बुधबार, माघ ७, २०८२

निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठी

गृहमन्त्री खाणले भने-‘म्यादी प्रहरी राज्यको अभिन्न अंग हुन्’

म्यादी प्रहरी राज्यको अभिन्न अंग हुन् । स्थानीय तह निर्वाचनसम्म उनीहरूले सुरक्षा निकायमाथि विश्वास गर्ने वातावरण निर्माण गर्न सक्ने बनाउनुपर्छ,’

मेरोन्यूज २०७९ वैशाख २१ गते २०:५६

विराटनर । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरी राज्यको अभिन्न अंग भएको बताएका छन् ।

बुधबार साँझ विराटनगरमा भएको सुरक्षा गोष्ठीमा गृहमन्त्री खाणले भर्ना भएका एक लाख म्यादी प्रहरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाप्रति विश्वास जगाउने वातावरण निर्माण गर्नुपर्ने बताए ।

‘म्यादी प्रहरी राज्यको अभिन्न अंग हुन् । स्थानीय तह निर्वाचनसम्म उनीहरूले सुरक्षा निकायमाथि विश्वास गर्ने वातावरण निर्माण गर्न सक्ने बनाउनुपर्छ,’ गृहमन्त्री खाणले भने, ‘म्यादी प्रहरीको विश्वास जित्न सकियो भने उनीहरू सुरक्षा निकायमा प्रवेश गर्ने चाहना राख्छन् । तसर्थ यो युवालाई सुरक्षा निकायप्रति आकर्षण, विश्वास र भरोसा दिलाउने उपयुक्त अवसर हो ।’

गृहमन्त्री खाणले सुरक्षा निकायलाई आगामी दिनमा नयाँ भर्नामा म्यादी प्रहरीलाई प्राथमिकतामा राख्नसमेत निर्देशन दिनुभयो । म्यादी प्रहरीले राष्ट्रका लागि सुरक्षा प्रदान गर्ने भएकाले उनीहरूलाई सम्मान गर्न सुरक्षा निकायलाई गृहमन्त्रीले निर्देशन दिए ।

सरकारले उपलब्ध गराएको सीमित स्रोत र साधनको उपयोग गरेर असीमित सुरक्षासम्बन्धी काम गरेकोमा गृहमन्त्री खाणले सुरक्षा निकायको प्रशंशा गरे। ‘राज्यले सीमित स्रोत र साधन सुरक्षा निकायलाई उपलब्ध गराएको छ । तर, असीमित काम सुरक्षा निकायले गरिरहेको छ ।

स्रोत साधन पुगेन भनेर उनिहरूले आफूले बहन गर्नु पर्ने जिम्मेवारीमा कुनै कमि हुन नदिएर सराहनीय काम गरिरहनु भएको छ । त्यो कार्य निरन्तर रहिरहोस्,’ गृहमन्त्री खाणले भने ।

एकै चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गर्नु अहिलेका लागि चुनौति भए पनि भोलिका लागि अवसर भएको उनको भनाइ थियो ।लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन अपरिहार्य रहेको भन्दै गृहमन्त्री खाणले आवधिक रूपमा निर्वाचन सम्पन्न भएपछि जनताले आफ्ना प्रतिनिधि छानेर सरकार निर्माण गर्ने प्रक्रिया अझ मजबुद् बन्ने बताए ।

गोष्ठीमा स्थानीय तह निर्वाचनका लागि अहिलेसम्म गरिएको सुरक्षा व्यवस्था र आगामी दिनमा शान्तिपूर्ण तरिकाले स्वच्छ, निष्पक्ष र धाधलीरहित रूपमा निर्वाचन सम्पन्न गर्न अपनाउने रणनीतिबारे छलफल भएको थियो ।

प्रतिक्रिया