अखिल क्रान्तिकारीभित्रको विवाद के हो ?
कार्की पक्षले घोषित निर्णयलाई नमानेपछि समानान्तर गतिविधि गर्दै आएका थिए ।

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)भित्रको घर झगडाले चरम विवाद आएपछि माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा त्यसबारे नेताहरूले गम्भिर विर्मश गरेका छन् । गत असोज दोस्रो साता राष्ट्रिय सम्मेलन गरेर अध्यक्ष मात्र चयन गरेको क्रान्तिकारीले वैशाख ५ गते भर्चुअल बैठकबाट अन्य पदाधिकारी चयनको घोषणा गरिएको थियो ।
त्यस क्रममा १९ जना उपाध्यक्षसहित महासचिवमा दिपेश पुनलाई चयन भए । कूल ४१ जनाको पदाधिकारी क्रान्तिकारीको त्यो भर्चुअल बैठकबाट चयन गरिएको थियो । तर, महासचिवमै दाबी गरिरहेका पवन कार्कीलगायतले उक्त निर्णयमा सहमति जनाएनन् । कार्कीलाई उपाध्यक्ष चयन गरिएको छ । यद्यपि, उनले महासचिवमा दाबी गरिरहेका थिए ।
उनको दाबी मान्ने हो भने उक्त दिनको बैठक (वैशाख ५) मा भर्चुअलमा सबैलाई म्यूट गरेर पदाधिकारी घोषणा गरी बैठक समापन गरिएको थियो । जसका कारण उपाध्यक्षमा चयन भए पनि कार्की पक्षले आफ्नो असहमति जनाउन नपाएको जिकिर गरेको छ ।
यद्यपि, त्यसबाहेक अन्य पक्षको भने पदाधिकारी चयनमा विवाद देखिएको थिएन । त्यसपछि विवादले क्रान्तिकारीभित्र उग्र रुप लिन थालेको हो । कार्की पक्षले घोषित निर्णयलाई नमानेपछि समानान्तर गतिविधि गर्दै आएका थिए । उनलाई विद्यार्थी नेताहरूको भनाइमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ समूहको साथ छ ।
यो विवाद बढ्दै जाँदा कार्की पक्षले आजका लागि काठमाडौँको थापाथलीस्थित थापाथली क्याम्पसमा समानान्तर गतिविधि गर्ने उद्देश्यले केही दिनअघि कार्यक्रम घोषणा गर्यो । पोष्टरमा प्रचण्डको फोटोसमेत राखेर यो पक्षले थापाथलीमा उपत्यका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम राखेपछि दुवै पक्षबीचमा आरोप प्रत्यारोप थप चुलियो ।

समानान्तर भेला हुने भएपछि क्रान्तिकारीकी अध्यक्षले लगत्तै केन्द्रीय कार्यालयको बैठक बोलाइन् । समानान्तर गतिविधि गरेको र संगठनको अनुशासन उल्लंघन गरेको आरोपमा कार्कीलाई २४ घण्टे स्पष्टिकरण कार्यालयको बैठकबोट सोध्ने निर्णय लिइन् ।
त्यसपछि कार्कीलाइ स्पष्टिकरण क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सोधिन १९ जेठमा । पार्टी अध्यक्ष प्रचण्ड र फ्याक्सन इञ्चार्ज हितमान शाक्य सुमनलाई बोधार्थ पठाउँदै अध्यक्ष सिंहले कार्कीलाई २४ घण्टे स्पष्टिकरण सोधिन ।

