आफ्नै खुट्टामा उभिने माध्यम बन्यो सीपमूलक तालिम

गलकोट । बागलुङ बजारको रामरेखा निवासी चित्रकुमारी रोकाले छ महिना देखि ‘लेडिज टेलरिङ’ नामक कपडा सिलाउने पसल सञ्चालनमा ल्याएका छन् । उनले आफ्नै कपडा पसल सञ्चालन गर्ने सोचसमेत बनाएका थिएनन् तर बागलुङमा रहेको धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्रले प्रदान गरेको चार महिने सीपमूलक तालिमपछि उनले आफ्नै खुट्टामा उभिन सफल भए।
रोका मात्रै हैन बागलुङ नगरपालिका–८ सिगाना निवासी पूजा परियारले बागलुङ एफएम चोकमा आफ्नै कपडा सिलाइकटाइ पसलको स्थापना गरे ।रोका र पूजा त एक उदारणीय पात्र मात्रै हुन् । केन्द्रले दिएको सीपमूलक तालिम प्राप्त गर्ने अधिकांशले रोजागारी पाएका छन् भने केहीले आफैँ उद्यम स्थापना गरेका छन् । “फुर्सदको समय सदुपयोग गरौँ भनेर तालिमका लागि केन्द्रमा पुगे, चार महिना तालिम सकेपछि मनमा व्यवसाय गर्ने उत्साह छायो, कपडा सिलाइ तालिमपछि आफ्नै पसल राखे, अहिले आफ्नो घर खर्च चलाउन सक्ने भएकी छु”, तालिमपछि आफ्नै व्यवसाय सञ्चालन गरेकी रोकाले भने, “सिलाइकटाइको पहिलो चरणको सीपमूलक तालिमसमेत उत्तीर्ण गरी प्रमाणपत्रसमेत पाउँदा खुसी लागेको छ ।”
टेलरिङ तालिमबाट विशेष गरी एकल महिला तथा दलित र जनजाति महिला बढी लाभान्वित भएका छन् । सिलाइकटाइ तालिम मात्रै नभएर विद्युतीय र ग्रिल उद्योग तालिम प्राप्त युवाले समेत अहिले राम्रो काम पाइरहेका छन् । तालिमपछि वैदेशिक रोजगारीका लागि समेत सहज हुने र नेपालमा समेत आफ्नो खर्च धान्न सक्ने काम पाइने भएकाले विद्युतीय जडानको तालिम सिकेको पर्वत जिल्ला स्थित पाङका सुजन नेपालीले बताए ।
केन्द्रले चार सय २५ लाई चार प्रकारका सीपमूलक तालिम दिएर युवायुवतीलाई आत्मनिर्भरको बाटोमा हिँडाएको छ । केन्द्रले निःशुल्करुपमा विद्युत् जडान, पम्पिङ, सिलाइकटाइ र ग्रिल उद्योगको तालिम दिँदै आएको छ । एकल महिला, दलित, पिछाडिएको बर्ग र एकल महिलालाई प्राथमिकतामा राखेर सीपमूलक तालिम दिइरहेको केन्द्रका अध्यक्ष केबी रानामगरले बताए ।
“हामीले तालिम दिएका धेरैले रोजगारी पाएका छन् केहीले विदेश गएपछि समेत राम्रो काम पाएका छन्, केहीले त आफ्नै व्यवसाय सुरु गरेको पाइएको छ”, मगरले भने, “हामीले धेरै भन्न सकिँदैन तालिम दिएका प्रशिक्षार्थीले आफ्नो रोजीरोटीका लागि सहयोग पुगेको छ जुन उनीहरुले गरेको कामबाट पुष्टि भइसकेको छ ।”
केन्द्रले हालसम्म चार सय २५ लाई सीपमूलक तालिम दिइसकेको केन्द्रका प्रोजेक्ट म्यानेजर शालिकराम शर्माले जानकारी दिए । शर्माका अनुसार एक सय २२ ले प्लम्बर, ४५ ले विद्युतीय जडानसम्बन्धी, एक सय ९५ ले सिलाइकटाइ र ६३ ले ग्रिल उद्योगसम्बन्धी तालिम प्राप्त गरेको उहाँले बताए । तालिम प्राप्त गर्नेमध्ये दुई सय ८७ ले रोजगारी पाएको र ५७ ले आफ्नै व्यवसाय सञ्चालन गरेको र सात जना वैदेशिक रोजगारीका लागि गएको शर्माले जानकारी दिए ।
केन्द्रको रेकर्ड अनुसार तालिम प्राप्त गरिसकेपछि औसतमा विद्युत्को काम गर्नेले रु १९ हजार, टेलरिङको काम गर्नेले रु १३ हजार, ग्रिलको काम गर्नेले रु १८ हजार र प्लम्बरको काम गर्नेले रु १५ हजारसम्म आम्दानी गर्ने गरेका छन् ।

















यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी
नेप्से परिसूचकमा २७ अंकको गिरावट
चितवन–३ मा कस्तो छ चुनावी माहोल ?
छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
यस्तो छ रास्वपाको वाचापत्र (पूर्णपाठ)
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रतिक्रिया