भाग्यले बाँचेका रक्षा मन्त्री उप्रेती, जो अप्रेसनपछि चुनावमा होमिएका थिए

काठमाडौँ । मन्त्रिपरिषद दोस्रो पटक विस्तार हुँदै थियो । मन्त्री बन्नेको नाम लिस्ट पार्टीले तय गरिसके पनि नेकपा एमालेका नेताहरूले त्यसको सुँईको पाएका थिएनन् ।
कसले कुन मन्त्रालयको जिम्मेवारी पाउँदैछ । त्यो गोप्य राखिएको थियो । सपथ ग्रहण समारोहमा दौरा सुरुवाल लगाएर बसेका सर्लाही ३ बाट निर्वाचित हरिप्रसाद उप्रेती त्यो बेला झसङ्ग भए । जब उनको नाम रक्षा मन्त्रीमा आयो ।
नेकपा एमाले र माओवादी केन्द्रबीच जसरी एकाएक गठबन्धनपछि सरकार गठन भयो, उप्रेतीको नाम भावी मन्त्रीका रुपमा हल्ला चलिरहेको थियो । तर, कुन मन्त्रालय पाउने भन्ने निर्णय भइसकेको थिएन । हुन त सर्लाही ३ बाट संघीय चुनावमा निर्वाचित भएका उप्रेतीको जित पनि नसोचेकै तरिकाले भयो ।
पाँच दलीय बलियो गठबन्धनका उम्मेदवारलाई हराएर जसरी उनले जित हासिल गरे । त्यो छक्क पार्ने खालको थियो । कडा प्रतिस्पर्धाबीच अहोरात्र खटेर उनले आफ्ना पक्षमा जित निकाले ।
५५ वर्षीय नव नियुक्त रक्षा मन्त्री हरि उप्रेती स्वयं पनि यस पटकको चुनावमा जित्नेमा ढुक्क थिएनन् । एकातिर पाँच दलीय गठबन्धन शसक्त ढंगमा चुनावी प्रचारमा थियो । उता विपक्षीको आक्रामक प्रचारप्रसार अभियान तीव्र रुपमा अघि बढ्दै थियो ।
यता एमालेबाट टिकट पाएका उप्रेती भने बिरामी भएर अस्पतालको शैयामा पल्टिरहेका थिए । उनको प्याङ्क्रियाजमा समस्या थियो । गल्ब्लाडरमा पत्थरी जमेको थियो । वीर अस्पतालमा उनलाई आइसियुमा राखिएको थियो । आइसियुमै उनको अप्रेसन चलिरहेको थियो । डाक्टरहरूले धेरै नबोल्न र आरा मगर्न सल्लाह दिइराखेका थिए । तर, राजनीतिमा रस बसिसकेका उप्रेतीको मन यत्तिकै कहाँ चुपचाप बस्न मान्थ्यो र ?
उप्रेती वीर अस्पतालबाट निस्किएर सीधै आफ्नै जिल्ला सर्लाही हानिए । क्षेत्र नम्बर ३ मा राजनीतिक सरगर्मी निकै बढिसकेको थियो । पाँच दलीय गठबन्धन चुनावी प्रचार–प्रसारलाई तीव्रता दिँदै थियो । चुनाव जित्ने लगभग ढुक्क अवस्थामा रहेको गठबन्धनसँग टक्कर लिनु उनका लागि निकै चुनौतिपूर्ण थियो । तर, उनले आफ्नो कर्म छोडेनन् ।
जनताहरूसँगको सम्बन्ध, निरन्तर भेटघाट, कार्यकर्तासँग उठबस र परिचालनलाई परिपक्व ढंगले अघि बढाए । विपक्षी पार्टीका समर्थक र मतदाताहरूलाई विश्वास दिलाए । राजनीतिक व्यक्ति र अघिल्ला चुनावहरूमा पनि भाग लिइसकेको हुनाले उनी अनुभवी थिए । चुनाव जित्न सक्दो कोशिस गरे ।
सर्लाही ३ मा यसपालि नेकपा माओवादी केन्द्रका उम्मेदवारले टिकट पाएका थिए । अघिल्ला वर्षका प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेसका स्थानीय नेताहरूले टिकट पाउने अपेक्षा गरे पनि पाएका थिएनन् । कांग्रेसका नेता, कार्यकर्ता निरास बनेका थिए ।
तैपनि, कांग्रेसले इमानदारीतापूर्वक पार्टीको निर्देशन बमोजिम नै काम गरिरहेको थियो । तर, गठबन्धनमा सहभागी अन्य दलका नेता, कार्यकर्ताबीच एकप्रकारको बैमनस्यता देखिन्थ्यो । आफूले टिकट पाउने अपेक्षा गरेका असन्तुष्ट आकांक्षीले गठबन्धनका उम्मेदवारलाई जिताउनुको सट्टा एमाले जसपाका उम्मेदवार उप्रेतीलाई भोट हाल्ने निष्कर्षमा पुगे ।

नभन्दै सर्लाही ३ बाट उप्रेतीले प्रतिनिधिसभाको चुनावमा जित हासिल गरे । उनले ३२ हजार ९३८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नरेन्द्र साह कलवारले ३२ हजार १६८ मत पाए । बिरामी अवस्थामा बलियो आँट नगरेका भए उनलाई यो जित हासिल गर्न सहज हुँदैनथ्यो ।
किसान परिवारमा हुर्किएका उप्रेती, जो पेस्तोल आक्रमणमा परेर बाँचेका थिए । रक्षा मन्त्री उप्रेती सर्लाहीको पिपराभित्ताको एक किसान परिवारमा जन्मिएका हुन् । उनका बुबाले पढ्ने मौका पाएनन् । विशुद्ध किसान । तर, बुबा सामाजिक कार्यमा संलग्न भइरहन्थे ।
किसान परिवारमा गरिबीले छाडेको थिएन । जनआन्दोलनपछिको समयमा पनि तराईंमा सशस्त्र समुहहरूले आतंक मच्चाइरहन्थे । उप्रेतीको घरमा तीनपटक डाँका लागे । घरमा भएका सरसामानहरु लुट्पाट गरे ।
एकपटक उप्रेतीका बुबालाई सशस्त्र समूहले अपहरण गरे । घरको किचेनमै पसेर बुबालाई कञ्चटमा एके ४७ हतियार तेस्र्याएर अपहरण गरेको उनी कहिल्यै भुल्दैनन् । त्यसबेला न्यौपाने थरका एक शिक्षकलाई पनि अपहरण गरिएको थियो ।
तीन दिनसम्म गायब गरिएपछि बल्लतल्ल छुटाइएको थियो । पटक पटक यस्तै घटनाहरु दोहोरिएपछि उप्रेतीले घर नजिकै सशस्त्र बेस क्याम्प खडा गरे ।
त्यसो त स्वंय उप्रेतीलाई पनि सशस्त्र समूहले एकपटक अगाडिबाटै निधारमा पेस्तोल प्रहार गरिएको थियो । ‘म¥यो भनेर छोडेर गएका थिए,’ उनले त्यो क्षण सम्झिए, ‘पछि ती व्यक्ति पक्राउ परे ।’ रोचक त के छ भने जसले आफूलाई गोली प्रहार गरे, तिनै व्यक्तिलाई उप्रेतीले जेलबाट छुटाए । मलाई सुध्रिन दिनुहोस् भनेर माफी मागेपछि उनले माफी दिएर छुटाई दिएछन् ।
सधैँ घाटाको राजनीति गरेका उप्रेती
अभिनेता निखिल उप्रेती रक्षा मन्त्री हरिका आफ्नै भाइ हुन् । चर्चित अभिनेता निखिलको नजरमा दाइ हरिले सधैँ घाटाको राजनीति गरे । नाफा कमाउनतिर कहिल्यै नलागेको, बरु भएको सम्पत्ति बेचेरै आफ्नो दाइ राजनीतिमा होमिएको निखिलले सुनाए ।
सरस्वती बहुमुखी क्याम्पस, लेखनाथमार्ग, ठमेलबाट बिकम गरेका रक्षा मन्त्री उप्रेतीको राजनीतिक जीवन त्यहींबाट सुरु भयो । एक छोरा र एक छोरीका पिता उनले अखिलको राजनीति सरस्वतीबाटै सुरु गरे । त्यसो त २०३७ सालमा सर्लाहीको हरिवनस्थित चर्तुभुजेश्वरबाट अनेरास्ववियुबाट निर्वाचित हुँदै उनी राजनीतिमा आवद्ध भएका थिए ।
०४४ सालमा उनले नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गरेका हुन् । ०६४ सालको चुनावमा हारेका उनले ०७० सालको दोस्रो संविधानसभाको चुनावमा भने उनले जित हासिल गरे । त्यो जितपश्चात् उनी संसदको वातावरण समितिमा सदस्य पदमा रहेर भूमिका निर्वाह गरे । ०७४ सालको चुनावमा उनले टिकट नै पाएनन् । यसपालि शारीरिक अस्वस्थता र प्रतिकुल राजनीतिबिच उनले जितेरै देखाइदिए ।
नव नियुक्त रक्षा मन्त्री उप्रेतीका अगाडि प्रशस्त चुनौतीहरू छन् । मुलुकको प्रतिरक्षा बढाउन सैन्य शक्तिलाई देशको प्रमुख शक्तिका रुपमा लिइन्छ । उनी यस्तो बेला संवेदनशिल रक्षा मन्त्रालय सम्हाल्न पुगेका छन् । जुन बेला नेपालमा छिमेकी देश भारत र चीनको चासो ह्वात्तै बढेको छ ।
अमेरिकाको चासो अझ त्यो भन्दा चुनौतीपूर्ण बन्न पुगेको छ । सडकमा आगो बालेको र राजनीतिक ध्रुवीकरण गरेको एमसीसीलगायतका मुद्दाहरूले फेरि कुनै पनि बेला बल्झिन सक्छन् । चीन र भारतसँग सीमा विवाद सुल्झिएका छैनन् ।
भारतसँग खुला सीमाना, सीमा अतिक्रमण, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि, शरणार्थीहरुको उचित व्यवस्थापन, मानव बेचबिखन, संगठित अपराधको नियन्त्रण जस्ता थुप्रै खालका समस्याहरू छन् । मुलुकमा आन्तरिक र बाह्य समस्या, जटिलताहरु थपिदै गएका छन् ।
कुटनीतिक क्षमता र अभ्यास, साझा राजनीतिक समझदारीको विकासको एजेण्डलाई अघि सारेर कदम चाल्नु पर्ने आवश्यकता छ । राष्ट्रिय स्वार्थका लागि सबैसँग समन्वय गरेर रक्षा मन्त्री कसरी अगाडि बढ्न सक्छन् ? यस्तै गठबन्धनमा सहभागी दलहरूको चित्त बुझाएर अघि बढ्नु अर्को चुनौती छ ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
रुद्रवेणी–वामीटक्सार सडक आजदेखि अवरुद्ध हुने
प्रतिक्रिया