मंगलबार, माघ १३, २०८२

ऊर्जामन्त्री भुसालसँग अष्ट्रियाका राजदूतको शिष्टाचार भेट

मेरोन्यूज २०७८ चैत २९ गते १५:३८

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूले दुई देशबीच रहेको आपसी सम्बन्ध र सहयोगका विविधि विचारविमर्श गरेका थिए ।

भेटमा ऊर्जामन्त्री भुसालले पाटन सङ्गाहलय र केशर महलस्थित बगैँचाको जिर्णोउद्धारमा अष्ट्रियाले पुर्याएको सहयोगप्रति त्यहाँको सरकारलाई धन्यवाद व्यक्त गरे । उनले वातावरण र संस्कृतिक सम्पदा संरक्षण, खानेपानी एवं पर्यटन विकासमा अष्ट्रियाले नेपाललाई सहयोग गरेको स्मरण गरिन् । उनले जलवायु परिवर्तन र वातावरणीय प्रभावका विषयमा पनि दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएकी थिइन ।

उनले सन् २०३० सम्ममा दिगो विकासका लागि हासिल गर्नुपर्ने लक्ष्य भेट्टाउनका लागि अष्ट्रिया सरकारको साथ रहने विश्वास व्यक्त गरिन् । नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाइ तथा शुभकामना व्यक्त गर्दै मन्त्री भुसालले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेकी थिइन् ।

उक्त अवसरमा राजदूत वाइजरले अष्ट्रिया र नेपालबीच भौगोलिक बनावट उस्तै रहेको उल्लेख गर्दै आगामी जलविद्युत्को क्षेत्रमा सहकार्य गर्न सकिने बताएकी थिइन् । उनले आफ्नो देशमा ६० प्रतिशत जलविद्युत ऊर्जा प्रयोग भएको बाँकी सौर्य एवं बायोमास प्रयोग हुँदै आएको जानकारी गराइन् ।

भेटमा ऊर्जा सचिव देवेन्द्र कार्की एवं परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिती थियो । नेपाल र अष्ट्रियाबीच सन् १९५९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रतिक्रिया