शुक्रबार, माघ १६, २०८२

नेपाली नागरिकता लिन खोज्ने भारतीयसहित युवक पक्राउ

मेरोन्यूज २०७९ पुष २९ गते १९:२५

काठमाडौँ । नेपाली नागरिकता बनाउन खोज्ने एक जना भारतीय नागरिकसहित एक जना रुकुमेली पक्राउ परेका छन् ।

भारतको हिमाञ्चल प्रदेशको सिम्ला घर भएका अन्दाजी ३० वर्षीय गणेश नेपाली भनेर चिनिने व्यक्ति र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १० का २६ वर्षीय मोतिराम मल्ल पक्राउ परेका हुन् । 

उनीले स्थानीय रत्ने दमाइलाई रक्सी खुवाई झुक्याएर नागरिकता बनाउन खोजेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए ।

दमाइलाई रक्सी खुवाएर पूर्णबहादुर नेपालीको छोरा भन्न लगाई बाँफिकोट गाउँपालिका १० को कार्यालयमा जन्मदर्ता गरी नागरिकताको प्रमाणपत्रका लागि सिफारिस बनाउन लगाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको श्रेष्ठले बताए । 

पौष २५ गते वडामा जन्मदर्ता गरी नागरिकता सिफारिसका लागि उनीहरू पुस २६ गते जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार शंकास्पद लागेपछि सोधपुछ गर्दा गणेश नेपाली भनिने व्यक्ति भारतीय नागरिक रहेको पत्ता लागेको थियो ।

उनलाई नेपाली नागरिकताका लागि मोतिराम मल्लले सहयोग गरेको खुलेको थियो । त्यस्तै, बाबु भनेर उल्लेख गरिएका पूर्णबहादुर नेपालीको मृत्यु भइसकेको पाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । 

उनीहरूविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नागरिकताका सम्बन्धमा कडाई गरिरहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए ।

प्रतिक्रिया