डेङ्गु बढेपछि बजारमा सिटामोल अभाव

काठमाडौँ । नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै सिटामोल औषधिको माग बढेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल औषधि उत्पादक सङ्घले बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा सर्वसाधारणले पाइरहेका छैनन् ।
उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता हुने, खानमन नलाग्ने, पाखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । ती लक्षणका लागि बिरामीलाई सिटामोल र जीवनजलजस्ता औषधिको खानु पर्दछ । तर, त्यही सिटामोलजस्तो औषधिको अभाव भएको जनाइएको छ ।
काठमाडौँ उपत्यका लगायत देशका अन्य जिल्लामा दैनिक डेङ्गुका बिरामी बढिरहेका छन् । अहिलेसम्म छ हजारभन्दा बढी डेङ्गुका बिरामी पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ ।
डेङ्गुको प्रकोप बढ्न थालेपछि सर्वसाधारणले घरमा सिटामोल किनेर राख्ने गरेका छन् । यसले सिटामोलको अभाव भएको बताइएको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार मण्डलले बजारमा सिटामोलको अभाव नभएको बताए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल अधिकृत डा. श्रवणकुमार मण्डलले डेङ्गुका बिरामीलाई उच्च ज्वरो आउने र ज्वरो कम गर्नका लागि सिटामोल खानु पर्ने बताए । धेरै ज्वरोका बिरामी बढेकाले सिटामोलका माग बढ्दा अभाव भएको हुन सक्ने उनको भनाइ छ ।
५० लाख सिटामोल उत्पादन गर्दै
नेपाल औषधि लिमिटेडका सूचना अधिकारी टीकाराम अर्याल डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि सिटामोल औषधि बनाउनका लागि कच्चा पदार्थ आयात गर्न थालेको बताए ।
उनका अनुसार हप्ता दिनभित्र कच्चा पदार्थ आउने र त्यसपछि सिटामोल औषधि उत्पादन गर्ने जानकारी दिए । उनका अनुसार करिब ५० लाख ट्याबलेट सिटामोल उत्पादन गर्नका लागि कच्चा पदार्थ ल्याउन थालिएको छ ।
अहिले औषधि लिमिटेडसँग करिब १५ लाख ट्याबलेट मौज्दात रहेको उनको भनाइ छ । सङ्घका उपाध्यक्ष सन्तोष बरालले बजारमा सुनेको जस्तो सिटामोलको अभाव नभएको बताए । ‘मैले पनि बजारमा अभाव छ भन्ने सुनेको छु तर त्यस्तो सारै अभाव छैन, हामीले उत्पादन गर्दै आइरहेका छौँ,’ उनले भने ।
उनका अनुसार नेपालमा वार्षिक १० करोड ट्याबलेट सिटामोलको माग रहेको छ । सङ्घले भने वार्षिक पाँचदेखि साढे पाँच करोड ट्याबलेट उत्पादन गरिरहेको छ ।















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया