सन्दर्भ संविधान दिवस : आवासको हकसम्बन्धी ऐन प्रमाणीकरण भएको चार वर्षसम्म बनेन नियमावली

काठमाडौँ । नेपालको संविधानमा उल्लेखित मौलिक हक तीन वर्षमै कार्यान्वयन भइसक्नुपर्नेमा अहिलेसम्म पनि कार्यान्वयन गराउने आधार अर्थात् आवश्यक नियमावली बनाउन सकिएको छैन ।
संविधानको मौलिक हक कार्यान्वयनका लागि बनाइएको आवासको अधिकारसम्बन्धी ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको चार वर्षसम्म पनि नियमावली बन्न सकेको छैन । चार वर्षदेखि मन्त्रालयका अधिकारीले विभाग र विभागका अधिकारीले मन्त्रालयलाई देखाएर नियमावलीका बारेमा मौन बस्दै आएका छन् । अर्थ र कानून मन्त्रालयको सहमति लिनुपर्ने भएकाले चार वर्षसम्म नियमावली आउन नसकेको सम्बद्ध अधिकारीको जिकिर छ ।
सङ्घीय संसद्का दुवै सदनबाट पारित आवासको अधिकारसम्बन्धी ऐन २०७५लाई राष्ट्रपति भण्डारीले विसं २०७५ असोज २ गते प्रमाणीकरण गर्नुभएको थियो । ऐन प्रमाणीकरण भएको चार वर्षसम्म नियमावली नआएपछि यसको कार्यान्वयन पनि हुन सकेको छैन । ऐनका कतिपय दफामा लेखिएको ‘तोकिए बमोजिम’ भन्ने विषयलाई नियमावलीले व्याख्या गर्छ तर ऐन प्रमाणीकरण भएर कार्यान्वयनमा आएको चार वर्ष बितिसक्दा पनि नियमावली नबन्दा कानूनी अप्ठ्यारा आउने गरेका छन् । शहरी विकास मन्त्रालयको आवास, भवन तथा योजना महाशाखा प्रमुख रामचन्द्र दङ्गाल मन्त्रालय नेतृत्वको प्राथमिकता नपरेकाले ऐन प्रमाणीकरण भएको चार वर्षसम्म पनि नियमावली आउन नसकेको बताउनुहुन्छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण बन्दाबन्दी र निषेधाज्ञा जारी भएकाले मस्यौदा तयार पार्न समय बढी लागेको हुनसक्ने उहाँको भनाइ छ । अर्थ र कानून मन्त्रालयको सहमति लिएर नियमावली मन्त्रिपरिषद्मा पेश गर्ने गरी तयारी गरिएको जनाइएको छ । मन्त्रालयको आवास, भवन तथा योजना महाशाखा प्रमुखको संयोजकत्वमा नियमावली मस्यौदा भई कानून र अर्थलगायत सरोकार भएका मन्त्रालयको सहमति लिने कामकै लागि चार वर्षभन्दा बढी समय लागेको छ ।
संविधानसभाबाट बनेको नेपालको संविधान २०७२ मा पहिलोपटक मौलिक हकका रुपमा आवासको हकसम्बन्धी व्यवस्था गरिएको छ । आवासको हकका विषयमा काम गरिरहनुभएका अधिवक्ता राजुप्रसाद चापागाइँ नियमावली बनेपछि मात्र ऐनको कार्यविधिमा स्पष्टता आउने बताउनुहुन्छ । नियमावली नभएकाले कसैको आवासको हक खोसिन लाग्यो भने सर्वोच्च अदालत र राष्ट्रिय मानव अधिकार आयोगमा मौलिक हक संरक्षणको विषय लिएर जान सकिने उहाँको भनाइ छ । मन्त्रालयका सूचना अधिकारी राजेन्द्र खतिवडा भने नियमावलीको सबै कामको जिम्मेवारी शहरी विकास तथा भवन निर्माण विभागलाई दिइएको बताउनुहुन्छ ।
आवाससम्बन्धी कार्यक्रम विभागले नै सञ्चालन गरिरहेकाले नियमावलीको जिम्मेवारी पनि विभागलाई नै दिइएको उहाँ सुनाउनुहुन्छ । आवासको हक कार्यान्वयनका लागि मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । विगतमा मन्त्रालयले सञ्चालन गरेको जनता आवास कार्यक्रम आर्थिक वर्ष २०७५÷२०७६ देखि प्रदेश सरकारअन्तर्गत कार्यान्वयनको चरणमा छ तर यो कार्यक्रमका लागि प्रत्येक वर्ष माग बमोजिम बजेट आउँदैन । महाशाखा प्रमुख दङ्गाल जनता आवास कार्यक्रमका लागि वर्षमा रु दुईदेखि तीन अर्ब बजेट विनियोजन हुने गरे पनि अपुग भएको बताउनुहुन्छ ।
यसैगरी सुरक्षित नागरिक आवास कार्यक्रम, एकीकृत बस्ती विकास कार्यक्रम, बस्ती स्थानानन्तरण कार्यक्रम पनि कार्यान्वयनको चरणमा रहेको मन्त्रालयले जनाएको छ । यी सबै कार्यक्रममा माग बमोजिम बजेट विनियोजन हुनसकेको छ्ैन । नागरिक सुरक्षित आवास कार्यक्रमका लागि वर्षमा रु पाँच अर्बदेखि छ अर्बसम्म विनियोजन हुने गरेको छ तर यसले पनि मागलाई धान्न सकेको छैन । एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत रसुवा, कास्की, कपिलवस्तु, जाजरकोट, बाँके, उदयपुर र सप्तरीमा एक÷एक बस्ती बनाउने गरी चार वर्षअघिदेखि कार्यान्वयन सुरु गरिएको हो ।
डढेल्धुरा, सर्लाही र मुगुका बाढी पहिरो पीडितका लागि आवास बनाउने कार्यक्रम पनि यसै कार्यक्रमअन्तर्गत रहको मन्त्रालयले जनाएको छ । यसैगरी सिन्धुपाल्चोकको जुरे, बर्दिया र सुर्खेतमा पनि बाढी पहिरो पीडितका लागि आवास निर्माणको कार्यक्रम यसैअन्तर्गत सञ्चालनमा आउने भनिए पनि अझै आवास निर्माण हुन सकेको छैन । पीडित भने सरकारले कार्यक्रम घोषणा गर्ने तर पूरा नहुने समस्या रहेको गुनासो गर्छन् ।सिन्धुपाल्चोकको जुरे पहिरो पीडित परिवारका सदस्य सोमबहादुर बम्जन सरकारको घोषणा सात वर्षदेखि कार्यान्वयन हुन नसकेको गुनासो गर्नुहुन्छ ।
कार्यान्वयन नगर्ने तर हल्ला धेरै गर्ने गरेको उहाँको भनाइ छ ।

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति
प्रतिक्रिया