सांकेतिक भाषामा विश्व रेकर्ड राख्न चुकेकी शिलु, जसले २५ वर्ष यही क्षेत्रमा बिताइन्

३० सेप्टेम्बर । यो मितिलाई युएनले अन्तर्राष्ट्रिय अनुवादक दिवसको रुपमा घोषणा गरेको छ । यस हप्ता विश्वभरि सांकेतिक भाषा सप्ताह मनाइन्छ । विभिन्न मिडियामा सांकेतिक भाषा, दोभाषेको खोजी हुन्छ । हप्ताभरि मिडियाले सोधीखोजी गरिरहन्छ । अरुबेला भने अनुवादक दिवसको खासै वास्ता हुँदैन ।
३० सेप्टेम्बरसँग शिलु शर्माको विशेष साइनो छ । यसै दिन जन्मिएकी उनी पेशाले सांकेतिक भाषाकी दोभाषे हुन् । दोभाषेकै रुपमा उनले जीवनका २५ वर्ष वसन्त पार गरेकी छन् । उनलाई आफू दोभाषे बन्नकै लागि जन्मिए जस्तो लाग्छ । आफूले गरेको कर्मप्रति गर्व गर्छिन् ।
नेपाल टेलिभिजनमा सांकेतिक भाषाकी दोभाषे हुन्, उनी । बोल्न नसक्ने र सुन्न नसक्ने व्यक्तिलाई सांकेतिक भाषाका माध्यमबाट उनले दोभाषेको काम गरेको २५ वर्ष भइसकेको छ । हातको इशारा र संकेत, अनुहारको भावभंगीमा उनले दोभाषेको भूमिका निभाउ“छिन् । ‘सबै बहिराले सांकेतिक भाषा नबुझ्न सक्छन्, मानक सांकेतिक भाषा नबुझ्न सक्छन्,’ उनी भन्छिन्, ‘प्राकृतिक भाषा मात्र बुझ्छन् ।’
सुन्न र बोल्न नसक्नेका लागि बुझाउने माध्यम हो, सांकेतिक भाषा । यसको लिखित व्याकरण हुँदैन । सांकेतिक भाषा छोटो हुन्छ । हात र अनुहारको हाउभाउमार्फत शब्द र वाक्यलाई बुझाउने प्रयत्न गरिन्छ । विज्ञान र कानुनका प्राविधिक शब्द बुझाउन भने निकै समस्या पर्छ । तालिम र अध्ययन भएन भने श्रवण शक्ति गुमाएकालाई पनि सांकेतिक भाषा बुझ्न समस्या पर्छ ।
विश्व रेकर्ड राख्न चुकिन्
नेपाल टेलिभिजनले समाचारबाहेक विशेष कार्यक्रम र अवसरमा सुन्न र बोल्न नसक्नेका लागि दोभाषेमार्फत सांकेतिक भाषाबाट प्रस्तुती दिने गर्छ । नियमित ड्युटीबाहेक कहिलेकाहीँ अन्य समयमा पनि समाचार कक्षमा उपस्थित हुनु पर्छ । शिलुले यस्तै अवस्थाको सामना गरेकी छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिने बेला नेपाल टेलिभिजनले उनलाई ड्युटीमा बोलायो । उनलाई लाग्यो, छोटो समय मात्र दोभाषेको काम गर्नुपर्ला । उनले अर्को साथीलाई बोलाइनन् ।
तत्कालीन प्रधानमन्त्री ओली बोल्दै गए । भाषण सकिँदै सकिएन । तीन घण्टा कटेपछि बल्ल सकियो । पानीसमेत नपिएर लामो समय दोभाषेको काम गरेको उनको यो पहिलो अनुभव थियो । ‘दिमाग, हात निकै थाक्यो,’ उनले सुनाइन्, ‘यस्तो बेला ड्युटी परिवर्तन गर्नु पथ्र्यो, तर त्यो दिन अरु कोही साथी थिएनन् ।’
यसै विषयमा शिलुले गिनिज बुकमार्फत विश्व रेकर्ड राख्न खोजिन् । नेपाल टेलिभिजनमा खोज्दा त्यो दिनको फुटेज भेटिएन । अर्को एक टेलिभिजनमा पुगेर भेटिए जति फुटेज संकलन गरेर गिनिज बुकमा पठाइन् । तर, तीन घण्टाकै फुटेज भने भेटिएन । केही फुटेज डिलिट भइसकेका रहेछन् । गिनिज बुकमा नाम लेखाउने उनको रहर अधुरै रह्यो ।
सुन्न नसक्ने र बोल्न नसक्नेहरु व्यक्तिहरुलाई दोभाषेका रुपमा शिलुले सकेको सहयोग गर्छिन् । चाहे उपचारका लागि अस्पताल जानु पर्दा होस्, भिसा लिन राजदुताबास जानु पर्दा, कुनै मुद्दा परेर अदालत जानु परेमा अदालत जानु परेमा उनी सहयोगी बनेर पुगिदिन्छिन् । यसवापत उनले शुल्क लिने गरेकी छैनन् । कुनै कामले सिंहदरबारका मन्त्रालय वा अन्य सरकारी कार्यालय पुग्नु परेमा सहयोगी बनिदिन्छिन् । ‘अफ्ठ्यारोमा परेकालाई सहयोग गर्नु मेरो कर्तव्य हो,’ उनले भनिन् ।
यसरी सुरु भयो यात्रा
नुवाकोटबाट बसाईसराई गरेर शिलुको परिवार राजविराज पुग्यो । बुबा सूर्यप्रसाद शर्मा प्रहरीमा जागिरे थिए । जागिरकै क्रममा फेरि बुवाको सरुवा भैरहवा भयो । उनले ५ कक्षादेखि स्नातक तहसम्म भैरहवामै पढिन् ।
०५४ मा भैरहवा बहुमुखी क्याम्पसबाट स्नातक परीक्षा दिइसकेपछि खाली समय सदुपयोग गर्ने खोजिन् । त्यो बेला लुम्बिनी बहिरा संघले सांकेतिक भाषासम्बन्धी कक्षा सञ्चालन गथ्र्यो । एकातिर बोर्डिङमा पढाउँदै उनले चार महिना बहिरा संघमा सांकेतिक भाषाको कक्षा लिन थालिन् ।

त्यो कोर्ष सकिएपछि शिलुले बहिरा संघमै एक वर्ष पढाइन् । आइए पढ्दा नेपाली, अर्थशास्त्र र संस्कृती विषय अध्ययन गरेकी उनी गीत, कविता पनि कोर्थिन् । केही समय उनले कान्तिपुर डायरी भन्ने पत्रिकामा काम गरिन् । ०५७ मा उनले काठमाडौँ बहिरा महासंघ (तत्कालिन राष्ट्रिय बहिरा तथा सुस्त श्रवण महासंघ)मा काम गरिन् ।
महासंघमा काम गर्दागर्दै शिलुलाई नेपाल टेलिभिजनमा काम गर्ने अवसर मिल्यो । २०५८ देखि उनले दोभाषेका रुपमा नेपाल टेलिभिजनमा काम गर्ने अवसर पाइन् । बिहान ७ बजे र शनिबार १ बजेको समाचारलाई सांकेतिक भाषामार्फत उनले दोभाषेको काम गर्छिन् । शिलुलगायत अन्य तीन जना दोभाषेले यो भूमिका निभाउँदै आएका छन् । समाचारबाहेक अन्य विशेष कार्यक्रमलाई पनि सांकेतिक भाषामार्फत दोभाषेको काम गर्नु पर्छ ।
सांकेतिक भाषाको पहिलो थेसिस
सांकेतिक भाषाकी दोभाषे शिलु नेपालमा सांकेतिक भाषाको पहिलो थेसिस गर्ने व्यक्ति हुन् । त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषामा स्नातकोत्तर गरेकी उनले डिपार्टमेन्ट प्रमुखसँग सांकेतिक भाषामाथि थेसिस लेख्नेबारे छलफल गरिन् । डिपार्टमेन्ट प्रमुखले उनको कुरामा सहमति जनाइसकेपछि सजिलो भयो । नेपाली सांकेतिक भाषाको उद्भव विकास र स्वरुप विषयमा उनले लेखेको थेसिस नेपालमा सांकेतिक भाषाको पहिलो थेसिस हो ।
शिलु अनुसन्धानतिर पनि सक्रिय भइन् । वैज्ञानिक तरिकाले सांकेतिक भाषा अनुसन्धान गर्न सकिन्छ भन्ने लागेर उनले ०६९ मा त्रिभुवन विश्वविद्यालयमा लिंगुइस्टिक डिपार्टमेन्टमा भर्ना भइन् । भाषा विज्ञान पढेकी उनले ‘नेपाली सांकेतिक भाषाको समास’ विषयमा दोस्रो थेसिस लेखिन् । यो थेसिसलाई नाम चलेको अन्तर्राष्ट्रिय प्रकाशन गृहबाट छपाउने उनको रहर छ ।
‘बहिराहरूको सिर्जनशिल हातहरु’ नामक संस्थाले आयोजना गरेको सांकेतिक भाषाको नाटकमा शिलुले अभिनय गरेकी छन् । नाटकमा अभिनय गर्दा उनी रोएकी थिइन् । उनको अभिनय देखेर दर्शकहरु पनि रोएका थिए । शिलुका अनुसार सांकेतिक भाषा जानेर मात्र दोभाषे भइँदैन । सन्देश राम्रो दिन सकियो कि सकिएन ? लक्षित वर्गले भन्न खोजेको कुरा बुझे कि बुझेनन् ? त्यो बढी महत्वपूर्ण हुन्छ ।
दोभाषेका आफ्नै समस्या
बहिरा महासंघका अनुसार देशभर बहिराको संख्या तीन लाख रहेको छ । तर, तिनकै सेवामा खटिएका नेपालमा दोभाषेका आफ्नै समस्या छन् । अहिलेसम्म दोभाषेको लाइसेन्स छैन । अहिले पनि डेढ, दुई दशक काम गरिसकेकाहरु कसैसँग लाइसेन्स छैन । नेपाल बाहिर कतै दुई वर्ष, कतै चार वर्ष पढ्नु पर्छ । आफ्नै पाठ्यक्रम छ । तर, नेपालमा छैन । ‘सिटिईभिटी र त्रिभुवन विश्वविद्यालयमा पटक–पटक कोशिष ग¥यौं । तर, सफल भइएन ।’
दोभाषेको हक, हितका लागि सन् २०१० मा राष्टिय सांकेतिक भाषा दोभाषे संघ (एनएएसएलआइ नेपाल) गठन भएको थियो । यसले दोभाषेको हक, हितका लागि काम गर्दै आएको छ । यसको आफ्नै आचारसंहिता छ । हरेक स्थानीय तहले अनिवार्य दोभाषे राख्नु पर्ने कुरामा शिलु जोड दिन्छिन् । यसबाहेक अस्पताल, राजदूताबास, मन्त्रालयमा पनि कुनै न कुनै रुपमा सांकेतिक दोभाषे राख्नु पर्ने कुरा उनी प्रष्ट्याउँछिन् । स्थानीय तहले दोभाषे राख्नै पर्ने नियम ल्याएको छ । ‘सबै मन्त्रालयहरूले दोभाषे नराखे पनि सम्बन्धित मन्त्रालयले दोभाषे राख्नुपर्छ,’ उनले सुनाइन् ‘मुख्य मुख्य हस्पिटलले पनि राख्नु पर्छ ।’
सांकेतिक दोभाषेमै जीवन समर्पित
शिलुले दुई दशक बढी समय सांकेतिक भाषाको दोभाषेमा समय बिताइसकेकी छन् । नेपाल टेलिभिजनबाहेक प्राइम टिभी र एभिन्युज टिभीमा पनि उनले काम गरिन् । ०५४ सालदेखि यसै पेशामा संलग्न उनी आफूले छानेको पेशामा गर्व गर्छिन् ।
हात चलुञ्जेल यही पेशा अंगाल्ने उनी बताउँछिन् । ‘समस्यामा परेकालाई सेवा दिन पाउँदा खुसी लाग्छ,’ उनी भन्छिन्, ‘आवश्यक परेको ठाउँमा म गईदिन्छु ।’










अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ
उपमहासचिव हारेका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
लगातार तेस्रोपटक एमाले अध्यक्ष बनेका केपी ओलीको यस्तो छ राजनीतिक यात्रा
एमाले उपाध्यक्षमा को-को निर्वाचित भए?
एमाले सचिवमा सर्वाधिक मतसहित महेश बस्नेत निर्वाचित, अरु काे-काे भए ? (सूचीसहित)
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा
प्रतिक्रिया