँदा पनि ठूलो आर्थिकभार व्यहोरेर बाहिरी जिल्ला जानुपर्ने बाध्यता रहँदै आएको छ ।

जिल्लामै विशेषज्ञ चिकित्सबाट मुटु रोग, हार्डजोर्नी, दम, स्त्री रोग, यौन तथा छाला रोग, नाक, कान,घाँटी, आँखा, दाँतलगायत रोगको निःशुल्क उपचार पाउदा बिरामीलाई राहत मिलेको चर्चा गर्दै स्थानीयवासी चन्द्रबहादुर भुजेलले भने, ‘‘जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा हामीलाई धेरै नै समस्या थियो । वरिष्ठ चिकित्सकको सेवा आफ्नै ठाउँमा लिन पाउदा खुसी लागेको छ ।’’

शिविरमा विशेष गरेर मुटु रोग, स्त्री रोग, हार्डजोर्नी तथा आँखाका बिरामीको सङ्ख्या बढी रहेको मुटुरोग विशेषज्ञ डा भगवान् कोइरालाले बताए । जिल्ला अस्पतलाको भवन सुविधा सम्पन्न भए पनि दक्ष जनशक्ति नहुँदा बिरामीलाई समस्या हुने गरेकाले यसतर्फ राज्यले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

सामान्य रोगको समस्या भएका बिरामीलाई यही उपचार तथा औषधि वितरण गरिएको र मुटुरोग,हार्डजोर्नीजस्ता जटिल खालका बिरामीलाई भने जिल्ला बाहिरका सुविधासम्पन्न अस्पतालमा लगेर निःशुल्क उपचार गरिने जनाइएको छ । ज्येष्ठ नागरिक, महिला, बालबालिका, तथा विपन्न नागरिकलाई लक्ष गरेर शिविर आयोजना गरिएको भोजपुर नगरप्रमुख कैलाशकुमार आलेको भनाइ थियो ।

प्रतिक्रिया