कार्कीलाई उपदेश यादव, बालकुमार केसी, बसन्ता भण्डारीलगायतले साथ दिइरहेका थिए । यद्यपि, उनीहरूलाई भने स्पष्टिकरण सोधिएको थिएन । कार्की महासचिव र यादव, केसीलगायत पदाधिकारीका आकांक्षी थिए ।
क्रान्तिकारीको ४१ सदस्यीय पदाधिकारीमा कार्की अहिले एक जना मात्रै पदाधिकारी छन्, उनको पक्षमा । त्यस्तै १९९ जनाको केन्द्रीय समितिमा ७ जना केन्द्रीय समिति सदस्य मात्रै उनको पक्षमा रहेको क्रान्तिकारी नेताहर”को भनाइ छ ।
थप एक सय जना केन्द्रीय समितिमा थप्न बाँकी छ । त्यसका लागि विभिन्न क्लष्टरबाट थपिने छन् । यसो गर्दा छात्रा बढी पर्ने सम्भावना अधिक छ । केन्द्रीय समितिमा थपिनेलाई अहिले केन्द्रीय प्रतिनिधिका रुपमा राखिएको छ ।
पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ समूहको बलियो साथमा कार्कीले आफूहरूलाई पेलेको भन्दै लडेरै जाने निर्णयमा पुगेका थिए । अध्यक्ष सिंहले सोधेको स्पष्टिकरणको जवाफ कार्कीले दिएनन् । थप कार्यक्रमको आन्तरिक तयारीमा जुटे ।
त्यसपछि सिंहले सचिवालयको आपतकालीन बैठक बोलाएर कार्कीलाई हिजो शनिबार संगठनबाट निलम्बन गर्ने निर्णय लिइन् । उक्त निर्णयको जानकारी गराउने उद्देश्यले उनले पदाधिकारी टिम नै बोकेर अध्यक्ष प्रचण्ड निवास पुगिन् ।
प्रचण्डले विद्यार्थी संगठनभित्र देखा परेको विवाद र अराजकताका सन्दर्भमा कार्की समूहलाई पनि खुमलटार नै बोलाए । फयाक्सन इन्चार्ज हितमान शाक्यसमेत राखेर कार्कीलाई समानान्तर कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन गरे ।
विद्यार्थी संगठनभित्रको विवादका विषयमा पार्टी केन्द्रको विस्तारित बैठक बोलाएर छलफल गर्ने र पार्टीले एउटा निर्णय दिने आश्वासन दिएर प्रचण्डले दुवै पक्षलाई आरोप प्रत्यारोप, समानान्तर गतिविधि रोकेर एकताबद्ध भएर जान निर्देशन गरे ।
शनिबार प्रचण्ड निवासमा प्रचण्डले पहिले कार्की समूहसँग र पछि अध्यक्ष सिहसहितको क्रान्तिकारीको पदाधिकारीसँग छलफल गरेका थिए । कार्की समूहपछि भने दुवै पक्षलाई सँगै राखेर फोटो सेसन गराइएको थियो ।
त्यसपछि शनिबार साँझ नै कार्कीले आज दिउँसो २ बजे थापाथलीस्थित क्याम्पसमा बोलाइएको उपत्यका स्तरीय कार्यक्रम स्थगित गरेको सूचना जारी गरे । त्यसपछि हो- माओवादी केन्द्रको आज बसेको विस्तारित बैठकले विद्यार्थी संगठनभित्रको विवादमा केन्द्रीत रहेर छलफल गरेको ।
कार्की समूहले विद्यार्थीको विशेष राष्ट्रिय सम्मेलनको माग गरेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका र जितेका विद्यार्थी संगठनका नेताहरूको स्थानका कार्की समूहको अहिले बढी केन्द्रीत छ । यो ठाउँबाट कार्की पक्षले धेरै आफ्ना समूहका नेतालाई सुरक्षित गर्ने रणनीतिअनुरुप विवाद चर्काइरहेको आरोप पनि कार्की समूहमाथि छ ।
तर, पार्टीको बैठकले दुवै पक्षलाई राखेर पार्टीका तर्फबाट मिलाउन पहल लिने निर्णय गरेको नेता हरिवोल गजुरेलले जानकारी दिए । ‘विद्यार्थीभित्र जे समस्या देखा परेको छ, त्योबारेमा विस्तृत छलफल पार्टी केन्द्रको कार्यालयको विस्तारित बैठकमा भयो । अहिले तत्काललाई दुवै पक्षलाई राखेर एउटा सहमति गर्ने र छिट्टै विद्यार्थीको राष्ट्रिय सम्मेलनका लागि पहल गर्ने निर्णयमा हामी पुगेका छौँ ।’
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
प्रतिक्रिया