सोमबार, माघ ५, २०८२

बालिकालाई अपहरण गरी फिरौती माग्ने आरोपी सार्वजनिक

मेरोन्यूज २०७८ चैत १४ गते १९:१७

काठमाडौँ । धनुषामा बालिका अपहरण घटनामा पक्राउ परेका तीन जना आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकबाट ४ वर्षीया बालिकालाई अपहरण गरेको घटनामा संलग्न आरोपमा तीन जना आरोपितलाई प्रहरीले आज सार्वजानिक गरेको हो ।

पक्राउ पर्नेमा धनुषाधाम नपा ३ सिकियाही बस्ने २१ वर्षीय अरविन्द मुखिया, जनकपुधाम उपमहानगरपालिका १ बस्ने २१ वर्षीय रविकुमार दास र कमला नपा ८ सोनापारा घर भई जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा डेरा गरी बस्ने २० वर्षीय अभिषेकचन्द्र दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनीहरूले बालिकालाई अपहरण गरी अभिभावकसँग १५ लाख रुपैयाँ फिरौती बापतको रकम माग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बालिका आफ्नै डेरामा खेलिरहेको समयमा चैत १० गते सम्पर्कविहीन भएपछि चैत ११ गते प्रहरीले सकुशल उद्धार गर्न सफल भएका थिए । घटनामा संलग्न आशंकामा सात जनालाई गिरफ्तार गरेको थियो ।

अनुसन्धानका क्रममा चार जना निर्दोष देखिएकाले छाडिएको र तीन जना संलग्न आरोपित देखिएकाले अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया