प्रष्ट भएन भरतपुरको चित्र : माओवादी-एमाले दुवैमा चिन्ता
एमालेलाई कांग्रेसको मत गत चुनावमा झै तान्न नसकेको र माओवादीलाई बागी जगन्नाथले बढाईरहेको भोटको चिन्ता

भरतपुर । भरतपुर महानगरपालिकाको चुनावी मत परिणामको प्रारम्भिक रुझानले एमाले र माओवादी दुवै ढुक्क हुन सकेका छैनन् । परिणाम यस्तै आउँछ भन्ने आकलन न माओवादी केन्द्रसहितको गठबन्धनले गर्न सकेका छन्, न एमाले-राप्रपाको गठबन्धनले ।
दुवैले कांग्रेसबाट बागी उम्मेदवार बनेका स्वतन्त्रका भुँइकटहरले ल्याउन सक्ने मत आकलन गर्न नसक्दा महानगरको मत गणनामा ढुक्क हुन नसकेका हुन् । भुँइकटहरका उम्मेदवार जगन्नाथ पौडेल चुनाव जित्नेभन्दा पनि माओवादी उम्मेदवार रेनु दाहाल र एमाले उम्मेदवार विजय सुवेदीको मतमा प्रभाव पार्न सक्ने गरी देखा पर्न थालेपछि दुवै पक्ष प्रारम्भिक रुझानका आधारमा चुनावको विश्लेषण गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।
अहिले भरतपुर महानगरको १, २ र ३ नम्बर वडाको मत गणना सकेर चौथो वडामा गणना जारी छ । १ र २ वडामा ११ प्रतिशतका दरले मत ल्याएका स्वतन्त्र उम्मेदवार पौडेलले ३ मा पुग्दा आफ्नो मतको प्रतिशत बढाएर झण्डै २० प्रतिशत मत ल्याएका छन् ।
यसले माओवादी त्रसित देखिएको छ । कतै यही मात्रामा पौडेलले मत भार बढाउँदै लैजाने र परिणाममा कांग्रेसको प्रभावशाली वडाको मत विभाजित भएर आफ्नोमा कम आउने भए निर्वाचन अनपक्षित हुने बुझाईमा माओवादी देखिन्छ । उता एमालेको चिन्ता पनि आफ्नै खालको छ । उसले १, २ र ३ वडाको मत गणना गर्दा रेनुलाई गत चुनावमा जस्तै मतान्तरमा अन्तर देखाउन नसकेपछि एमाले पनि चिन्तित देखिएको छ ।
२०७४ को स्थानीय तह चुनावमा एमालेले अहिले गनिसकेका वडामा मत गणना गर्दा रेनुको भन्दा त्यसबेलाका उममेदवार देवी ज्ञवालीले एक हजार बढी मत अन्तर बनाएका थिए । तर, अहिले धेरै मतान्तरको अन्तर छैन । ४ नम्बर वडा गनिरहँदा रेनु विजय भन्दा मात्रै ५५ मतले मात्र पछाडि छिन् । १३ हजार ३६४ मत गणना भएको छ । मेयरमा अहिलेसम्म एमालेका विजय सुवेदीले ४ हजार ५५० मत पाएका छन् । गठबन्धनका तर्फबाट मेयर उम्मेदवार रहेकी रेनुले ४ हजार ४९५ मत पाएकी छन् । बागी उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ९९८ मत ल्याएका छन् ।
वडा नं १ कांग्रेस र माओवादीको प्रभाव क्षेत्र हो । यहाँ एमालेका सुवेदीले १०८७ मत पाए । रेनुले १२०८ मत पाइन् । जगन्नाथले ४३० मत पाए । वडा नं २ मा पुग्दा विजयले १८२८ मत पाउँदा रेनुले १७१० मत पाइन् । कांग्रेसका बागी जगन्नाथले ४९४ मत थपेर ९२४ बनाए । वडा नम्बर २ एमालेको बलियो पकड रहेको वडा हो ।
यस्तै वडा नं ३ मा पुग्दा एमालेका विजयले रेनुसँग ५० मतको अग्रतासहित ३ हजार ९४४ मत ल्याए । रेनुले ३ हजार ८९४ मत पाइन् । जगन्नाथले वडा नम्बर १ र २ मा पाएको मतभन्दा यो वडामा मत बढाए । उनले ३ नम्बर वडासम्म गणना गर्दा आफ्नो मत १ हजार ५७२ पुर्याए ।
वडा नम्बर ३ कांग्रेसको प्रभाव रहेको वडा हो । यही वडामा कांग्रेसका बागीलाई साथ दिइरहेका कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटाको वडा हो । यो वडाको मत गत चुनावमा एमाले उम्मेदवार रहेका देवी ज्ञवालीले राम्रैसँग आफूतिर तान्न सफल भएका थिए । तर योपटक एमाले उम्मेदवार विजयले उक्त वडाको कांग्रेसको मत आफूतिर तान्न गत चुनावमा देवी ज्ञवाली झै सफल हुन सकेनन् ।
यो क्षेत्रका कांग्रेसका असन्तुष्टको मत जो रेनुलाई आउँदैनथ्यो । त्यो मत बागी उम्मेदवार भुँइकटहरले तान्न सफल भएका छन् । आफूलाई नआउने मत एमालेतिर जानेभन्दा भुँइकटहरतिर जाँदा यसले माओवादी उम्मेदवारलाई एक हदसम्म लाभ त मिलेको छ । तर, यसै गरी कांग्रेसको मत भुँइकटहरले तानेर बढाउँदै लाने र कांग्रेसको मतलाई आफूतिर खिच्न नसक्ने हो भने माओवादी मेयर उम्मेदवार रेनुलाई त्यसले असर गर्न सक्ने देखिएको छ ।
यसले माओवादीलाई पिरोलेको देखिन्छ । अर्काेतिर एमाले गत चुनावमा झै यो वडाको गणनासम्म आइपुग्दा रेनुसँगको मतान्तर फराकिलो बनाउन नसक्दा चिन्तित देखिएको छ ।
२०७४ मा वडा नं १, २ र ३ गरेर देवी ज्ञवालीले झण्डै १३०० मतको अग्रता रेनुमाथि कायम गरेका थिए । तर, वडा नं ३ को यसपटकको गणना सकिदा उनीहरु बीचको अन्तर खासै छैन । मतान्तर कम हुनु एमालेका लागि टाउको दुःखाइको विषय बनेको छ ।
गत चुनावमा एमालेले सकभरर कांग्रेसका असन्तुष्टको मत आफूतिर तान्ने र नसक्दा माओवादी उम्मेदवारलाई पर्न नदिने रणनीति बनाएको थियो । सोही कारण उम्मेदवार नरहेको कांग्रेसको रुख चिन्हमा २०७४ को स्थानीय तह चुनावमा झण्डै ७ हजार बढी मत परेर बदर हुन पुगेको थियो ।
तीन वडा सकेर चौथो वडामा मत गणना गरिरहँदा गत चुनावमा कांग्रेसको रुखमा खसेको मत यसपटक कांग्रेसका बागी उम्मेदवार जगन्नाथ आफूतिर लगिरहेका छन् । रुखमा गत चुनावमा जस्तो मत यसपटक खसेको छैन । रुखमा नगन्य मात्रामा मत खसेको मत गणनामा रहेका प्रतिनिधि बताउँछन् ।
कांग्रेसको मत चोर्न नसकेकोमा एमाले अलिक चिन्तित देखिएको छ भने माओवादी बागीले मत प्रतिशत बढाउने र वडा तहमा कांग्रेस र एमालेका वीचमा भएको थप नयाँ समीकरण भएको देखेर झस्किएको छ । जस्तोकी वडा नम्बर ३ मा कांग्रेसको बलियो गढ भए पनि त्यहाँ यसपटक कांग्रेसको वडाध्यक्षले चुनाव जितेका छैनन् । एमालेले उक्त वडाको वडाध्यक्ष जितेको छ । यो वडाको जनप्रतिनिधि चुन्न भएको निर्वाचनमा कांग्रेस र एमालेका बीचमा नयाँ थप भित्री सहमति भएको पटाक्षेप भएको छ ।
वडामा कांग्रेसले आफ्नै उम्मेदवार हराउन एमालेका वडाध्यक्षलाई मत दिएको देखिएको छ । त्यसको बदलामा एमालेले पनि उपमेयरमा आफ्नो गठबन्धन राप्रपाका उम्मेदवारलाई छोडेर कांग्रेसका उम्मेदवार चित्रशेन अधिकारीलाई मत दिएको तथ्य देखिएको छ । यसले कतै अन्य वडामा पनि कांग्रेस र एमालेका बीचमा थप नयाँ केही भित्री सहमति पो बनेको छ की ? माओवादी त्यसैमा झस्किएको छ ।
अहिले मतगणना भइरहेको वडा नम्बर ४ पनि कांग्रेसको प्रभाव पर्ने क्षेत्र नै हो । तर गत चुनावमा त्यहाँको वडामा एमालेले जित निकालेको थियो । यो वडा कांग्रेसका बागी उम्मेदवारका समर्थक मिना खरेलको पनि वडा हो । जसका कारण पनि अपेक्षित मत आउने/नआउनेमा माओवादी सशंकित छ ।
भरतपुर महानगरका वडा नं ५ र ७ एमालेले गत चुनावमा वडाध्यक्ष जितेको क्षेत्र हो । यो वडामा कांग्रेसको प्रभाव पनि राम्रो छ । वडा ७ कांग्रेसका बागी जगन्नाथकाे पनि वडा हो । आफ्नो वडाबाट जगन्नाथले राम्रो मत ल्याउने अपेक्षा गरिएको छ । वडा नम्बर ६ सम्म आउँदा गत चुनावमा रेनुले त्यसबेलाका एमाले उम्मेदवारले बनाएको फराकिलो मतान्तर घटाउने गरी कांग्रेसको मत तानेकी थिइन् । तर यसपटक बागी उम्मेदवारले अहिले वडा तहमा बढाउँदै लगेको जसरी मत प्रतिशत बढाउँदै लगेमा आफ्नो लागि परिणाम अनपेक्षित आइदिन सक्ने भय माओवादीमा देखिन्छ ।
कांग्रेसको प्रभाव मानिने वडा नं १४, १५ र १७ मा समेत जगन्नाथको प्रभाव छ । वडा नं १८, १९, २०, २१ र २६ पनि कांग्रेसको प्रभाव भएका वडा हुन् । वडा नं ९, १०, ११ र १२ एमालेको प्रभाव क्षेत्र मानिन्छन् । वडा नं १३ माओवादी केन्द्रको प्रभाव भएको वडा हो । २०७४ को चुनावमा वडा नम्बर १३ मा माओवादी केन्द्रले क्लिन स्वीप गरेको थियो ।
वडा नं २२, २३, २४ र २५ मा सत्ता गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा छ । यी वडामा राप्रपाको पनि बलियो पकड छ । राप्रपाले यसपटक एमालेसँग चुनावी गठबन्धन गरेको छ । त्यसो हुँदा यी वडामा एमाले उम्मेदवारले मत राम्रो ल्याउने अपेक्षा गरिएको छ । यसले गर्दा भरतपुरको चित्र के हुन्छ ? भनिहाल्ने स्थिती देखा परेको छैन ।
‘अहिले नै यो र उ बलियो भनेर विश्लेषण र अनुमान लगाईहाल्ने स्थिती छैन । मात्र थोरै मतान्तर र कडा रोमाञ्चक प्र्रतिस्पर्धा चलिरहेकोले परिणामम यस्तै आउँला भनेर अनुमान लगाई हाल्ने बेला भएको छैन,’ चितवनका एक पत्रकारले मेरोन्यूजसँग भने, –′एघार नम्बर वडा सम्मको मत गणनापछिकाो परिणाम हेरेर मात्र केही अनुमान लगाउन सकिएला की त !’
प्रतिक्रिया