शुक्रबार, वैशाख २५, २०८३

रवि लामिछानेको पार्टीले प्रतिनिधीसभा चुनाव मात्र लड्ने

संघीयतामा लामिछानेको असहमति, प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

मेरोन्यूज २०७९ भदौ १ गते १०:०७

काठमाडौं । पत्रकारिता छोडेर राजनीति गर्न लागेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधीसभा चुनावमा मात्र भाग लिने भएको छ । प्रदेश सभा चुनावमा भने उक्त पार्टीले आगामी चुनावमा सहभागिता नजनाउने निर्णय गरेको हो ।

Advertisement
NiccNicc

सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधीसभा र प्रदेश सभाको चुनाव एकै दिन गर्ने गरी घोषणा गरेको छ । मंगलबारसम्म निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयावधि रहेपनि अन्तिममा दल दर्ता गर्न पुगेका रवि लामिछानेको पार्टीले प्रतिनिधीसभामा मात्र भाग लिने गरी दल निर्वाचन आयोगमा दर्ता गरेको हो ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेसँगै उक्त पार्टीका सभापति रवि लामिछानेले एक भिडियो सन्देश जारी गर्दै नागरिकको आवाज सुनेपछि पार्टी केन्द्रीय समिति बैठकले प्रदेशसभा निर्वाचनमा सहभागी नुहने निर्णय गरेको बताएका छन्।

नागरिकका आवाज सुन्ने र समाधानका उपाय खोज्ने निर्णय आफ्नो पार्टीले गरेको उनले बताए। खर्चिलो संरचना बनाएर राज्यको ढुकुटी सक्नुभन्दा सुधारेर जानु आवश्यक भएको भन्दै प्रदेशसभामा सहभागी नुहँदा मुलुकको खर्च जोगिने कारणले सो निर्णय गरेको उनले बताएका छन्।

‘यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ,’ लामिछानेले भनेका छन्, ‘यही संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन।’

प्रदेशसभा निर्वाचनमा सहभागी नुहने कुराको जानकारी निर्वाचन आयोगलाई समेत गराइएको उनले बताएका छन्। ‘प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं,’ लामिछानेले भनेका छन।


प्रदेश सभा निर्वाचन नलडने गरी पार्टी निर्वाचन आयोगमा दर्ता गरेपछि उनको पार्टी पनि संघीयताविरोधी पार्टीको रुपमा देखा परेको छ । यधपी लामिछानेले यो विषयमा मुख खोलेका छैनन ।

प्रतिक्रिया