मंगलबार, माघ १३, २०८२

एमाले उम्मेदवारका सहयोगीले आफ्नै घरमा बन्धक बनाएर दुई युवा कुटे

मेरोन्यूज २०७९ कार्तिक ५ गते ७:०७
किरण लामा

विराटनगर । विवादास्पद भूमिकामा रहेका र अहिले नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर ६ को ‘ख’ का प्रदेश सभा सदस्य उम्मेदवार बनेका पर्शुराम बस्नेतका सहायोगीले दुई युवालाई बन्धक बनाएर कुटपिट गरेका छन् ।

प्रहरीका अनुसार, शुक्रबार बस्नेतका सहयोगी किरण लामाले आफ्नै घरमा विराटनगर- ८ मधुमाराका ३३ वर्षीय नवल यादव र विराटनगर( ११ का २४ वर्षीय अभिषेक साहलाई बन्धक बनाएर कुटपिट गरेको आरोप लागेको हो ।

लेनदेनको विषयमा लामाले शुक्रबार दिउँसो दुई जनालाई आफ्नै घरमा बोलाएका थिए । घरमा बोलाएर उनले निर्घात कुटपिट गरेर करिब ५ घण्टा बन्धक बनाएको नवलले बताए । बन्धक बनाइएकै अवस्थाबाट एक युवक आफै भागेको र अर्का एकलाई भने प्रहरीले घर खानतलासी गरेर उद्दार गरेको प्रहरीको भनाई छ ।

लामाले आफ्नै घरमा बन्धक बनाएका दुई जनालाई शुक्रबार बेलुका करिब ५ बजे प्रहरीले उद्दार गरेको थियो । पीडित नवल यादवका अनुसार शुक्रबार दिउँसो लामाले घरमा बोलाएर कुटपिट गरी कोठामा थुनेका थिए । ‘लेनदेनको विषयमा घरमा बोलाएर थुनेर कुटपिट गरे’, उनले भने, ‘प्रहरीलाई खबर गरेपछि उद्धार भयो ।’ कुटिएका यादव र साह औषधि व्यावसायी हुन् ।

बन्धक बनाएका लामाले पैसा ल्याउन घरमा फोन गर्न भन्दै मोबाइल दिएपछि बन्धक बनाइएका व्यक्तिले प्रहरीलाई खबर गरेका थिए ।

बन्धक बनाएर कुटपिटमा परेका पीडितले प्रहरीमा लामाविरुद्ध किटानी जाहेरी दिएका छन् । तर प्रहरीले दर्ता गरेको छैन । मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया