पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता

काठमाडौँ । पोखरामा आजदेखि सर्वाधिक धनराशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।
‘लोक संस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’को नारासहित स्थापना भएको कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालको आयोजनामा साउन १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा देशभरबाट गरी ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले छ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । जुन पुरस्कार नेपालमा दोहारीतर्फको अहिलेसम्मकै सर्वाधिक राशिको रहेको उनको भनाइ छ ।
यसैगरी द्धितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः चार लाख, दुई लाख र एक लाख पुरस्कार पाउने छन् । उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई ५० हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रमबाट ५५ लाख आम्दानी भई खर्च ३९ लाख ५० हजार कटाएर १५ लाख ५० हजार बचत हुने अनुमान आयोजकको छ । प्रतियोगिताको पुरस्कारमा मात्र १४ लाख ५० हजार खर्च हुनेछ ।
एक समूहमा महिला र पुरुष एक÷एक जना गरी दुई जना रहने र समूहको वाद्यवादनलगायत टोलीको व्यवस्था आयोजकलेनै गर्ने कार्यक्रम संयोजक दाहालले बताए । लोकगायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको स्मरणमा उनको जन्मजयन्तीका अवसर पारेर प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष क्या पूर्णबहादुर गुरुङ‘ह्योल्मो’ले बताए । उनका अनुसार प्रतियोगिताको उद्देश्य पोखरामा नेपाली लोकबाजा संग्रहालय निर्माण गर्नु रहेको छ ।
नेपाली लोकबाजाको संरक्षण, सम्बर्द्धन गर्न र शेरचनको प्रतिमा निर्माणको योजना प्रतिष्ठानले अघि सारेको हो । बचत रकमबाट लोकबाजा संग्रहालय स्थापना गरिने छ । कुना कन्दरामा गाइने नेपालीपन बोकेका मौलिक लय एवं भाकाका गीतहरु संकलन र गायनका साथै नेपाली लोकगीत, नृत्य र संस्कृतिको विकासमा योगदान पुर्याउनु भएका स्रष्टा शेरचनको विसं २०६७ माघ २४ गते पोखरामा निधन भएको थियो ।
प्रतिक्रिया