संघीय निर्वाचन-२०७९
सके एमालेलाई पछि पार्ने, नसके निर्णायक शक्ति बन्ने माओवादीको रणनीति

काठमाडौंँ। नेकपा माओवादी केन्द्रले ४ मंसिरको चुनावपछि आफ्नो पार्टीलाई सक्दो दोस्रो शक्तिमा बनाउने नभए निर्णायक शक्तिका रुपमा अडिने नीति बनाएको छ । कांग्रेस, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासमेतको गठबन्धनसहित निर्वाचनमा होमिएको माओवादीको अहिले प्रतिनिधिसभातर्फ देशैभर ४५ स्थानमा उम्मेदवार छन् ।
त्यसमध्येको दुई स्थानमा उसले पार्टीका उम्मेदवारको उम्मेदवारी निष्क्रिय बनाएको छ । यसमध्येको काठमाडौँ १० मा नेतृ अञ्जना विसंखे गठबन्धनकै उम्मेदवारसँग मित्रवत प्रतिस्पर्धामा छिन् । माओवादीले गठबन्धनमा भागबण्डा लगाउँदाको रुपन्देही १ मा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई साथ दिएको छ । आफ्नो पार्टीका उम्मेवारको उम्मेदवारी निष्क्रिय बनाएर रौतहट ३ मा एमालेको टिकट गोजीमा राखेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई साथ दिएको छ ।
काठमाडौँ ३ मा उम्मेदवार दिएका बद्री बजगाईंको उम्मेदवारी निष्क्रिय बनाएर माओवादीले गठबन्धनका कांग्रेस उम्मेदवारलाई सहयोग गरेको छ । यसरी हेर्दा अहिले माओवादी चिन्ह्रमै चुनाव लडेका ४३ स्थानमा माओवादीका उम्मेदवार छन् ।
यसमध्ये केहीबाहेक अधिकांशले जित्ने माओवादीको आकलन छ । गठबन्धनको मत सत प्रतिशत टान्सफर हुने र आफ्ना उम्मेदवार कम्तीमा ३५ -३६ जनाले प्रत्यक्षमै चुनाव जित्ने आकलन माओवादीको छ । त्यसो गर्दा समानुपातिकतर्फ यसपटक केही प्रतिशत मत बढाउने र कम्तीमा २५ सम्म समानुपातिकबाट आफ्ना सांसद निर्वाचित गराउने योजना यसपटक माओवादीले राखेको देखिन्छ ।
‘हामीले जम्माजम्मी ४२-४३ स्थानमा मात्रै प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका छौँ, कतिपय जितिने क्षेत्र पनि गठबन्धन निर्माणका लागि अन्य दलको सहजताका लागि छाडेका छौँ, यसो हुँदा हामी यसअगाडिकै हाराहारीमा यसपटक संसदमा हुनेछौँ,’ चुनावी आकलनबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने ।
०७४ सालमा एमाले र माओवादीबीच वाम गठबन्धन बनाएर चुनावमा जाँदा माओवादीले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट जितेको थियो । ‘विगतको त्यही जति सिट त अहिले पनि हामी जित्छौँ,’ प्रचण्डको भनाइ छ, ‘हामीले प्रत्यक्षमा गठबन्धनमा अलिक बढी सिट लिन सकेको भए सहजै हामी दोस्रो शक्ति बन्ने थियौँ, तर पनि हाम्रो कोशिस दोस्रो बन्नेमै छ अहिले, त्यसो भएनौं भने पनि हामी निर्णायक तेस्रो शक्ति हुन्छौँ ।’
एमाले प्रत्यक्षतर्फ माओवादीभन्दा तल झर्ने माओवादीको बुझाइ छ । तर समानुपातिक तर्फबाट एमालेले केही सिट जित्ने र आफ्नो दललाई थोरै संख्याले लिड गर्न सक्ने माओवादीको चुनावी विश्लेषण छ । त्यसो भएमा ०७४ को कांग्रेसको हाराहारीमा यसपटक एमाले खुम्चन सक्ने र आफ्नो पार्टी त्यही हाराहारीमा रहन सक्ने माओवादीको भनाइ छ ।
माओवादीले आफूबिना न कांग्रेस, न एमाले कसैलाई पनि सरकार बनाउन सहज नहुने गरी निर्णायक शक्तिमा रहने गरी पोजिसन निर्वाचन परिणामले दिने विश्वास र आकलन गरेको छ । अध्यक्ष प्रचण्ड, महासचिव देव गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, मातृका यादवलगायतका उम्मेदवारी दिएका धेरै नेताहरुको जित सुनिश्चित जस्तै रहेको दावी गरेको छ ।
माओवादीले सक्दा दोस्रो हुने भनी लिएको लक्ष्यमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि माओवादी दोस्रो शक्ति बन्न सक्ने जिकिर गरेका छन् । तर एमाले अध्यक्ष केपी ओलीले औँला गनेर सार्वजनिक सञ्चार माध्यममा माओवादी यसपटक राष्ट्रिय दल कायम रहने र प्रत्यक्षतर्फ ७ सिट मात्रै जित्ने दाबी गरेका छन् । ओलीको दाबीलाई माओवादीले उनी आफै चुनावमा पराजयको नजिक पुगेकाले हारको मानसिकतामा अन्य दलको जितलाई नजरअन्दाज गरेको बताएको छ ।
‘एमाले आफै औँलामा मुस्किलले गन्ने सिटमा मात्रै जित्ने गरी खुम्चदै छ, त्यस्ता पार्टीका नेताले गरेको पराजित मानसिकताको विश्लेषणमा के टिप्पणी गर्नु ?,’ माओवादीका एक पदाधिकारीले मेरोन्यूजसँग भने, ‘हामी चुनावपछि नै एमालेलाई जवाफ दिन्छौं, हाम्रो पोजिसन कस्तो हो भनेर ।’
माओवादीले कर्णालीमा पहिलो दल नै बन्न सक्ने दाबी गरेको छ । एमाले कर्णाली र सुदूरपश्चिमबाट निल हुने विश्लेषण माओवादी केन्द्रको छ ।

















अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
प्रतिक्रिया