शुक्रबार, वैशाख २५, २०८३

श्रद्धाञ्जली :

नेता गिरिको शव साढे ११ देखि २ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने, आजै अन्त्येष्टि

मेरोन्यूज २०७९ भदौ ५ गते ६:५३

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आज अन्त्येष्टि गरिँदै छ । ७५ वर्षको उमेरमा शनिबार राति निधन भएका गिरिको आज हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका अर्पण गर्ने कार्यक्रम राखेको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा बिहान ९ बजेदेखि ११ बजेसम्म र त्यसपछि साढे ११ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि गिरिको आजै दिउँसो पशुपतिमा अन्त्येयष्टि गरिने मुख्य सचिव पौडेलले जानकारी दिए ।

Advertisement
NiccNicc

प्रतिनिधि सभा सदस्यसमेत रहेका गिरि लामोसमयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । क्यान्सरकै उपचारका क्रममा उनको निधन भएको हो ।

को हुन् प्रदीप​ गिरि ?

प्रदीप गिरिको जन्म २००४ सालमा सिरहाको बस्तीपुरमा भएको थियो । गिरिले २०१७ सालदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा थालेका थिए । बुवा मित्रलाल गिरि कांग्रेसको राजनीतिमा सक्रिय भएको कारण पनि प्रदिपको राजनीति यात्रा सानैदेखि सुरु भयो ।

नेपालका सबैजसो शान्तिपूर्ण राजनीतिक आन्दोलनमा उनी सहभागी थिए । त्यसक्रममा उनी कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका सहयात्रीसमेत भए । बिपीसंग उनको भारतको बनारसमा छात्र संघमा निर्वाचन लड्दादेखिको राजनीतिक संगत थियो । राजनीतिक संघर्षकै क्रममा गिरिले करिब तीन वर्ष जेलजीवन बिताए ।
राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष उनले जेल जीवन बिताइसकेका छन् । उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस) को निर्वाचित उपाध्यक्ष थिए । २०४८ पछि २०५१ सालको संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएपछि गिरि राष्ट्रिय राजनीतिमा उदाएका थिए । गिरिलाई कृष्णप्रसाद भट्टराईले आफ्नो सरकारमा मन्त्री बनाउन खोजे पनि उनी मन्त्री बनेन् ।

०५६ साल निर्वाचनमा सिरहा ५ मा पराजित भएका उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद भए । वि.स ०७४ मा भएको निर्वाचनमा उनी सिराहा १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
देउवाले पार्टी फुटाउने बेलामा पनि गिरि देउवाकै साथमा थिए । भारत, जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गरेका गिरिले नेपाली राजनीतिमा प्रखर नेताको छवि बनाएका थिए ।

प्रतिक्रिया