स्थानीय निर्वाचन २०७९
तनहुँमा वडाध्यक्ष बन्ने रस्साकस्सी : कांग्रेसमा मात्र डेढ दर्जन आकांक्षी

तनहुँ । नेपाली कांग्रेसले तनहुँमा वडा तहमा उम्मेदवारी दिन चाहनेको आकांक्षा बुझ्नलाई धमाधम वडा सम्मेलन गरिरहेको छ । सम्मेलनमा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट वडाध्यक्ष र वडा सदस्यको उम्मेदवार बन्न चाहने धेरै पाइएको छ । डेढ दर्जनसम्मले वडाध्यक्षको उम्मेदवार बन्ने इच्छा प्रकट गरेका छन् ।
जिल्लामा सबैभन्दा धेरै व्यास नगरपालिका–११ मा कांग्रेसबाट १७ जना वडाध्यक्ष बन्न चाहेका छन् । चार जना वडा सदस्यका लागि २६ जनाको आकांक्षा छ । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विक र नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको वडा हो ।
वर्तमान वडाध्यक्ष, पूर्व शिक्षकदेखि उद्योगपतिसम्मले वडाध्यक्ष बन्ने चाहना प्रकट गरेको वडा सभापति देवबहादुर थापाले बताए । ‘पुराना नेताले बढी चाहना देखाउनु भएको छ । केही युवा पनि छन् वडाध्यक्ष बन्ने होडमा’, उनले भने । सहमति गरेर आकांक्षीको संख्या घटाउने प्रयासमा रहेको उनले बताए ।
वडाध्यक्ष बन्न चाहनेको लर्को शुक्लागण्डकी नगरपालिका-८ मा बढी नै छ । कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको वडामा वडाध्यक्ष बन्नलाई एक दर्जन आकांक्षी छन् । वर्तमान वडाध्यक्षसँगै एक दर्जनले आकांक्षा देखाएको वडा सभापति सुरेन्द्र सेन ठकुरीले बताए । उनका अनुसार दुई जना खुलातर्फको वडा सदस्यमा १७ जनाले आकांक्षा देखाएका छन् ।
खुला महिला सदस्यमा सात जना र दलित महिलामा पाँच जना आकांक्षी रहेको उनले जानकारी दिए । ‘वडामा कांग्रेसको सङ्गठन राम्रो भएकाले पनि आकांक्षी धेरै भएका हुन् । आकांक्षी धेरै हुनु स्वाभाविक पनि हो’, उनले भने ।
वडाको टिकट बाँड्ने प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिको संसदीय समितिले सबै पदमा एक जना महिला अनिवार्य सहित तीन जनाको मात्र नाम सिफारिस गर्न अनुरोध गरेको छ । ‘छलफल हुँदैछ । सहमति गरेर सिफारिस पठाउँछौं’, उनले भने ।
म्याग्दे गाउँपालिका–४ मा पनि वडाध्यक्ष बन्नलाई एक दर्जनले पार्टीमा दाबेदारी प्रस्तुत गरेका छन् । म्याग्देको वडा नम्बर १ बाहेक सबै वडामा सम्मेलन सकेर आकांक्षीको सुची तयार पारिएको छ । यहाँको वडा नम्बर ७ मा १० जनाले वडाध्यक्षमा आकांक्षा देखाएका छन् ।
अरू वडामा पनि कम्तीमा तीन जनादेखि एक दर्जनसम्म वडाध्यक्ष बन्ने लाइनमा रहेका नेपाली कांग्रेस म्याग्दे गाउँ कार्य समितिका सचिव गौरवराज रानाले बताए ।
‘नेताहरू धेरै हुनुहुन्छ । माथिल्लो तहमा जान नपाएपछि वडामै भए पनि चित्त बुझाउँछौँ भनेर धेरैले आकांक्षा देखाउनु भएको हो’, उनले थप्दै भने, ‘सहमति गर्न खोजे पनि सहमति हुन सकेन । आकांक्षी सबैको नामावली गाउँ कार्य समितिमा सिफारिस गरेर पठाएका छौँ।’
एकाध वडामा भने कांग्रेसले वडा तहका उम्मेदवार सर्वसम्मत टुंगो पनि लगाएको छ । शुक्लागण्डकी नगरपालिका–१२ मा वडाध्यक्ष सहित पाँचै जना उम्मेदवार सर्वसम्मत चयन भएका छन् ।
वडाध्यक्षमा क्याप्टेन गजबहादुर गुरुङ, महिला वडा सदस्यमा रुविना गुरुङ, दलित महिला सदस्यमा अनिता विक, खुलातर्फ पीताम्बर श्रेष्ठ र बुद्धसिंह गुरुङलाई उम्मेदवार बनाउने निर्णय सर्वसम्मत भएको प्रदेश सभा क्षेत्रीय कार्य समितिका सल्लाहकार सुजन कोइरालाले बताए ।
नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालका अनुसार जिल्लाका ६० वडामा सम्मेलन सकिएको छ । जिल्लाका १० स्थानीय तहमा ८५ वडा छन् । जिल्ला कार्य समितिले सोमबारसम्म वडा सम्मेलन सकेर आकांक्षीको सिफारिस गाउँ तथा नगर कमिटीमा पठाउन भनिए पनि मंगलबारसम्म मात्र सबै वडामा सम्मेलन सकिनेछ ।
वडाध्यक्षलाई दिइने मान सम्मान र तबलका कारण धेरै आकांक्षी भएको खनाल बताउँछन् । ‘सिंह दरबारको अधिकार गाउँमै आएको छ । अधिकार बढी भएकाले पनि होला वडाध्यक्षको आकांक्षी धेरै भएका’, उनले भने । अगाडी थप्दै भने, ‘पहिला सेवा गर्नलाई वडाध्यक्ष बन्ने भनिन्थ्यो । अहिले त जागिर जस्तो पनि भाछ । काम गर्नलाई वडाध्यक्ष पावरफूल पनि भए ।’
















मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
HoR election: 12 former ministers in fray in Sudurpaschim Province
कांग्रेस सभापति गगन थापा सर्लाहीमा
जुम्लामा हिमपातपछि जनजीवन कष्टकर
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया