म जनतालाई मालिक बनाएर हिँड्न चाहन्छु : नेता रावल

सत्ता गठबन्धनबाट कैलाली १ ‘ख’का प्रदेशसभा उम्मेदवार हुन्, नेपाली कांग्रेसका नेता डा.रणबहादुर रावल । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रावल कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेतासमेत भइसकेका छन् । प्रकृति स्रोत व्यवस्थापनमा विद्यावारिधी गरेका उनले ०३२ सालदेखि कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को एकाई सचिवबाट राजनितिक यात्रा सुरु गरेका थिए ।
डा. रावल ०७० सालको संविधानसभाको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यका उम्मेदवार रहेका थिए । कैलालीको टीकापुरमा जन्मेका उनी ०६४ सालको निर्वाचनमा समानुपातिक संसदका उम्मेदवार भए । यो कुराकानी भइरहँदा उनी चुनावी घरदैलो कार्यक्रममा व्यस्त थिए । आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको सेरोफेरोमा केन्द्रीत रहेर मेरोन्युजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :
घरदैलो अभियानलाई निकै तीव्रता दिनु भएको छ, चुनावी क्षेत्रको माहोल कस्तो छ ? मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भयो ?
मतदातामा धेरै ठूलो उत्साह छ । यो क्षेत्र विगतमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको प्रतिस्पर्धा हुने ठाउँ हो । यसपालि जनताले ‘तपाईंहरु मिल्नु भयो, राम्रो गर्नु भयो’ भन्नु भएको पाइयो । सबै जनतामा खुसी र उत्साह छ । सबै दलहरु मिल्यो भने विकास हुन्छ भन्नु हुन्छ ।
तपाईसँग कैलाली १ का लागि विकासका योजनाहरु के–के छन् ? एजेण्डाहरु के छन् ?
यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, कृषिको हब बनाउने पहिलो प्राथमिकता छ । हामी यहाँ शैक्षिक, पर्यटकीय र व्यवसायिक हब बनाउने योजनामा छौँ । त्यसका लागि गृह कार्य गरिरहेका छौँ । यस क्षेत्रमा कृषि प्राविधिक शिक्षालय खोल्न र आयुर्वेदिक हब बनाउने छौँ । युवाहरूलाई रोजगारी दिलाउनु हाम्रो प्रमुख मुद्दा हो ।
यसबाहेक हाम्रो क्षेत्र कर्णाली, मोहना नदीको किनार हो । मेरो विचारमा यो विश्वको दुर्लभ ठाउँ हो । हामीले यसलाई ब्यापक प्रचार–प्रसार गरेर पर्यटक भित्र्याउन सक्छौँ । टीकापुर सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण क्षेत्र हो । कृषि र पर्यटन क्षेत्रको विकास गरेर हामी टीकापुरलाई समुन्नत बनाउन सक्छौँ । तर, म एक जनाले मात्र विकास गर्न चाहेर हुँदैन । सबै जना एक ठाउँमा भएर एकताबद्ध भएर अघि बढ्नुपर्छ ।
सुदूरपश्चिम प्रदेश आफैमा थुपै्र सम्भावना भएको प्रदेश हो । कृषि, पर्यटन लगायतका क्षेत्रबाट हाम्रो प्रदेशलाई हामीले सम्बृद्धिसँग जोड्न सक्छौँ । बाढी नियन्त्रण, नदी कटानलगायत समस्या समाधानमा मेरो विशेष पहल हुनेछ । स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि कोशिस गर्ने छौँ । यहाँ थारु संस्कृति झल्काउने, मगर संस्कृति झल्काउने होमस्टेको सम्भावना छ । थारुको स्तर उकास्न केही काम गर्नु पर्नेछ । म त्यतातिर ध्यान दिनेछु ।
यसपालिको चुनावमा तपाईंको जितका आधारहरू के छन् ? जनतालाई कसरी आश्वस्त पार्नुहुन्छ ?
मैले विशेषगरी यस क्षेत्रको विकास निमार्णमा प्रत्यक्ष सहयोग पुर्याएको हो । विद्यालयमा पूर्वाधार निमार्ण, सहकारीको स्थापना, नदीमा बाँध निमार्णलगायतका विषयमा सहयोग गरेको छु । म प्रदेश सरकारको प्रतिपक्षीमा रहँदा पनि क्षेत्र नम्बर १ का लागि विशेष भूमिका खेलेको थिएँ । यहाँको विकास र सम्बृद्धिका लागि जहिले पनि सकारात्मक भूमिका खेलेको थिएँ । म सक्षम र प्रदेशको नेतृत्व गर्न सक्ने व्यक्ति भएकाले जनताले मलाई पक्कै चुन्नुहुन्छ । यस्तो अवसरलाई गुमाउँदा त्यसको असर दश वर्ष पछाडिसम्म पर्छ ।
बिगतमा बेरोजगारी हटाउने आश्वासन धेरैले दिए । तर, साँच्चिकै कसरी यो समस्या समाधान गर्न सकिएला ?
गणितको हिसाबले हामी बलियो बन्दैछौं । अब प्रदेश सरकार र संघमा हाम्रै नेतृत्वमा सरकार बन्दैछ । हामी बेरोजगारी समस्यालगायत तमाम समस्या समाधान गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघबीच समन्वय गरेर काम गर्नेछौँ । बिगतमा टीकापुरमा जुन घटना भयो, त्यसले द्वन्द्व उब्जायो । केही व्यक्तिहरुले त्यसबाट फाइदा लिन खोजे । हामी यहाँको समुदायमा सद्भाव कायम गर्न विभिन्न तरिकाबाट कोशिस गर्ने छौँ ।
यसै क्षेत्रबाट जितेर मन्त्री बन्नु भयो, बिगतमा यहाँले गर्नु भएका काम कस्तो रह्यो ?
क्षेत्र नम्बर १ को ‘ख’ बाट ०७४ को चुनावमा मलाई भोट दिएर जिताउनु हुने सबैमा हार्दिक धन्यवाद भन्न चाहन्छु । हामी त्यो बेला प्रतिपक्षको भूमिकामा प्रदेशमा रह्यौं । जुन म्याण्डेट हामीलाई दिइएको थियो, ३२ वटा निर्वाचन क्षेत्रमा जम्मा ४ वटा नेपाली कांग्रेसले जितेको थियो । अरु समानुपातिकमा सिट थियो ।
खासगरी यहाँका शैक्षिक संस्था संस्थामा भौतिक पूर्वाधारको निमार्ण गरेका छौँ । नेपालकै नमुना योगाश्रम बनेको छ । पुस्तकालय, बाटाघाटा निमार्ण गरेको छु । मेरै पहलमा सबै वडामा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको छ । हामीले थारुहरुका लागि धार्मिक स्थलमा मरुवा निमार्ण गरेका छौँ । मन्दिर, बाटोघाटो निमार्ण गरेका छौँ । शैक्षिक, प्राविधिक र पर्यटन क्षेत्रलगायत अन्य कुरामा मेरो तर्फबाट अनेक प्रयास गरेको छु ।
मन्त्री पनि म अन्तिम अवस्थामा बनेको हो । अहिले हामी सरकारमा छौँ । चालू आर्थिक वर्षमा यस क्षेत्रका विकासका लागि प्रदेशबाट विनियोजन भएको बजेटले टेवा पुग्नेछ । म पनि अन्तिम समयमा मन्त्री बनेको हो । चार वर्ष प्रतिपक्षीमा बस्दा चुनावी क्षेत्रको मात्र होइन सिंगो प्रदेशको विकास लागि सधैं आवाज उठाएको छु । विधेयकमा सल्लाह, सुझाव दिएर ऐन कानुन बनाउनु मेरो मुख्य काम हो । यसबाहेक विकास निमार्णमा भूमिका खेलेको छु ।
तपाईंको प्रतिस्पर्धी एमाले हो कि नागरिक उन्मुक्ति पार्टी ?
त्यति ठूलो प्रतिस्पर्धा कसैसँग देखिएको छैन । यहाँबाट अघिल्लो पटक संघको चुनावमा रेशम चौधरीले जित्नु भयो । स्थानीय निर्वाचनमा आइपुग्दा उहाँको भोट घटेको छ । जातीय विभेदमा लाग्नु हुँदैन भनेर थारुहरू जागिसकेका छन् । त्यस्तै गत वर्षको चुनावमा दुई तिहाइको सरकार ढलेपछि नेकपा एमालेप्रति जनताको आकषर्ण देखिदैन । दुई तिहाईको सरकारले आर्थिक विकास गर्ला, जनताको जीवन स्तर उकास्न केही गर्छ होला भन्ने आशा थियो । तर, त्यो निराशामा परिणत भयो । त्यसकारण यसपालि सजिलै जित्छौँ ।
गठबन्धनभित्र एकता छैन । वैचारिक मतान्तरहरू छन् भन्ने सुनिन्छ, के यो कुरा साचो हो ?
छैन । सानोतिनो मतभेद होला । यो फरक विचार राख्ने दलबीचको गठबन्धन हो । विवाद त आफ्नै दलभित्र पनि हुन्छ । तर, त्यसको व्यवस्थापन गरिन्छ । आफ्ना अधिकार सुनिश्चित गर्नका लागि पनि यसपालि लोकतान्त्रिक बाम गठबन्धनले जित्नु पर्छ । गठबन्धनका सहयात्री दलबीच राम्रो समन्वय छ । सबै साथीहरू गम्भिर रुपमा काम गरिरहनु भएको छ ।
अघिल्ला चुनावभन्दा यो चुनावमा के फरक पाउनु भयो ?
०७४ कोभन्दा यसपटकको चुनाव अलि फरक छ । यसपालि सुरुमा हामीलाई व्यवस्थापन गर्न अलि गार्हो भयो । पछि त्यति गार्हो भएन ।
यो जितपछि मुख्यमन्त्रीको लाइनमा हो ?
लाइनमा त पक्कै हो । म जनतालाई मालिक भनेर हिँडेको मान्छे हो । जनताको सेवा गर्न चाहन्छु । यसपालि जनताले हामीलाई जिताउनु भयो भने त्यो दिन पनि टाढा छैन ।
मतदातालाई के अपिल गर्न चाहनु हुन्छ ?
मेरो एउटै अपिल छ । मंसिर ४ को चुनाव गम्भिर अवस्थामा हुँदैछ । सबैले अहिलेको परिस्थितिलाई गम्भिर रुपमा मनन् गरेर गठबन्धनलाई जिताएर स्थायी सरकार निमार्ण गर्नका लागि अपिल गर्न चाहन्छु । स्थायी सरकार बनेपछि जनताको अपेक्षाअनुसार हामी काम गर्ने छौँ । म जनताको सेवकका रुपमा पूर्ण प्रतिबद्ध छु । कुनै लोभ, लालचमा पर्नेवाला छैन । मेरो यो यात्रामा तपाईंहरुको साथ, सहयोग हुनेछ भन्ने पूर्ण आशा छ ।
















घोषणापत्र र नीति तथा कार्यक्रममा अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायात समावेश गर्न माग
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको मृत्यु
Nepal Telecom’s role for economic prosperity laudable: Home Minister Aryal
६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया