सम्भोगको जन्म !

‘समभोक’मा तीन नारी पात्रको बलियो उपस्थिति छ । जबरजस्त हस्तक्षेप पनि छ ।’ प्रोटागनिष्ट’ को हो त ? पाठकले नै खोज्नु पर्ने छ । अमेरिकालाई कर्मथलो बनाएका लेखक शिव प्रकाशको हालै बजारमा आएको पुस्तक ‘समभोक’को पुस्तक अंश हामीले यहाँ पस्किएका छौँ ।
‘कसैले नदेखेको गुलाफका फूल देख्छ आज ईशूले ।’
‘हुँऽ’ भन्दै टाउको बङ्ग्याउँछे, ‘तोरीका फूल धेरैले देखिसकेका छन् । हिजैमात्रै पनि देख्यो । आज गुलाफका फूल !’ सिन्धुकाको मन ईशूले अझै पढ्न सकेको छैन । उसको मौन–ध्यान लम्बिरहेको छ ।
सधैँजस्तो आज पनि सिन्धुका बिहानै उठ्छे, नुहाउँछे । एकछिन पूजापाठ, ध्यान–साधनामा बस्छे । सबै कुरा उस्तै छ । तर सिन्धुकाको मन आज उस्तै छैन ।
चिया पिउँछे । ओछ्यान मिलाउन जान्छे । ईशूको सिरानीमुनि एउटा डायरी भेट्टाउँछे । पल्टाउँछे । हरेक पानाका दुईचार हरफ पढ्दै जान्छे, पल्टाउँदै जान्छे ।
एउटा पानामा आँखा टक्क रोकिन्छन् । ती आँखा बिस्तारै हरेक हरफमा हिँड्न थाल्छन् । पढिसक्दा आँखाका आँखीभौँ जोडिन्छन् । चकित हुन्छे । छक्क पर्छे ।
जतनले च्यात्छे । जतनले पर्समा राख्छे ।
अर्को पाना पल्टाउँछे, ‘अमेरिकामा नाम छैन, काम छ । नेपालमा काम छैन, नाम छ । काम नहुनेको झन् बढी नाम छ । काम गर्दागर्दै आफ्नै नाम बिर्सने ठाउँ हो, अमेरिका ।’ दोहो¥याई तेहोे¥याई पढ्छे । ईशूको बिर्सने बानीसँग उठेको रिस त्यही मर्छ ।
ओछ्यानमा ईशू छैन । ईशू बिहानै उठेर काममा गइसकेको छ ।
ईशू कामबाट फर्कदा झमक्क साझँ हुन्छ ।
लोग्ने स्वास्नीसँग गर्ने कुरा सधैँ हुन्छन् । तर आज सबै सकिएजस्तो लागिरहेको छ । सिन्धुकाले धेरै कुरा मनमा जमाएर राखेकी छे । सोच्दैछे, कहाँबाट मूल फुटाऊँ ? रूपरसिक ईशूको रस चुहिन छाडेको छ ।
ओछ्यानमा जान्छन् । ओछ्यान उनीहरूका लागि प्रेम–प्रणयको परेड खेल्ने ठाउँमात्र होइन, बुद्धिविलासको अखडा पनि हो ।
दुवै ओछ्यानमा पल्टिएका छन् सधैँजस्तै । तर हिजोदेखि बोलीचालीमा बिर्को लागेजस्तै भएको छ ।
‘धेरै कुराले हामीलाई बाँडेका छन् । धेरै कुराले हामीलाई जोडेका छन् । जति कुराले बाँडेका छन्, तीभन्दा धेरै कुराले हामीलाई जोडेका छन् ।’ ईशूको मन बोल्छ तर मुख डराउँछ । चस्माको डाँडीमाथिबाट पुलुक्क हेर्छ । आँखामा पावरदार चस्मा लगाएको छ । मनको पावर बढाउने केही छैन ।
ऊ ल्यापटपमा जीवन–दर्शन पढ्न थाल्छ । तर आज पढ्दै छ के भन्नु, पढेजस्तो गर्दैछ । हेर्दै छ । कहिल्यै नबुझिने र कसैले नबुझेको कुरा । प्रायःजसो यस्तैयस्तै पढ्छ । सिन्धुकाका आँखा ठोक्किन्छन् ।
‘के पढेको ?’ नदेखेजस्तो गरी मनको बिर्को खोल्छे सिन्धुका ।
‘फाल्तु कुरा !’
‘किन पढेको त ?’
