शुक्रबार, मंसिर १२, २०८२

टी-२० क्रिकेटः नेपाललाई मलेसियाले दियो ११५ रनको लक्ष्य

मेरोन्यूज २०७८ चैत १६ गते १४:१३

काठमाडौं । टी २० आई त्रिकोणात्मक सिरिज अन्तर्गत मलेसियाविरुद्ध जितका लागि नेपालले ११५ रनको सामान्य विजयी लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १४ रनको योगफल तयार पारेको हो ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान २ विकेट झारे । अविनास बोहोरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले समान एक विकेट झारे । सन्दीपले आफ्नो स्पेलमा २७ रन खर्चे। ऐरीले ४ ओभरमा १४ रन खर्चेर एक विकेट लिए। करण केसीले ३ ओभरमा मात्र १६ रन खर्चेर २ विकेट झारे ।

नेपालका तिव्र गतिका बलर करण केसीले पहिलो ओभरको पहिलो बलमा नै मलेसियाका ओपनर विरनदिप सिंहलाई शुन्य रनमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि जुवैदी जुल्कीफ्ली र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गरे। जुवैदी ३२ रनमा कुशल मल्लको बलमा बोल्डआउट भए । उनले १५ बलमा ३ चौका र २ छक्का हाने ।

२४ रनको योगदान दिएका कप्तान फैज नेपालका कप्तान सन्दीप लामिछानेको बलमा क्याच आउट भए । ३८ बलमा ३ चौका हानेका फैज १२ औँ ओभरको दोस्रो बलमा लामो सट खेल्ने धुनमा क्याच आउट भए। सायद अजिज १४ रनमा क्याच आउट भए ।

अजिज दिपेन्द्र सिंह ऐरीको बलमा सन्दीपको हातबाट क्याच आउट भए। मुहम्मद आमिर १६ रन बनाउँदा अविनास बोहोराको बलमा एलबीडब्लु धरापमा परे। सर्भिन मुनियान्डी ९ रनमा पवेलियन फर्के । उनी सन्दीपको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट भए ।

प्रतिक्रिया