मंगलबार, फागुन १२, २०८२

हिम पहिरोमा परेका चार जनाको उद्धार, दुई जनालाई काठमाडौँ ल्याइयो

मेरोन्यूज २०७९ असोज १० गते १९:५५

काठमाडौँ । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिम पहिरामा पुरिएकामध्ये चार जनाको उद्धार गरिएको छ । हिमपहिरामा परेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

दुई जनालाई तेस्रो आधार शिविरबाट उद्धार गरी पहिलो आधार शिविरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । उद्धार गरिएका चारै जनाको पहिचान खुल्न नसकेको उनले बताए ।

घटनास्थलबाट उद्धार गरिएका दुई घाइतेलाई भने सिम्रिक एयरको हेलिकप्टरमार्फत सामागाँउ ल्याएर र लगत्तै कैलाश एयरमार्फत राजधानी लगिएको उनले बताए । ढिलो गरी उद्धार गरिएका थप दुईलाई भने मौसम खराबी कारण सामागाउँसम्म पनि ल्याउन नसकिएको उनको भनाइ छ ।

उनीहरुको अनुहार चिन्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । ‘थप दुईको पनि तेस्रो आधार शिविरबाट उद्धार भएको छ, प्रनाउ लामिछानेले भने, “अहिले पहिलो आधार शिविरमा ल्याएको भए पनि मौसम खराबीका कारण सामागाउँसम्म पनि ल्याउन सक्ने अवस्था छैन, आज अब पहिलो आधार शिविरमै रहन्छ ।”

अन्य बेपत्ता भएकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पहिलो आधार शिविरबाट विभिन्न चार एजेन्सीमार्फत १३ जना तेस्रो आधार शिविरतर्फ गएकाले उनीहरु सबै पहिरोमा परेको हुनसक्ने आङ्शका गरिएको प्रनाउ लामिछानेले जानकारी दिए ।

मनास्लु हिमालको तेस्रो आधार शिविरमा आज बिहान हिमपहिरो गएको हो । गोरखा प्रहरीका अनुसार शनिबारसम्म मात्रै पनि मनास्लु हिमाल चढ्न गएका ३सय ३३ विदेशी पर्यटक आधार शिविर पुगिसकेका छन् ।

प्रतिक्रिया