‘समय फाल्तु भएर ।’
‘ल समयको सदुपयोग गर ।’ एउटा प्रश्न गर्छे, ‘जीवन मर्नका लागि हो कि बाँच्नका लागि ?’
‘थाहा छैन । यहाँ लेखेको छैन ।’ नेपाली शब्दको डिकोजस्तो सीधा जवाफ दिन्छ, ‘सायद कसैलाई थाहा छैन ।’
‘त्यसो भए जीवन मर्न बाँकी छ कि बाँच्न बाँकी छ ?’
‘त्यो पनि थाहा छैन । त्यो पनि यहाँ लेखिएको छैन ।’
‘के बाँकी छ त ?’
‘खुशी हुन बाँकी छ ।’
‘खुशी हुन चाहन्छौ ?’
‘को चाहँदैन ?’
‘खुशी कसरी हुन्छौ ?’
‘असल स्वास्नी पाए मान्छे खुशी हुन्छ, नपाए दार्शनिक बन्छ ।’ ऊ एरिस्टोटल सम्झन्छ । सिन्धुकातिर पुलुक्क हेर्छ ।
उल्कातारा खसेजस्तो जवाफ दिन्छे, ‘लोग्ने दार्शनिक भए स्वास्नी कि साधु हुन्छे, कि रन्डी !’
पर्लक्क पल्टिन्छन् ईशूका आँखा । छक्क पर्छ । अक्क न बक्क अनुहारले हेरिरहन्छ । उसको अहंकार भित्रभित्रै पानीपानी हुन्छ । मनमनै भन्छ, ‘सिन्धुकासँग सिक्न अझै धेरै बाँकी छ ।’
बाहिर कमलो देखिने सिन्धुकाभित्रको अररो निकाल्छे । अग्राखको चुरोजस्तै अररो ! ऊ पनि मनमनै भन्छे, ‘तिमी लोग्नेमान्छेहरूको नटबल्टु बेलाबेला टाइट गर्नुपर्छ ।’ भित्रभित्रै खुशी हुन्छे ।
‘ल, खुशी हुने भए आँखा चिम्ल ।’ भित्री हाँसो निकाल्छे सिन्धुका । तीनछक पर्छ ईशू ।
‘दुइटै ?’ ईशू ङिच्च दाँत देखाउँछ ।
‘आँखो हैन, आँखा ! दुइटै छन् नि, हैन ?’ सिन्धुका दाँत किट्छे ।
आज्ञाकारी टाउको हल्लाउँछै आँखा चिम्लन्छ ।
‘अब कान खुला राख । वकोध्यानम् भएर सुन ।’
‘ओके’ भन्छ । ज्ञानी बालकजस्तो हुन्छ ।
सिन्धुकाले पर्सबाट एक पाना कागज निकाल्छे । मधुर शैलीमा पढ्न थाल्छे ।
‘प्रिय सिन्धुका !
मैले तिम्रा लागि प्रिय शब्द मात्र प्रयोग गरेँ । अरू धेरैले धेरै शब्द प्रयोग गर्छन् । हुन त धेरैले गरेको मलाई गर्न मन लाग्दैन । तर मलाई प्रिय शब्द फगत आत्मीय मात्र होइन, सम्मानित पनि लाग्छ । त्यसैले सादर सम्मान ! सादर स्वागत !
तिमीले कुनै दिन रूखको कुरा गरेकी थियौ । म त्यही रूख भएर बसेँ । त्यही रूख भएर बाँचेँ । त्यही रूख भएर घाम–पानी, स्याँठ–‘सन्नटा’ सहेँ । तिमी नहुँदा एउटा एकान्तको एक्लो रूख भएर उभिएँ । कहिलेकाहीँ ढल्न खोज्थेँ, फेरि आफूलाई उभ्याउँथेँ ।
सिन्धुका !
रूखको पनि सन्तान हुन्छ । रूखको पनि परिवार हुन्छ । रूखको पनि समाज हुन्छ । रूखको पनि शरीर हुन्छ । रूखको पनि सास हुन्छ । रूखको पनि आत्मा हुन्छ । रूखलाई पनि दुख्छ । रूखलाई पनि भोक लाग्छ । रूख पनि बोल्छ । आफ्नासँग बोल्छ । हामी सुन्दैनौँ । हामी ठान्छौ, रूख बोल्दैन । तर आफ्नाले सुनिरहेका हुन्छन् ।
मेरा त आफ्ना पनि थिएनन् । कोसँग के बोल्नु ?
