नेपाली खेलाडीको योगदान महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमित साधन स्रोतका बाबजुद खेलका माध्यमबाट नेपाली खेलाडीले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
नवौँ राष्ट्रिय खेलकुदको आज पोखरामा आयोजित समापन समारोहमा उनले नेपाली खेलाडीले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट प्रदर्शन गरी देशको गरिमालाई उँचो बनाएको बताए ।
राज्यमा खेलको विशिष्ट महत्त्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यसको विकासका लागि राज्यको लगानीसँगै निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहित गरिनु पर्नेमा जोड दिए । स्थानीय एवं प्रदेश स्तरमा खेलको विकासका लागि पूर्वाधारलगायतलाई प्राथमिकता दिनु पर्ने उनले बताए ।
नवौँ राष्ट्रिय खेलकुदका सन्दर्भमा बनेका तथा स्तरोन्नति गरिएका पूर्वाधारको संरक्षण गर्नु पर्नेमा उनले जोड दिए । नवौँ राष्ट्रिय खेलकुदलाई सम्पन्न गर्न खट्ने युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लगायतलाई प्रधानमन्त्रीले धन्यवाद व्यक्त गरे ।
यस राष्ट्रिय खेलकुदले खेल क्षेत्रका लागि विशष्ट योगदान गरेको बताउँदै उनले राष्ट्रिय खेलकुदलाई नियमित र व्यवस्थित गर्दै लैजानु पर्ने आवश्यकता औँल्याए । नवौँ राष्ट्रिय खेलकुदका क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङका खेलाडी निमिस थापाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नवौँ राष्ट्रिय खेलकुद नेपाली खेल क्षेत्रका लागि महत्त्वपूर्ण बनेको बताए । गण्डकी प्रदेशमा सम्पन्न यस प्रतियोगिताले खेल क्षेत्रमा नयाँ नयाँ प्रतिभासमेत स्थापित गरेको उल्लेख गर्दै उनले गण्डकी प्रदेशको खेलको सम्भावनालाई थप उजागर गरेको बताए ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले गण्डकी प्रदेशको राजधानीमा सम्पन्न खेलले यहाँको खेलका सम्भावनालाई उजागर गरेको बताए । खेलकुदको समग्र विकासमा राज्यको ध्यान पुग्नु पर्नेमा उनले जोड दिए ।














पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया