मंगलबार, माघ १३, २०८२

६ महानगर : यस्तो छ एमालेको चुनावी हिसाब

मेरोन्यूज २०७९ वैशाख २ गते ७:२१

काठमाडौँ । सत्ता गठबन्धन दलले महानगर र उपमहानगरदेखि देशभरका सबै स्थानीय तहमा गठबन्धन गरेर एमालेलाई घेराबन्दीको नीति लिएको छ । योसँगै एमालेलाई जसरी पनि विगतमा आफूले जित हासिल गरेका सामारिक महत्वका ठाउँ जित्नै पर्ने दबाब छ ।

त्यही आधारमा उसले विशेष गरी ६ महानगर, ११ उपमहानगर र केही सामारिक महत्वका नगर तथा गाउँपालिकालाई लक्षित गरी आन्तरिक चुनावी सर्वे गरेको एमालेका नेताहरूले बताएका छन् । त्यसका लागि तीन क्षेत्रमा वर्गीकरण गरेर उसले चुनावी आंकडामा सर्वे गरेको छ । जितिनेलाई ग्रिन जोन, अलिकति जोड गरेमा जितिनेलाई एल्लो जोन र धेरै मेहनत गर्दा पनि निश्चित भएकोलाई रेड जोनमा राखेर एमालेले चुनावी सर्वे गरेको छ ।

जसअनर्तगत एमालेले ६ महानगरमधये ३ वटामा आफूहरूले सजिलै जित्ने प्रक्षेपण गरेको छ । विगतमा जितेका दुई महानगरपालिका एमालेले पुन: आफ्नै पार्टीले जित्ने र त्यहाँ गठबन्धनले जति गरे पनि जित्न नसक्ने बताएको छ । काठमाडौँ र पोखरामा एमालेले गत स्थानीय तह चुनावमा मेयर जितेको थियो ।

तर, यी दुवै स्थानीय तहमा एमालेले निर्वाचनको घोषणा पत्रका आधारमा काम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ । काठमाडौँका मेयर विद्यासुन्दर शाक्यले काम देखाउन नसकेको आरोप लाग्दै आएको छ । एमालेले काठमाडौँका खास मतदाताका बीचमा शाक्यले काम गरेर उनीहरूको मन जितेको, मतदाता बाहिरका मान्छेहरूले मात्र काम नगरेको भनी आरोप लगाएको विश्लेषण छ ।

त्यही आधारमा केपी शर्मा ओली नेतृत्वको सरकारमा भएका कामलाई काठमाडौँबासीले रूचाएको र जनमत खुम्चिनेभन्दा बढेको नयाँ मतदातामा एमाले र केपी ओलीप्रतिको आकर्षणले काठमाडौँ महानगर पुन: जित्ने दाबी गरेको छ ।

एमाले काठमाडौँको मेयर शाक्यले आफैलाई दोहोर्‍याउन नेतृत्वसँग आग्रह गरिरहेका छन् । काठमाडौँमा केशव स्थापित पनि मेयरका आकांक्षी छन् । तर, एमालेले कसलाई टिकट दिन्छ भन्ने खुलिसकेको छैन । महानगरको उम्मेदवार ९ गते चुनावी घोषणापत्र केन्द्रबाट जारी भएसँगै सार्वजनिक गर्ने तयारीमा एमाले छ । त्यसभन्दा अगाडि सम्बन्धित पार्टी कमिटीबाट भए सर्वसम्मत र नभए पनि आकांक्षीहरूको नामसहितको सिफारिस केन्द्रमा पठाउन एमालेले भनेको छ ।

पोखरा महानगरका मेयर मानबहादुर जिसी लामो समय विरामी भए । उनले आफ्नो अस्वस्थ्यका कारण खास काममा ध्यान दिन नसकेको आरोप लागेको छ । उनले योपटक चुनाव लड्ने कोशिस गरेका छैनन् । पोखरा महानगरको चुनावी मैदानबाट जिसी बाहिरिसकेका छन् । त्यहाँ पनि एमालेले यसैलाई टिकट दिन्छ भन्ने खुलेको छैन । तर, आधा दर्जन बढी आकांक्षी छन्, पोखरामा ।

यो महानगरमा गत स्थानीय तह चुनावमा कांग्रेस र माओवादी मिलेर लड्दा पनि धेरै मतान्तरमा एमालेका उम्मेदवारले विजयी भएका थिए । अहिले पार्टी झन बलियो भएको एमालेको दाबी छ । जसले पोखरा महानगर एमालेको हातबबाट कसैले खुस्काउन नसक्ने विश्लेषण छ ।

त्यस्तै एमालेले ग्रिन जोनमा राखेको अर्काे महानगरपालिका हो, वीरगञ्ज महानगरपालिका । जसपाबाट मेयर निर्वाचित भएका विजय सरावगी अहिले एमाले प्रवेश गरेका छन् । एमाले आफ्नै जनाधार भएको र निर्वाचित मेयर नै एमाले प्रवेश गरेको छ । उनी नै त्यहाँ सर्वसम्मत उम्मेदवार सिफारिस भइसकेका छन् । वीरगञ्ज महानगर पनि एमालेले जितिने सूचिमा राखेको छ ।

यी तीन महानगर सजिलै जितिने दाबीमा रहेको एमालेले चितवनको भरतपुर महानगर र ललितपुरको ललितपुर महानगर भने थोरै मेहनत गरे मात्र पनि जितिन सक्ने गरी एल्लो जानेमा राखेको छ । तर, यी दुई महानगर जित्नका लागि भने केही प्राविधिक र केही चुनावी थप रणनीतिमा विशेष ध्यान दिनु पर्ने एमालेको भनाइ छ । यी दुवै महानगरमा विगतमा एमाले झिनो मतान्तरले हारेको थियो ।

ललितपुर महानगरमा कांग्रेसका चिरिबाबु महर्जनसँग एमालेका हरिकृष्ण व्यञ्जनकार पराजित भएका थिए । तर, त्यो हार अन्तिम गणनामा हराइएको भन्दै एमाले अदालत गएको थियो । अदालतले यो विषयमा अझै अन्तिम फैसला दिएको छैन । गत चुनावमा जस्तै यसपटक पनि सत्ता गठबन्धनबाट कांग्रेसका चिरिबाबु नै महानगरको उम्मेदवार बन्ने बुझाईमा एमाले छ । एमालेले विगत चुनावमै पराजित भएका व्यञ्जनकारलाई नै सर्वसम्मत रुपमा महानगरमा उम्मेदवार बनाउने गरी सिफारिस गरिसकेको छ ।

योपटक एमालेले केही प्राविधिक तयारीसहित चुनावी रणनीति बनाउँदा सजिलै जित्न सक्ने सूचीमा ललितपुर महानगरलाई राखेको छ । उसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहालले गत चुनावमा मेयर जितेको भरतपुर महानगर विगतमा मतपत्र च्यातेर एउटा वडाको दुईपटक चुनाव गराएर मात्र जितेको भन्दै यसपटक अलि मेहनत गरे जित्ने दाबी गरेको छ ।

एमालेले गत चुनावमा पराजित देवि ज्ञवालीलाई नउठाउने भएको छ । यसको ठाउँमा प्रदेश सभामा सांसद विजय सुवेदीलाई मेयरमा उठाउने गरी सर्वसम्मत सिफारिस गरेको छ । एमाले विभाजित भएर माधव नेपालतिर गएकाहरूभन्दा बढी माओवादीबाट एमालेमा गएका रामबहादुर थापा (बादल)हरूको जनमत चितवनमा बढी रहेको, एमालेको आफ्नै जनाधार पनि बलियो रहेकाले चितवन एमालेले जित्ने दाबी छ ।

सत्ता गबठन्धनबाट माओवादीकै रेणु उम्मेदवार हुने हुने भएका छन् । त्यसमा कांग्रेसभित्र चरम असन्तुष्टि आउने र त्यसको फाइदा आफूले उठाउन सक्ने बुझाईमा एमाले छ । त्यस अतिरिक्त कमल थापाको राप्रपा नेपालसँग एमालेले चुनावी गठबन्धन गरिसकेको छ । चितवनकै नेता तथा राप्रपाका विक्रम पाण्डे कमल थापातिर नगए पनि उनीसहित उनका निकटका राप्रपा नेपालले मत एमाले उम्मेदवारलाई सहयोग गर्ने र त्यो पनि आफूहरूलाई जित्ने थप आधार हुने एमालेको भनाइ छ । यसले पनि चितवन जित्ने दाबी एमालेको छ ।

यसो गर्दा सुरक्षित रहेका तीन र थप २ मा अलिक प्राविधिक विषय मिलाउन सकिए पाँच महानगर एमालेले सजिलै सत्ता गठबन्धन दलमा कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा मिले पनि एमालेले जित्ने उसको विश्लेषण छ ।

विराटनगर महानगरमा भने उसले अन्य महानगरको तुलनामा धेरे मेहनत गर्नु पर्ने एमालेको विश्लेषण छ । यो महानगरमा कांग्रेसका मेयर निर्वाचित छन् । विगतमा कांग्रेसकै मेयर निर्वाचित भएको, आफ्नोतर्फबाट विगतमा उठेका विनोढ ढकालले यसपटक रूची नदेखाएको, कांग्रेसको कोइराला परिवारको गढ भएको, जसपाको मत राम्रै रहेको र त्यसमा जसपा माओवादी, कांग्रेससम्मको मत जोडिँदा एमालेलाई कठिन हुने भएकाले यो महानगरलाई रेडजोनमा राखेको छ ।

तर, गठबन्धन दलभित्र अन्तरविरोध सिर्जना गर्ने र त्यसको फाइदा उठाउने योजनामा एमाले लागेको छ । विराटनगर महानगर कांग्रेस र जसपा दुवैले मेयरमा दाबी गरिरहेका छन् । गत चुनावमा कांग्रेस, एमाले एकएक्लै र माओवादी तथा जसपा मिलेर चुनाव लडेका थिए ।

काठमाडौंमा मेयर जित्न उसले गत चुनावमा कमल थापाको राप्रपा नेपालसँग चुनावी तालमेल गरेको थियो । तर, यसपटक कमल थापाको पार्टीले पनि सूर्यमै चुनाव लड्ने गरी गठबन्धन गरिसके पनि उसले मेयर र उपमेयर दुवै एमालेबाटै उम्मेदवार उठाउने तयारी गरेको छ ।

देशभरिका ११ उपमहानगरमध्ये पहिले जितेका धरानसहितका ७ उपमहानगर जोगाउन सकिने विश्लेषण एमालेको छ । त्यस अतिरिक्त नेपालगञ्ज उपमहानगर थप जित्ने एमालेले बताएको छ ।

प्रतिक्रिया