आइतबार, फागुन २४, २०८२

बक्यौता नतिर्ने तीन क्यासिनो बन्द गराउन मन्त्री प्रेम आलेको पत्राचार

मेरोन्यूज २०७८ चैत १६ गते २१:१४

काठमाडौँ । पर्यटन विभागले सरकारलाई बुझाउनु पर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौता रकम बुझाउन पाँच दिनको समयसीमा दिएका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि ती क्यासिनोले सरकारलाई तीर्नु पर्ने बक्यौता रकम नबुझाएपछि आज पर्यटन विभागले सूचना प्रकासित गरी क्यासिनो बन्द गराउन गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए ।

उनले भने, ‘सरकारलाई बुझाउनु पर्ने बक्यौता रकम बुझाउन हामीले तीन क्यासिनो कम्पनीलाई पाँच दिनको समय दिएका थियौँ, उहाँहरूले बक्यौँता नबुझाएकाले बन्द गराउनका लागि पत्राचार गरेका हौँ ।’

पर्यटन विभागले दिएको जानकारीअनुसार रक इन्टरनेशनल प्रालि काठमाडौँको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौँको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड सरकारलाई क्यासिनो सञ्चालन बापत तीर्नु पर्ने बक्यौता बाँकी छ ।

पटकपटक बक्यौता रकम बुझाउन क्यासिनो कम्पनीलाई पत्रचार गरिए पनि नबुझाएकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम ती कम्पनीका इजाजतपत्र अनुमतिपत्र रद्ध गरिएको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७६–०७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको छ । हालसम्म १७ वटा कम्पनीले रोयल्टी बुझाई सरकारको खातामा ८७ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

प्रतिक्रिया