परिवार र समुदायका रूख बलिया हुन्छन्, समुदायका मान्छेजस्तै धेरै समय बाँच्छन् ।
तर एकान्तका रूख …! एक्ला रूख …! सडकका बेवारिसे बालकजस्तै हुन्छन् । असुरक्षित, कमजोर, हतास, उदास र बाङ्गाटिङ्गा ।
जङ्गलमा एक्लै बसेको मान्छे र शहरको एउटा कुनामा एक्लै उभिएको रूख एकै हो । समुदायको मान्छेभन्दा जङ्गलको मान्छे छिट्टै मर्न सक्छ । शहरको एक्लो रूख पनि त्यस्तै हो, मान्छेजस्तै छिट्टै ढल्न सक्छ ।
तर म अहिले जङ्गलको रूख भएको छु । परिवारको बीचमा उभिएको छु । बलियो भएको छु ।
उही
रूखजस्तै तिम्रो मान्छे …
–––––––––––––
त्यसपछि एकछिन एउटा गहिरो शून्यता छाउँछ ।
ईशूका आँखा भित्रभित्रै टिलपिल हुन्छन् । बिस्तारै आँखा खोल्छ । सिन्धुकाका आँखा पनि रसाउँछन् । हेरेको हे¥यै हुन्छन् दुबै । दुवै मुसुक्क हाँस्छन् । फेरि निकैबेर आँखामा आँखा मिसिन्छन् ।
चिठीजस्तो यो एउटा सानो चपेटो सिन्धुकाका लागि लेखेको थियो । सिन्धुका अमेरिका आउँदा आउँदै सुनाउँछु भनेर । तर मेरो मनको घाउ कोट्याए उनलाई पनि दुख्न सक्छ भन्ठान्यो, सुनाएन । डायरीमै सुतिरहेको थियो ।
‘सिन्धुका, एक पेग लिऊँ ?’ ङिच्च गर्दै सोध्छ ईशू ।
‘पर्दा खस्न अझै बाँकी छ ।’ सिन्धुकाका ठूला आँखा झन् ठूला हुन्छन् ।
‘मतलब ?’
‘अर्को आइटम बाँकी छ ।’
‘के गराँै त अब ?’
‘तिमीले केही गर्नु पर्दैन, मै गर्छु !’ विस्फारित आँखाले हेर्छे । मुसुक्क हाँस्छे ।
ईशू लाटोकोसेराका जस्ता आँखाले हेरिरहेको छ । पर्सबाट अर्को पानो निकाल्छे । उस्तै मधुर आवाजमा पढ्न थाल्छे ।
त्यो क्षण !
त्यो क्षण,
तिम्रा हेराइले
मेरो बाटो छेकिरहेका थिए
तिम्रा बोलाइले
मलाई रोक्न खोजिरहेका थिए
तर मेरा बाध्यताले
मलाई लगातार धकेलिरहेका थिए ।
त्यो क्षण,
तिम्रा ती कोमल स्पर्शले
मलाई निरन्तर तानिरहेका थिए
मायाका ती बन्धनले
मलाई भित्रभित्रै कतै बाँधिरहेका थिए
तर मेरा अप्ठ्याराले
मलाई तिमीबाट अलग्याइरहेका थिए ।
त्यो क्षण,
तिम्रा स्पन्दनले
मेरो ढुकढुकी बढाइरहेका थिए
तिम्रा ती अव्यक्त पीडाले
मलाई अभ्यन्तरमा स्तब्ध बनाइरहेका थिए
तर मेरा विवशताले
मलाई नै बारम्बार लखेटिरहेका थिए ।
त्यो क्षण,
तिम्रो मुहारका ती मलिन भावले
मलाई कताकता सताइरहेका थिए
रसाएका तिम्रा ती आँखाका पानीले
मलाई भित्रभित्रै भिजाइरहेका थिए
तर तिम्रा ती बलिया हौसलाले
मलाई जीवन–सङ्घर्षको पथमा घँचेटिरहेका थिए ।
त्यो क्षण,
तिमीले दुःख लुकाएर सुख देखाएको
पीडा लुकाएर हाँसो मुस्कुराएको
तिम्रा ती सचेत भाव
मैले सबै बुझिरहेको थिएँ
तर बिदाइको त्यो क्षणमा
म पनि तिमीजस्तै अबुझ भइदिएँ ।
पन्ध्र वर्षअघि ईशूले लेखेको कविता ! उसले बिर्सिसकेको थियो । सिन्धुकाले सम्हालेर राखेकी थिई । उसको चिनाटिपन सम्हालेजस्तो । आज सुनाई ।
ईशू फेरि हेरेको हे¥यै भयो । सुनेको सुन्यै भयो । दुवैका आँखा फेरि रसाए । दुवै भावनामा बगे । फेरि एकछिन गहिरो मौनता छायो ।
सिन्धुका मुस्कुराउँदै ईशुका दुवै काँधमा हात राख्छे । आँखामा आँखा मिसाउँछे । निकैबेर एकटकले हेर्छे । ओठ खोल्छे, ‘देख्यौ, गुलाफका फूल ?’
