मंगलबार, माघ १३, २०८२

एमाले र विप्लवको पार्टीबीच चुनावी तालेमलबारे प्रदेशस्तरमा छलफल

विप्लवका नेता ओमप्रकाश पुन भन्छन् : राष्ट्रियताको सवालमा एमाले र हाम्रो धेरै मुद्दा मिल्ने भएकोले तालमेलमा छलफल थालेका हौं

शितल शर्मा २०७८ चैत २२ गते १३:१२

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह चुनावमा आफना नेता-कार्यकर्तालाई स्वतन्त्र रुपमा चुनाव उठाउने गरी एमालेसँग चुनावी तालमेलबारे छलफल शुरु गरेको छ ।


पार्टीभित्र चुनाव उपयोग गर्ने नगर्ने विषयमा चैत ४ देखि १४ गतेसम्म कपिलबस्तुको शिवपुरीमा बसेको केन्द्रीय समिति बैठकमा चर्को विवाद भएको थियो । विप्लव, प्रकाण्ड, सन्तोष वुढामगर लगायतका नेताहरु चुनाव उपयोग गरेर जाने पक्षमा रहेपनि पार्टीभित्रको बहुमतले त्यसको विपक्षमा मत राखेपछि उसले ‘सर्प पनि मर्ने, लठठी पनि नभाचिने′ गरी मध्यमार्गी निर्णय गरेर केन्द्रीय समितिको बैठक सकेको थियो ।

अर्थात विप्लवको पार्टीले पार्टीलाई दर्ता गरेर चुनाव उपयोगमा नजाने तर आफ्ना प्रतिनिधिहरूलाई चुनावमा स्वतन्त्र रुपमा सहभागी गराउने र चुनाव जित्ने गरी सहयोग गर्ने नीति पारित गरेको थियो । भलै, त्यो निर्णयमा एमसीसी एवम् राष्ट्रघातविरोधी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने गरी फुर्का बाँधिएको थियो ।

वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षका अनेक पक्ष, राष्ट्रिय सङ्घर्ष र अन्तर्राष्ट्रिय पाटापक्षसँग सम्बन्ध राख्ने गरी पार्टीले कार्यनीतिलाई ठोस गर्दा, बहिष्कार वा प्रयोग जे गर्दा पनि गम्भीर प्रकारले विश्लेषण गर्न र निष्कर्ष निकाल्न जरुरी रहेको भन्दै पार्टीलाई दर्ता गरेर चुनाव उपयोगमा नजाने तर एमसीसी एवम् राष्ट्रघातविरोधी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति प्रयोग गर्नु उपयुक्त हुने भनी निर्णय लिएको थियो ।

यो निर्णयपछि चुनाव पक्षधर नेताहरु घोषित रुपमा नै आफना पार्टीका नेता कार्यकर्तालाई स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवारी दिन लगाएर संसदबादी दलहरुसँगै चुनावी तालमेल गरेर जिताउन आन्तरिक तालमेलको छलफलमा बस्न थालेका छन् । प्रदेशस्तरबाटै यस्तो तालमेलको मोडालिटीमा रहेर छलफल विप्लवका कतिपय नेताहरुले शुरु गरेका छन् ।

सोमबार मात्रै विप्लवको सेती महाकाली ब्यूरोले सूदूरपश्चिममा चुनावी तालमेलका बारेमा एमालेसँग पार्टी नेतृत्व नै बसेर छलफल शुरु गरेको छ । तर चुनाव उपयोगको विपक्षमा रहेका नेताहरुले भने घोषित रुपमा नै तालमेलका बारेमा पार्टीका नेताहरुले चलाईरहेकको छलफलमा असहमति जनाएका छन् ।


′पार्टीको केन्द्रीय समितिले गरेको निर्णय भनेको चुनवामा पार्टीले सहभागिता नजनाउने तर सवतन्त्र रुपमा पार्टी समर्थक वुद्दिजिविहरु एठन चाहेमा उनीहरुलाई सहयोग गरेर जान सक्ने भन्नेसम्मको निर्णय हो,′ विप्लवका पार्टीका चुनाव उपयोगको विपक्षमा रहेका एक नेताले मेरोन्यूजसँग भने, ‘तर समग्रतामै चुनावमा उठने नै गरी तयारी गर्ने, चुनावी तालमेलका लागि पार्टी नेतृत्ववाटै पहलकदमी लिने र भागवन्डाकै आधारमा सम्झौता गरेर जाने भन्ने पार्टी नीति होइन ।′

चुनाव उपयोगको विपक्षमा रहेका ती नेताले त्यसो भनेपनि सूदुरपश्चिममा विप्लवका नेता कार्यकर्ताहरु स्थानयि तह चुनावमा स्वतन्त्रमा उम्मेदवारी दिएपनि पार्टी तहबाटै चुनावमा वैधानिक र घोषित रुपमा नै सहभागी हुने गरी को को काहाँ काहँबाट चुनाव लड्ने र त्यहाँ आफनो पार्टीका उम्मेदवारलाई कसरी जिताउने भन्ने गरी अनय संसदवादी दलहरुसँगको चुनावी तालमेलको छलफलमा बसेको छ ।

सोमबार धनगढीमा सूदुरपश्चिममा तालमेलवारे एमालेसँग विप्लवका पार्टीका नेताहरुले घोषित छलफल नै गरेका छन् । त्यसरी दुई पार्टीवीच चुनावी तालमेलको छलफलमा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष दामोदर भण्डारी, सचिव धर्मराज पाठक, केन्द्रीय निर्वाचन आयोगका सदस्य रणबहादुर चन्द र विप्लवको पार्टी नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट केन्द्रीय सदस्य ओमप्रकाश पुन सहित सूदुरपश्चिममा विभिन्न जिल्लाका पार्टी सेक्रेटरीहरु सहभागी भएका थिए ।


बैठकमा सहभागी एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य चन्दले भने, ‘दुवै पार्टीबीचको आपसी सरसल्लाहमा हामीले स्थानीय तहको चुनावमा कसरी जान सकिन्छ भन्ने बारेमा छलफल गरेका हौ, उहाँहरुले पार्टीका आफ्ना उम्मेदवार स्वतन्त्र रुपमा उठाउने र ति उम्मेदवारहरुका बारेमा तालमेल गर्ने गरी छलफल चलाउन चाहानु भएको छ । छलफल सकारात्मक छ । तर निष्कर्ष निस्किसकेको छैन ।’

दुई पार्टीका नेताहरुका वीचमा भएको छलफल पारम्भिक भएको र अर्को चरणमा फेरि छलफलमा बस्ने गरी सोमबारको बैठक टुग्गिएको थियो । अर्काे बैठक छिटटे बस्ने गरी सोमबारको छलफलवाट दुवै पक्ष उठेको चन्दले बताए ।

विप्लवको पार्टीको केन्द्रीय समिति बैठकले ‘दलाल संसदीय व्यवस्थाभित्र जुनसुकै रूप र स्तरका चुनाव भए पनि ती संसदीय व्यवस्थाको सुधार र बचाउका लागि प्रयोग गरिने प्रणालीहरू रहेकाले ‘चुनावबाट मात्र संसदीय व्यवस्थालाई जनताको व्यवस्था अर्थात् वैज्ञानिक समाजवादमा परिवर्तन गर्न सम्भव भएन र छैन’ भन्ने निष्कर्ष निकालेको थियो ।

संसद्वादी कम्युनिस्टहरू चुनावलाई निरपेक्ष रूपले उपयोगको नीति बनाएर गएकाले उनीहरूलाई चुनावमा भाग लिन कुनै समस्या नभएको, केही कम्युनिस्टहरूले बहिष्कार भने पनि उपयोग भने पनि केवल कार्यनीतिक प्रयोगमा मात्र सीमित रहेको र त्यसको ठोस रणनीतिक उद्देश्यसँग नजोडिएकोले आफनो पार्टीले भने आफ्नो रणनीतिअनुरूप जीवन्त कार्यनीतिहरू बनाउनुपर्ने र चुनावबारे बनाउने कार्यनीति अन्तको भन्दा गुणात्मक रूपले फरक र संवेदनशील हुने निश्कर्ष सहित पार्टि भाग नलिने तर एमसीसी एवम् राष्ट्रघातविरोधी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति बनाएको थियो।

तर विप्लवको पार्टीले एमालेसाग चलाएको तालमेल छलफलले भने पार्टी निर्णय जे भनेपनि ब्यवहारत चुनाव उपयोगको नीति नै उसको भित्री रणनीति थियो भन्ने देखिएको छ ।

एमसीसीका सवालमा एमाले पनि पारित गर्नुपर्छ भन्ने पक्षधर पार्टी हो । एमाले अध्यक्ष केपी ओली सरकारको नेतृत्वमा रहँदा नै एमसीसी पारित गर्न संसदमा लगिएको थियो । अहिले उसले आफना माग संसदमा सम्वोधन नभएको भनी प्रक्रियामा सहभागी नभएको बताएपनि एमसीसी को विरोध गरेको छैन ।

विप्लवका पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन भने ‘राष्ट्रियताको सवालमा एमाले र आफनो पार्टीका धेरै मुद्दा मिल्ने भएकोले तालमेलका बारेमा छलफल भएको बताउँछन् ।

‘हाम्रो पार्टीले अहिलेको संसदीय प्रणालीलाई स्वीकार गरिसकेको अवस्था नभएकाले प्रत्यक्ष रुपमा निर्वाचनमा सहभागी नहुने भए पनि राष्ट्रवादी शक्तिहरुलाई सघाउने नीति बनाएका छौं । हाम्रो नजरमा अहिले ‘राष्ट्रियताको सवालमा एमाले र हाम्रो पार्टीका धेरै मुद्दा मिल्छन् । त्यही भएर पनि अगामी निर्वाचनमा तालमेल गरेर जाने विषयमा हाम्रो छलफल चलेको हो,’ पुनले भने ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया