सोमबार, माघ ५, २०८२

लेटाङ घटनाको जाँच बुझ हुन्छ : गृहमन्त्री खाँण

मेरोन्यूज २०७८ चैत ७ गते १९:०३

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मोरङको लेटाङ नगरपालिका ५ मा आइतबार महिला प्रहरी जवानको मृत्युको घटनाको जाँचबुझ गरिने बताएका छन् । गृहमन्त्री खाँणले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा छानबिन गरिने र छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

फागु पूर्णिमाका दिन यही चैत ४ गते शिक्षा विकास माद्यामिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुव्र्यवहार गरेको भन्दै विद्यालयका छात्रछात्रा र अभिभावकसमेतको अनियन्त्रित भिडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेको थियो ।

उक्त अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । ‘शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको मोरङको लेटाङ घटनाको जाँचबुझ हुन्छ,’ गृहमन्त्री खाँणले भने, ‘छानबिनमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिबद्ध छ ।’

गृहमन्त्री खाँणले शान्ति सुरक्षा कायम गर्ने क्रममा मृत्यु भएकी महिला प्रहरी जवान श्रेष्ठप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरे । उनले कर्तव्य पालनाको सिलसिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरे ।

गृहमन्त्री खाँणले मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीलाई टेलिफोन गरी कर्तव्य पालनाको सिलसिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरे । घटनामा घाइते भएका २९ प्रहरीमध्ये पाँच प्रहरीको कोशी अस्पतालमा उपचारारत रहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

प्रतिक्रिया