बिहीबार, माघ १५, २०८२

कैदीबन्दीको सेवा सुविधा बढ्यो, दैनिक भत्तासमेत वृद्धि

मेरोन्यूज २०७९ पुष १९ गते १४:३४

काठमाडौँ । सरकारले कैदीबन्दीको नगद र लत्ताकपडा सुविधा बढाउने भएको छ । कारागार नियमावली २०२० संशोधन गरी सरकारले कैदीबन्दीले पाउने नगद भत्ता वृद्धि गर्ने भएको हो । यस्तै, लत्ताकपडा सुविधा पनि वृद्धि हुने भएको छ ।

यसअघि कैदीबन्दीले दैनिक ६० रुपैयाँ भत्ता पाउँदै आएका थिए । संशोधित नियमावली अनुसार अब ८० रुपैयाँ भत्ता पाउने भएका छन् । यस्तै, ७ महिनादेखि नाबालक उमेर समूहकालाई दैनिक ३५ रुपैयाँ दिइँदै आएकोमा बढेर ५० रुपैयाँ पुगेको छ ।

कारागारमा रहेका महिला सुत्केरी भए पाउँदै आएको एक हजार रुपैयाँ सुत्केरी भत्ता बढेर दुई हजार रुपैयाँ पुगेको छ । यसैगरी मौसम अनुकुल हुने गरी कैदीबन्दीलाई चिसोबाट बच्न ज्याकेट पाउने भएका छन् ।

हरेक २ वर्षमा ३-३ केजीका सिरक र डसना पाउँदै आएकोमा अब ५-५ केजीका कपासबाट बनेका सिरक र डसना वा उक्त मूल्य बराबरको पैसा पाउने भएका छन् ।

हाल देशभर ७४ कारागार र आठ बालसुधार गृहमा कैदीबन्दीको संख्या करिब २७ हजार रहेको छ ।

प्रतिक्रिया