आइतबार, माघ १३, २०८१

जहाज दुर्घटनाः माधव नेपालले फोन गरे, मदनकाजीको वाक्य फुटेन

मेरोन्यूज २०७९ माघ २ गते २०:२१

काठमाडौँ । परिवारलाई सान्त्वना दिन आज दिउँसो नेकपा एकीकृत समाजवादीका नेता र स्थानीयबासीको भीड थियो, पोखराको गणेशटोलस्थित मदनकाजी श्रेष्ठको घरमा ।

Advertisement

बैठक कोठाको ‘लोबेड’मा सुतिरहेका श्रेष्ठको आँखाबाट आँसु बगिरहेको देखिन्थ्यो । छिनछिनमा गम्छाले आँसु पुछिरहेको दृश्यले त्यहाँ पुग्ने अधिकाशंको आँखा पनि रसाइरहेको थियो ।

त्यही समयमा सान्त्वना दिनका लागि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले उनको मोबाइलमा फोन गरे । तर, पहिलो पटक श्रेष्ठको फोन उठेन । पुनः अर्को पटक फोन गरे । श्रेष्ठले दोस्रो पटकको फोन उठाए । तर, श्रेष्ठको वाक्य स्पष्ट हुनै सकेन ।

उनी छिनछिनमा नाति, छोरा र बुहारीलाई सम्झिएर भक्कानिन्छन् । विभिन्न रोगसँग लड्दै आएका श्रेष्ठलाई आइतबार पोखरामा भएको जहाज दुर्घटनाबाट परिवारमा परेको बज्रपातले झनै कमजोर बनाएको छ ।

उनका कान्छा छोरा, बुहारी र १५ महिने नातिको पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परेर निधन भएको छ । परिवारसँग बसेर खुसीसाथ माघे संक्रान्ति मनाउने सपना बोकेर काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटिआर दुर्घटनाले मदनकाजीका कान्छा छोरा ३८ वर्षीय डा. सुशील श्रेष्ठ, बुहारी डा. सोना श्रेष्ठ र १५ महिने नाबालक नातिको सपना अधुरै बन्यो ।

अनुशासित डा. सुशील र उनकी पत्नी र छोराको निधनले गाउँ नै शोकमा डुबेको छिमेकी कृष्णमान पालिखेले बताए । “सबैलाई सम्मान र अनुशासित व्यक्तिको निधनले समाज र गाउँलाई नै टुहुरो बनाउँदो रहेछ”, उनले भने, “भुल्छु भन्दा पनि उनीहरूले आफूप्रति गरेको माया र सम्मानलाई भुल्नै सक्दिनँ ।”

एकीकृत समाजवादीका नेता मदनकाजी पनि सामाजिक सेवामा दिनरात खटिने र छोरा सुशील पनि सरल स्वभावका थिए तर दुर्घटनाले परिवार नै समाप्त पारिदियो । सुशीलकी आमा पनि अर्धचेत अवस्थामा हुनुहुन्छ, घरिघरि छोरा बुहारी र भरभराउने नातिको सम्झना आइरहन्छ उनलाई ।

उनीहरू तीन जनाकै शव फेला परिसकेको छ तर शवहरू क्षतविक्षत अवस्थामा छन् । दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत थिए श्रेष्ठ । डा. सोना पनि एमडी गर्दै थिइन् ।

डा. सुशीलले काठमाडौँ मेडिकल कलेजबाट एमबिबिएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका थिए ।

तीनै जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको छ । मङ्गलबार मात्र शव बुझाउने तयारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको छ ।

आज मृतकका आफन्तहरू दिनभर शव प्राप्त गर्ने प्रतीक्षामा अस्पतालमा बसेको भए पनि शव प्राप्त गर्न नसक्दा निराश भएर फर्किएका छन् । शल्य परीक्षण ढिला हुँदा मृतकका आफन्तले आज शव बुझ्न सकेका छैनन् ।

प्रतिक्रिया