सेवालाई प्रभावकारी बनाउँदै जलेश्वर अस्पताल

बर्दिवास । महोत्तरीको सदरमुकाम जलेश्वरमा राणाकालमै स्थापना गरिएको जिल्ला अस्पतालले प्रादेशिक अस्पताल भएसँगै आफ्नो सेवासुविधा प्रभावकारी बनाउन थालेको छ ।
विगत एक दशकदेखि दक्ष जनशक्ति, औजार उपकरणको कमी, विशेषज्ञ चिकित्सकको अभाव र अन्य स्रोतसाधनको अभावमा समान्य बिरामीलाई समेत अन्यत्र सिफारिस गर्दै आएको जलेश्वर अस्पतालले अहिले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न थालेको छ ।
एउटा बिरामीका लागि चाहिने प्रत्येक क्षेत्रका डाक्टर, विभिन्न किसिमका जाँचको सुविधा र अधिकांश औषधिसमेत अहिले अस्पतालमा नै पाउन थालेपछि उपचारका लागि जलेश्वर अस्पतालमा पुगेका सेवाग्राही खुसी देखिएका छन् ।
काठमाडौँको वीर अस्पतालसँगै एकैदिन राणाकालमा जिल्ला अस्पतालका रुपमा स्थापना गरिएको यस प्रादेशिक जलेश्वर अस्पतालका भौतिक संरचना फेरिएका छन् । यस अस्पतालमा ठूलो तीनतले भवन बनाइएको छ । यहाँ विभिन्न अत्याधुनिक उपकरण छन् । बिरामीको चापअनुसार विशेषज्ञ चिकित्सक नहुँदा स्वास्थ्य सेवा लिन समस्या भइरहेका बेला प्रदेश सरकारले करिब दुई महिना पहिले करारमा दक्ष जनशक्ति भर्ना गरेपछि कुनै पनि बिरामीलाई अन्य अस्पताल सिफारिस गर्ने बाध्यता हटेको अस्पतालका प्रमुख डा सतिश साहले बताए ।
जिल्लाको सात लाख जनसङ्ख्यालाई विभिन्न स्वास्थ्य सेवा दिँदै आइरहेको महोत्तरीकै सबैभन्दा पुरानो अस्पतालप्रति यहाँका बासिन्दामा आशा भरोसा जागेको छ । मधेस–प्रदेश सरकारले यस अस्पतालमा चिकित्सक अभाव रहेका बेला ३५ जना दक्ष जनशक्ति भर्ना गरेपछि अहिले अस्पतालमा उपचार गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ ।
यस अस्पतालमा हाडजोर्नी विशेषज्ञ, बालरोग विशेषज्ञ, महिला तथा प्रसूती रोग विशेषज्ञ, जनरल फिजिसियन, जनरल सर्जनलगायत आठ विशेषज्ञ चिकित्सकसहित ३५ जनालाई मधेस प्रदेश सरकारले करारमा भर्ना गरेपछि रेफर अस्पतालका रुपमा परिचित यस अस्पतालको मुहार फेरिएको छ ।
त्यस्तै यस अस्पतालमा ल्याबतर्फ थाइराइड जाँच, लिपिड प्रोफाइल, सोडियम, पोटासियम, एलएल एसपी, आरएसपी, मधुमेह र विभिन्न किसिमका रगतको जाँचका साथै यस अस्पतालमा अक्सिजन प्लान्ट र २४ घण्टे एम्बुलेन्स सेवा विस्तार भएसँगै अब अस्पतालमा सेवाग्राहीले सबै सेवा प्राप्त गर्न थालेका छन् । सेवाग्राहीले अस्पतालकै ल्याबमा सबै परीक्षण पाउन थालेपछि बाहिर चर्को मूल्य तिरेर जाँच गराउनुपर्ने बाध्यतासमेत हटेको छ ।
यसरी अस्पतालमा पर्याप्त भौतिक संरचना, विशेषज्ञ डाक्टर तथा दक्ष चिकित्सक र सुविधा सम्पन्न ल्याब भएपछि अस्पतालमै सबै प्रकारको जाँच गराउन तथा विभिन्न रोगको उपचार गराउन आउने रोगीको सङ्ख्या पनि वृद्धि भएको र अब यो अस्पतालको सेवासुविधामा कुनै कमी नहुने अस्पताल प्रशासनले जनाएको छ ।
विभिन्न सेवासुविधाले काँचुली फेर्न थालेको जलेश्वर अस्पताललाई जलेश्वर नगरपालिकाले समेत आवश्यक सहयोग गर्र्ने नगरप्रमुख सुरेश साह सोनारले बताउनुभयो । मधेस प्रदेश सरकारले गरेको चिकित्सक भर्नाका कारण सरकारी अस्पतालप्रति सेवाग्राही आकर्षित हुन थालेको ल्याब टेक्नीसियन गेनु राउतले बताए ।
अहिले अस्पतालमा विभिन्न रोगका पर्याप्त निःशुल्क औषधि उपलब्ध रहेका कारण बिरामीलाई उपचार र औषधिमा निकै सहजता महसुस भइरहेको अस्पतालका स्टोर प्रमुख भाग्यनारायण झाले बताए ।
















बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
सन नेपाल लाइफको सहकार्यमा छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुँदै
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया