बाढी र डुबनका कारण सयौँ परिवार विस्थापित

कैलालीको भजनी नगरपालिका–८ का प्रताप विश्वकर्मा बाढीका कारण विस्थापित भएर हुलाकी सडकमा पुग्नुभएको छ । प्रतापसँगै सोनाहाफाटा टोलका अधिकांश स्थानीय हुलाकी सडकमा त्रिपाल हालेर आश्रय लिन थालेका छन् ।
अविरल लगातारको वर्षाका कारण पथरैया नदीको बाढीले बस्ती नै डुबानमा परेपछि पशुचौपायासहित स्थानीयले घर नै छोडेर हुलाकी सडकमा पुगेका हुन् । “रातिदेखि बस्तीमा बाढी पसेर जताततै जलमग्न भएको छ । घर सबै डुबानमा परेका छन् ।” उहाँले भन्नुभयो, “रातभर निदाउन पनि पाएका छैनौँ ।
सामान सार्न, चौपाया व्यवस्थापन गर्न र परिवारलाई सुरक्षित स्थानमा पु¥याउँदै रात कटेको थाहै भएन ।” वडा नं ८ कै खेमराज पाण्डेले सयौँ परिवार बाढीका कारण विस्थापित भएको बताउँदै पीडितको व्यवस्थापनमा निकै समस्या भएको बताउनुभयो । “उच्च सेल्टर घर, केही परिवार आफन्त छिमेकीको घरमा आश्रय लिएर बसेका छन् भने सयौँ परिवार हुलाकी रोडमा छन् ।”, पाण्डेले भन्नुभयो, “अवस्था निकै अस्तव्यस्त भएको छ ।
जताततै पानी मात्रै देखिन्छ । हुलाकी सडकबाट हेर्दा जताततै समुद्रको आभास हुने गरेको छ ।” चारैतिरबाट नदीले घेरिएको भजनीका सबै वडा जलमग्न भएका छन् । सयौँ बिघा धान नदीको कटानबाट नष्ट भएको स्थानीय रामबहादुर साउद बताउनुभयो । “कान्द्राले सबैभन्दा बढी क्षति गरेको छ । कटानले खेतीयोग्य जमिन नष्ट भने डुबानले स्थानीयको जनजीवन निकै प्रभावित बनाइएको छ”, साउदले भन्नुभयो, “स्थानीयलाई ज्यान जोगाउन मुस्किल छ ।
उद्धारका लागि पनि निकै कठिनाइ भइरहेको छ ।” उहाँले अहिलेसम्म मानवीय क्षति नभए पनि धनजनको ठूलो क्षति भएको बताउनुभयो । नगरपालिकाका नगरप्रमुख केवल बाढीका कारण भजनी क्षेत्रको अवस्था निकै अस्तव्यस्त भएको बताउनुभयो । उहाँले नदीमा पानीको बहाव निकै उच्च भएका कारण उद्धारमा समस्या भएको बताउँदै कयौँ क्षेत्रमा बाढी र कटानका कारण सम्पर्क विच्छेदसमेत भएको बताउनुभयो । “हामी हिजोदेखि स्थानीयको सम्पर्कमा छौँ ।
सयौँ परिवार विस्थापित भइसकेको अवस्था छ । अधिकांशको आश्रयस्थल यतिबेला हुलाकी सडक बनेको छ”, नगरप्रमुख चौधरीले भन्नुभयो, “उद्धार सामग्रीको अभावका कारण समस्या भएको छ । नदीमा पानीको बहाव बढ्दै छ । कहाँ जाने कसको उद्धार गर्ने भन्ने अप्ठ्यारोमा हामी छौँ ।
अवस्था सबै ठाउँको उस्तै छ ।” बाढीका कारण हुलाकी सडक अवरुद्ध भएको छ । भजनी नगरपालिका–८ सोनाहाफाटामा पथरैया नदीको बाढी सडकमाथि ओभर भएर कटान हुँदा आवागमन अवरुद्ध भएको स्थानीय जयप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन सय मिटर सडक कटानमा परेको छ । “सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भजनीसँगको सम्बन्ध विच्छेद भएको छ”, ढुङ्गानाले भन्नुभयो, “डुङ्गाको सहायताको लागि नगरपालिकालाई आग्रह गरेका छौँ ।
स्थानीय निकै त्रसित छन् ।”














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया