यी हुन् माओवादीका महासचिव देव गुरुङ (परिचयसहित)

काठमाडौँ । प्रतिस्पर्धी दुई नेता वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर)ले एक अर्कोलाई महासचिव स्वीकार गर्ने स्थिति देखा नपरेपछि अन्तत: नेकपा माओवादी केन्द्रको महासचिवको जिम्मेवारी देव गुरुङले प्राप्त गरेका छन् ।
दुवै प्रतिस्पर्धी नेताभन्दा सिनियर र माओवादी आन्दोलनमा निष्ठा र श्रद्धापूर्वक खटिने नेतामध्येमा पर्छन्, गुरुङ । पार्टीभित्रको शक्ति सन्तुलन खलबलिन नदिन र सबैलाई मिलाएर लैजान प्रचण्डले समन्वयकारी भूमिका खेलेर गुरुङलाई महासचिवमा प्रस्ताव गरेका हुन् ।
उनले महासचिवका आकांक्षीहरूका बीचमा सहमतिको प्रयासकै लागि गत पुसयता पदाधिकारी चयनसम्म नगरी रोकेर राखेका थिए । तर, जति लब्बिदै जान थाल्यो, त्यसले पार्टीको संगठनात्मक संरचनामा असर गर्न थालेपछि प्रचण्डले महासचिवमा पुन र शर्माको विकल्पमा गुरुङलाई अगाडि सारेर महासचिव प्रस्ताव गरेका हुन् । प्रचण्डको प्रस्तावका आधारमा माओवादी स्थायी समितिले गुरुङलाई महासचिवमा निर्णय गरिसकेको छ ।
को हुन् गुरुङ ?
माओवादी केन्द्रभित्र गुरुङ पुराना नेतामा पर्छन् । उनी जनयुद्ध कालमा शुरुका केन्द्रीय समितिमा रहेका नेता हुन् । उनको माओवादीमा पार्टी नाम कान्छा बहादुर हो । मनाङमा जन्मिएका गुरुङ घरका कान्छा छोरा भएकाले युद्धकालको नाम कान्छाबहादुर रहन गएको हो । धनप्रेम र बधुग्यामुका गुरुङ कान्छा छोरा हुन्, उनी ।
गुरुङको बाल्यकाल गाउँमै गोठालो र खेतीपातीमा बितेको थियो । मनाङको स्थानीय सरस्वती प्राविबाट अध्ययन शुरु गरेका उनले पोखराको राष्ट्रिय माविबाट २०३५ सालमा एसएलसी पास गरेका थिए । त्यसपछि उनी राजधानी काठमाडौँ आएका थिए ।
त्यसपछि उनले पुल्चोकमा सिभिल इञ्जिनियरिङ अध्ययन शुरु गरेका थिए । उनले उक्त पढाइ उर्त्तीण गरेका छन् । प्राविधिक अध्ययन गरे पनि उनले विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट शिक्षामा डिप्लोमा गरेका थिए ।
०३६ सालदेखि वाम आन्दोलनमा सक्रिय भएका गुरुङले २०३७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०४१ सालमा उनी पार्टीको केन्द्रीय समितिमा पुगिसकेका थिए । त्यहीबेला नेकपा चौथो महाधिवेशनमा मोहनविक्रम सिंह र निर्माल लामाबीचमा विभाजनपछि माेहन वैद्य ‘किरण’, पुष्पकमल दाहाल ‘प्रचण्ड’, देव गुरुङहरू मिलेर नेकपा मशाल (मोटो मशाल) बनाएका थिए ।
त्यसको वैधानिक मोर्चा राष्ट्रिय जनआन्दोलन संयोजन समिति बन्यो– २०४६ सालमा । उनले त्यसमा पनि निर्णायक भूमिका खेलेका थिए । जनयुद्धका क्रममा पार्टीले उनलाई गण्डक क्षेत्रमा खटाएको थियो । त्यही क्रममा उनी गोरखाबाट २०५३ सालमा गिरफ्तारीमा परे ।
गोरखा, वीरगञ्ज, काठमाडौं र ललितपुरका जेलमा चार वर्ष बन्दी भएपछि उनी पहिलो वार्ताको वातावरण बनाउनका लागि संकेतका लागि रिहा भएका थिए । कांग्रेसका तत्कालिन सरकार प्रमुख रहेका कृष्णप्रसाद भट्टराई सरकारमा रहेकाबेला रिहा हुने उपल्लो स्तरका नेता उनी नै थिए ।
पहिलो वार्ता कालमा वार्ता टोलीको उनी सदस्य भए । उनी दोस्रोपटक वार्ता हुँदा पनि वार्ता टोलीको सदस्यका रुपमा रहे ।
०६२-०६३ सालको जनआन्दोलनपछि माओवादीसमेत सहभागी भएको पहिलो अन्तरिम सरकारमा उनी मन्त्री बने । पहिलो संविधानसभाको चुनावपछि पनि उनी मन्त्री बने । दोस्रो संविधानसभाका बेलामा भने उनी मोहन वैद्य (किरण)तिर लागेका थिए ।
गुरुङको विवाह २०४४ सालमा भएको हो । उनले यशोदा सुवेदी गुरुङसँग जनवादी विवाह गरेका थिए । उनको श्रीमती पनि अहिले माओवादीको स्थायी समिति सदस्य भएकी छन् । पार्टीबाट संसदमा सांसद पनि छिन् ।
माओवादीभित्र गुरुङ अध्ययनशील नेताका रुपमा चिनिन्छन् । उनी अन्तर्राष्ट्रिय भूराजनीति र अर्थ सम्बन्धका विषयमा राम्रो दख्खल राख्ने नेतामा गनिन्छन् ।

















ठगीका अभियोगमा तीन जना पक्राउ
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
ट्याक्सी मापदण्डमा अन्य सवारीलाई पनि अनुमित दिनुपर्ने नाइमाको सुझाव
सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन
फोटोन १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया