आइतबार, माघ ११, २०८२

चिनियाँ विदेशमन्त्रीको भ्रमणबारे जानकारी लिन भारतीय राजदूत परराष्ट्रमा

मेरोन्यूज २०७८ चैत १४ गते २०:५४

काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमण सकिएको भोलिपल्ट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा परराष्ट्र मन्त्रालय पुगेका छन् । आइतबार दिउँसो चिनियाँ विदेशमन्त्री स्वदेश फर्केपछि राजदूत क्वात्राले परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसँग भेटघाट गरेका हुन् ।

उच्च राजनीतिक स्रोतका अनुसार उनले चिनियाँ विदेशमन्त्रीको भ्रमणबारे सचिव पौड्यालसँग चासो राखेका थिए । साथै प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी शनिबारदेखि हुने भारत भ्रमणको आवश्यक तयारीबारे समेत जानकारी दिएको स्रोतले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार सोमबार बिहान साढे १० बजेको समयमा राजदूत क्वात्रा मन्त्रालय पुगेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भारत भ्रमणमा जाने भएपछि क्वात्राले परराष्ट्रमा भारतको तर्फबाट तयारीको सम्बन्धमा छलफल गरेका हुन । ‘उहाँ मन्त्रालय आउनु भएको थियो, चिनिया विदेशमन्त्रीको भ्रमणबारे केही चासो थियो, बाँकी विषय प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका विषयमा मात्रै कुराकानी भयो’, परराष्ट्रमन्त्रालय स्रोतले भन्यो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा पत्नी आरजु राणा देउवासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चैत १८ गते नयाँदिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण टोलीमा परराष्ट्र मन्त्री नारायण खड्कासहित अन्य केही मन्त्री र उच्च अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसँग भेटवार्तासमेत गर्ने छन् । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच चैत १९ गते शनिबार भेटवार्ता हुने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति वेन्कैया नायडु, विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेट्ने कार्यक्रम छ । नेपाल फर्किनुअघि प्रधानमन्त्री देउवा बनारस जाने भएका छन् ।

प्रधानमन्त्रीको रुपमा सन् २०२१ को जुलाईमा पदभार ग्रहण गरेपछि नेपालका प्रधानमन्त्रीको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया