बिहीबार, माघ २९, २०८२

प्रचण्डले भने : ६-७ लाख नागरिकले नागरिकता पाउने भए

मेरोन्यूज २०७९ साउन ७ गते १६:१३

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहलमा धेरै नागरिकले नागरिकता पाउने भएको बताएका छन् । सर्लाहीमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको पहलमा यो सम्भव भएको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

‘झण्डै ६-७ लाख युवाहरू नागरिकताविहीन बनेका थिए, केही महिनापहिले मैले भनेको थिएँ, मधेश प्रदेशको नागरिकको विषय अबको सदनबाट हरहालतमा समाधान गर्ने छु,’ प्रचण्डले भने, ‘हिजोको दिनबाट त्यो बाचा पूरा भएको छ, हामी सबैलाई बधाई भन्न चाहन्छु ।’

सोही क्रममा उनले आगामी संघ र प्रदेशको निर्वाचनमा मधेश प्रदेशमा माओवादी पहिलो पार्टी बन्ने बताए । ‘मलाई लाग्छ, अब आउने संघ र प्रदेशको निर्वाचनमा माओवादी पार्टीलाई तपाईहरूले मधेश प्रदेशमा एक नम्बर बनाउन पहल कदमी लिनु हुनेछ,’ उनले भने ।

यस्तै, उनले आफ्नो पार्टी पहिलो पार्टी बने मात्रै मधेशी जनताको माग पूरा हुने दाबी गरे । यसैगरी उनले संघीता र गणतन्त्रको विरोध गरेको भन्दै भने, ‘एकाथरी मानिसहरूलाई हिजो पनि यो परिवर्तन मन परेको थिएन, गणतन्त्र सम्भव छैन भनेर कराउने मान्छे तपाईहरूले चिन्नु भएकै छ, संघीयताविरुद्ध अहिले पनि कराउँदै हिँड्ने तपाईंहरूले देख्नु भएकै छ ।’

उनले जसरी भए पनि आफ्नो पार्टीले संविधान र गणतन्त्रको रक्षा गर्ने बताउँदै मधेशी जनताले साथ दिने विश्वास लिए ।

प्रतिक्रिया