‘देखेँ । तिम्रा आँखामा ।’
हेर्दाहेर्दै ईशूका आँखा बन्द भए । बन्द आँखाले ऊ सिन्धुकालाई नै हेरिरहेको छ । सागरभन्दा शान्त, शीतल र सौम्य देख्छ सिन्धुकालाई ।
सिन्धुकाका उज्याला आँखाले ईशूलाई हेरिरहेका छन् । मन बोलिरहेको छ, ‘धेरै मान्छे उज्यालोमा मात्र हिँड्छन् । तर अँध्यारोमा पनि हिँड्न पनि बाध्य हुन्छ मान्छे । अँध्यारोमा पनि बाँच्न बाध्य हुन्छ मान्छे । जीवनको अँध्यारोलाई पनि मैले स्वीकार गर्नुपर्छ ।’
त्यही मनले फेरि सम्झन्छ, ‘मानिसको आधा जीवन त अँध्यारोमै बितेको हुन्छ । अँध्यारोमै मान्छेले बत्तीको सहारा लिन्छ । मबाट टाढा हुँदा ईशूले एउटा टुकीको सहारा लियो । त्यसलाई मैले अपराध मान्नुहुँदैन । जीवनका केही अँध्यारा रात उसले टुकीको उज्यालोमा बितायो । ऊ खुशी भयो । र, त आज ऊ छ, म छु, छोरो छ । हाम्रो भागको एउटा संसार छ । हरियो जङ्गलको सानो टापुजस्तो सानो संसार । मैले यसलाई स्विकार्नु पर्छ । प्रेम यही हो । हो, प्रेम वस्तु हैन, देखाइँदैन । प्रेम त ईश्वर हो, भाव र भावनामा हुन्छ । विश्वासमा हुन्छ । मैले त्यो सगरमाथा चढ्नैपर्छ । जीवनको सबैभन्दा अग्लो सगरमाथा, क्षमाको सगरमाथा ।’
मनको बोली ईशूलाई सुनाउन मन लाग्छ तर सुनाउँदिन, ‘ईशूले भोग मेट्यो, भोग ग¥यो तर सम्भोग गरेको छैन । लोग्ने–स्वास्नीको जीवनको साँघु हो, सम्भोग !’
‘सिन्धुका, तिम्रो त्यो प्रश्न ?’ हाँस्दै सोध्छ ईशू ।
‘कुन प्रश्न ?’
‘सौता बनेर मस्तिष्कमा गाडिएको प्रश्न ?’ फेरि हाँस्दै बोल्छ ईशू ।
‘मैले उत्तर पाइसकेँ ।’ हाँस्दै जवाफ दिन्छे सिन्धुका ।
‘तर सिन्धुका, तिमी किन सधैँ अप्ठ्यारोबाट सुरु गर्छौ ?’ मेरो अन्तिम प्रश्न भन्छ । गहिरो प्रश्न गरेँ भन्ठान्छ ।
‘बानी !’ सजिलो जवाफ दिन्छे सिन्धुका । मज्जा आयो भन्दै झन् मज्जाले हाँस्छे ।
‘बाटो हिँड्दा दुवैतर्फ हेर्नुपर्छ । सबै सुर मिलेपछि सुमधुर सङ्गीत बन्छ । सुमधुर सङ्गीतभन्दा आनन्द के हुन्छ ? जीवनको त्यही आनन्दमय सुमधुर सङ्गीत हो, सम्भोग । दुवैको सुर मिल्नुपर्छ ।’
डायरीको पहिलो पाना खाली थियो । सिन्धुकाले भरिदिन्छे ।
लेखक शिव प्रकाशको हालै बजारमा आएको पुस्तक ‘समभोक’बाट









पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल
माछा मार्न गएका ताजपुरियाको मृत्यु
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया