शुक्रबार, चैत २०, २०८२

प्रधानमन्त्री देउवाको वडामा चुनाव लड्न शिक्षकले दिए राजीनामा

मेरोन्यूज २०७९ वैशाख १० गते ११:१६

डडेल्धुरा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा चुनाव लड्न एक शिक्षकले राजीनामा दिएका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोलाका शिक्षक चन्द्रबहादुर देउवाले वडा अध्यक्षमा चुनाव लड्न राजीनामा दिएका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

चन्द्रबहादुर २०४६ देखि स्थायी प्रावि द्वितीय श्रेणी शिक्षकका रूपमा रहेका थिए। उनको राजीनामा बिहीबारदेखि नै स्वीकृत भई लागू भएको शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका इकाई प्रमुख नारदप्रसाद जोशीले जानकारी दिए।

यस्तै, जिल्लाको नवदुर्गा गाउँपालिका–५ विजयाशैनी मावि चामाचौडका शिक्षक प्रेमबहादुर ऐरले पनि वडाअध्यक्षमा चुनाव लड्न राजीनामा दिएका छन्। २०४१ मा स्थायी निमावि द्वितीय शिक्षक ऐरको राजीनामा शुक्रबार स्वीकृत भएको छ।

उनको राजीनामा आइतबारदेखि लागू हुने इकाई प्रमुख जोशीले बताए। ऐर नेकपा एकिकृत समाजवादीबाट नवदुर्गा–५ को अध्यक्षमा चुनाव लड्ने तयारीमा रहेको बताइएको छ।

प्रतिक्रिया