सोमबार, माघ ५, २०८२

पल शाहले दैनिक ६० रुपैयाँ र सात सय ग्राम चामल पाउने

मेरोन्यूज २०७८ चैत १५ गते २१:०९

काठमाडौँ । नाबालिका गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहले दैनिक ६० रुपैयाँ नगद पाउने भएका छन् । यस्तै, उनले दैनिक सात सय ग्राम चामल रासनका रुपमा पाएका छन् ।

तनहुँ कारागारका निमित्त प्रमुख नारायण अधिकारीका अनुसार अभिनेता शाहले दैनिक ६० रुपैयाँ नगद र सात सय ग्राम चामल पाएका हुन् । कारागारमा उनले पुस्तक पढ्ने, आफन्तसँग भेटघाट गरेर दिन बिताउँदै आएको अधिकारीले बताए ।

जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै प्रहरी हिरासतमा रहेका शाहलाई जिल्ला कारागारमा राखिएको छ । उनलाई जिल्ला कारागारको ‘बि ब्लक’मा राखिएको छ ।

अभिनेता शाहसँगै ‘बि ब्लक’मा एक सय ४० जना कैदीबन्दी रहेका छन् । कूल ८० जना क्षमता भएको ब्लकमा शाहलाई पनि राखिएको हो ।

आफूलाई जबरजस्ती करणीको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको भन्दै अभिनेता शाहले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरामा निवेदन दिएका छन् । पुर्पक्षका लागि थुनामा पठाउने आदेश चित्त बुझ्दो नभएको भन्दै उनले उच्च अदालत पोखरामा पुनरावेदन दिएका हुन् ।

जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस गत १० गते सकिएको थियो । जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजालसमा शाहलाई थुनामा राख्न आदेश दिएको थियो । यस्तै, उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा तारेखामा छाडिएको छ ।

अभिनेता शाहले नाबालिक गायिकालाई विवाह गर्ने आश्वासन देखाएर पटक–पटक करणी गर्दै आएको भन्दै गत ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । आफूविरुद्ध उजुरी परेसँगै गत १५ फागुनमा उनले तनहुँ प्रहरीसमक्ष आत्मा सर्मपण गरेका थिए ।

प्रतिक्रिया