बुढानीलकण्ठ दुर्घटना : पुग्दो प्रमाण, सामान्य कारबाही

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले सवारी ज्यानसम्बन्धी मुद्दामा १० वर्षको कैद साजयको माग दाबीलाई घटाएर ६ महिनामा झारेपछि फैसला विवादमा परेको छ ।
बुढानीलकण्ठको ‘हिट एण्ड रन’ मुद्दामा पृथ्वी मल्ललाई मादक पदार्थ सेवन गरी सवारी चलाएर लापरवाहीपूर्ण रुपमा पैदल यात्रीलाई ठक्कर दिएर ज्यान लिएको अभियोगमा दोषी ठहर गरे पनि ६ महिनाको न्यूनतम जेल सजाय र १० हजार सजाय सुनाएपछि विवादमा परेको हो ।
अदालतले माग दाबीको भन्दा फरक दफा लगाएर १० वर्षको माग दाबीलाई ६ महिनामा झारेको र १० हजार जरिवना तोकेपछि सरकारी वकिल कार्यालय र बाहिर पनि असन्तुष्टिका स्वर मुखर भएका छन् ।
‘यो निकै न्यूनतम सजाय हो, यसले न्याय प्रणालीलाई विश्वास योग्य बनाउँदैन,’ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका एक अधिकृतले भने । प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको माग दाबीलाई सदर गर्दै मुद्दा दायर गर्दा मल्लाई १० वर्ष कैद र सोही अनुसार जरिवाना हुनु पर्ने माग गरिएको थियो ।
तर, जिल्ला न्यायाधीश सूर्यप्रसाद अधिकारीको एकल इजलासले आशिंक दाबी पुग्ने फैसला सुनाएको थियो । काठमाडौँको बुढानीलकण्ठमा मल्लले अत्यधिक मदिरा सेवन गरी चलाएको कारको ठक्करबाट २०७६ मंसिरमा लिला देवकोटाको ज्यान गएको थियो । सो फैसलामा सर्वोच्च अदालतले नै कोरोना भाइरस (कोभिड–१९)को समयमा मल्ललाई थुनामुक्त गराएको थियो । उनले सात महिना जेल जीवन बिताएकाले सोमबार भएको फैसलाअनुसार अब जेल सजाय भोग्नु पर्ने छैन ।
‘जिल्ला न्यायाधीवक्ताको कार्यालय काठमाडौँले माग दाबी लिँदा सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ को दफा १६१ को उपदफा २ अनुसार सजायको माग गरेको थियो, तर जिल्ला अदालतबाट सोमबार फैसला आउँदा ऐन २०४९ दफा १६१ को उपदफा ३ बमोजिम कसुरमा सोहीअनुसार कारबाही गर्नु भन्ने फैसला भयो’, स्रोतले भन्यो ।
फैसलामा चालकले लापरबाहीपूर्वक सवारी साधन चलाएको कुरा आंशिक मात्र पुष्टि भएको उल्लेख छ । यो मुद्दामा सरकारी पक्षले भवितव्य नभई जानाजान ज्यान मार्ने कार्य भएको दाबी गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतले २ वर्षअगाडिको सो घटनाबारे फैसला सुनाउँदै चालकलाई जम्मा ६ महिना कैद र १० हजार जरिवाना गर्ने फैसला सुनाएको छ । यो कैद सजाय सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा ३ अनुसारको हो ।
सरकारी पक्षले मल्लले लापरबाहीपूर्ण रुपमा सवारी चलाएको मदिरा सेवन गरेको र नेपालको सवारी चालक अनुमति पत्रसमेत नभएको भन्दै सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा २ अनुसार सजाय हुनु पर्ने माग दाबी गरेको थियो ।
जिल्ला अदालतको सोमबारको फैसलापछि कारागारको रेकर्डमा मल्ल सात महिना कारागार बसिसकेकाले उनी पुनः कारागार बस्नु नपर्ने भएको छ । उनले अब तोकिएको १० हजार जरिवाना तिरेर उन्मुक्ति पाउने छन् ।
कारागारको रेकर्डमा सात महिना कारागार बसेको भनिए पनि उनी लामो समय अस्पताल बसेका थिए । अस्पतालबाट उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए । न्यायाधीश सपना प्रधान मल्लसहितको इजलासले धरौटीमा रिहा गर्न आदेश गरेपछि उनी रिहा भएका थिए ।
विं.सं. २०७७ असार ३१ गते सर्वोच्चका न्यायाधीशद्वय मल्ल र मनोज कुमार शर्माको इजलासले सो घटनाका अभियुक्त पृथ्वी मल्ललाई पाँच लाख धरौटीमा थुना मुक्त गर्न आदेश दिएको थियो । अमेरिकामा बस्दै आएका काठमाडौँका २१ वर्षीय पृथ्वी मल्ल २३ मंसिर २०७६ मा नेपाल आएका थिए ।
त्यसको तीन दिनपछि २७ मंसिरमा उनी आफैँले बा १४ च ६१२३ नम्बरको कार चलाई साथी करिश मास्केलाई लिएर नक्साल नारायण चौरमा जिम गर्न पुगेका थिए । त्यहाँबाट साँझ साढे ७ बजेतिर बालुवाटारस्थित पलेञ्ज गार्डेन रेष्टुराँमा पुगेर खाना खाएपछि उनीहरू रातभर ठमेलमा बसेका थिए ।
त्यहाँबाट रातको साढे १ बजे एलओडी क्लबमा पुगे । त्यसपछि बिहान साढे ४ बजे ठमेलस्थित सेनेठ क्लबमा मास्केका दुई जना केटी साथीहरू परमिता राणा र मनिषालाई भेटेर उनीहरू निस्केका थिए । प्रहरीमा दिएको बयानअनुसार त्यसपछि उनीहरू बिहानको ५ बजे बुढानीलकण्ठ हुँदै ग्रिनभ्याली रिसोर्ट पुगेका थिए ।
त्यहाँ गएर पनि निरन्तर मदिरा सेवन गरेका उनीहरू चढेको कारले त्यहाँबाट पुनः घरतर्फ फर्कंदा सडकको विपरीत दिशामा फुटपाथमा हिँड्दै गरेकी लिला देवकोटालाई ठक्कर दिँदा ज्यान गएको थियो । सडक दुर्घटना गराएर फरार भएका उनी परमिता राणाको फेसबुक स्टाटसका कारण उनलाई प्रहरी अनुसन्धानमा पुर्याएको थियो ।
सवारी ऐनमा लापरबाहीपूर्ण रुपमा सवारी चलाएर ज्यान गएको हकमा १० वर्षसम्म कैद र ३० हजारसम्म जरिवानाको प्रावधान छ । कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा दुर्घटना भएर कसैको ज्यान गएको अवस्थामा एक वर्ष कैद र दुई हजार जरिवानाको प्रावधान छ ।
न्यायाधीश सूर्यप्रसाद अधिकारीको एकल इजलासले आंशिक मात्रै माग दाबी पुग्ने फैसला गरेकाले पनि सो फैसालको विवादित बनेको एक सरकारी वकिलको दाबी छ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगाप्रसाद पौडेल फैसला त्रुटिपूर्ण भएमा फैसलाको पूर्णपाठ आएपछि मुद्दा पुनरावेदनमा जान सकिने बताएका छन् ।
मल्लले प्रहरी अनुसन्धानको क्रममा नेपाली सवारी चालक अनुमतिपत्र पेस गर्न सकेका थिएनन् । तर, पछि उनले चार पाङग्रे र दुई पाङग्रे सवारी चलाउने अनुमतिपत्र पाएको तर, रक्सी खाएर गाडी चलाउँदा ट्राफिकले भेटेर चिट काटेर लाइसेन्स लिएकाले अहिले आफूसँग लाइसेन्स नभएको बयान दिएका थिए ।
उनले अदालतमा रक्सी नखाएको दाबी गरेका थिए । विं.सं. २०७६ मंसिर २८ मा प्रहरीले पक्राउ गरेपछि मेन्टल्ली ह्यारेसमेन्ट गरेरकाले प्रहरी समक्ष दिएको बयान आफ्नो नभएको समेत भन्न भ्याएका थिए ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया