कांग्रेस र माओवादीको गल्ती संवाद

कांग्रेसले भन्नुभो: गल्ती हाम्रै हो।
माओवादी केन्द्रले भन्नुभो : के गल्ती ?
कांग्रेस: प्रधानमन्त्री पाउने एमाले आश्वासनमा नपर्नुपर्ने रहेछ।
माओवादी केन्द्र: ए! हो नि!
कांग्रेस: तपाईंलाई दिन्छ भन्ने हाम्रा पुर्णबहादुर खड्काले मात्र बुझे।
माओवादी केन्द्र: तपाईं कांग्रेसले किन बुझ्नुभएन?
कांग्रेस: तपाईं कम्युनिष्टमा लामो इख हुन्छ भन्ने लागेको थियो।
माओवादी केन्द्र: इखहरू कार्यनीतिक सोच हुन्।
कांग्रेस: के हो कार्यनीति भनेको, तपाईं कम्युनिष्टका शव्दै नबुझिने!
माओवादी केन्द्र: यही हो कार्यनीति, म प्रधानमन्त्री छु।
कांग्रेस: त्यत्रो प्रतिगमन गर्ने एमालेसँग तपाईं पाँच मिनेटमा मिल्ने?
माओवादी केन्द्र: त्यत्रो प्रतिगमन गर्ने एमालेबाट तपाईं प्रधानमन्त्रीमा भर गर्ने?
कांग्रेस: गल्ती भो। माओवादी केन्द्र: राम्रै भो।
कांग्रेस: कसरी राम्रो?
माओवादी केन्द्र: म प्रधानमन्त्री भएँ।
कांग्रेस: हामी नै बनाउथ्यौं तपाईंलाई प्रधानमन्त्री।
माओवादी केन्द्र: किन बनाउनुभएन त?
कांग्रेस: तपाईंको कार्यनीति बुझिएन।
माओवादी केन्द्र: तपाईंको नियत बुझिएन।
कांग्रेस: अब नियत साफ छ।
माओवादी केन्द्र: अँ बुझें, विश्वासको मत दिनुभो।
कांग्रेस: किन दियौं थाहा छ?
माओवादी केन्द्र: थाहा छ, मलाई विश्वास गर्नुभो।
कांग्रेस: पाउनको लागि विश्वास गरेको।
माओवादी केन्द्र: के चाहियो भन्नुस्!
कांग्रेस: बुझ्नुभाछैन? राष्ट्रपति चाहियो।
माओवादी केन्द्र: एमालेले छाड्दैन।
कांग्रेस: एमालेलाई नदिनुस्।
माओवादी केन्द्र: सरकार उसकै बलमा छ।
कांग्रेस: हामी टिकाउँछौ तपाईंलाई।
माओवादी केन्द्र: हिजै किन भन्नुभएन?
कांग्रेस: त्यही त गल्ती।
माओवादी केन्द्र: राजनीतिमा इमान हुनुपर्छ।
कांग्रेस: बालकोट बार्दली पुग्नु तपाईंको इमान हो?
माओवादी केन्द्र: एमालेले बनाइदिन्छ भनेर लोभिनु तपाईंको इमान हो?
कांग्रेस: होइन।
माओवादी केन्द्र: हो, ठिक भन्नुभो। होइन।
कांग्रेस: अब?
माओवादी केन्द्र: अब पाँचबर्ष तपाईं प्रतिपक्षी।
कांग्रेस: अनि तपाईं? माओवादी केन्द्र: म सरकार।
कांग्रेस: अनि एमाले?
माओवादी केन्द्र: एमाले पनि सरकार।
कांग्रेस: पालो छ होइन तपाईंहरूबीच?
माओवादी केन्द्र: तपाईंले विश्वास गरेको होइन मलाई?
कांग्रेस: प्रतिपक्ष भैराख्न विश्वास गरेको हो त?
माओवादी केन्द्र: त्यसो भए विश्वास झिक्दिनुस्।
कांग्रेस: किन रिसाउनुभा?
माओवादी केन्द्र: खै रिसाको?
कांग्रेस: राष्ट्रपति दिनुस्।
माओवादी केन्द्र: एमाले मान्दैन।
कांग्रेस: फेरि उही कुरा।
माओवादी केन्द्र: फेरि उही कुरा। (सन्नाटा)
कांग्रेस: दुर्गा प्रसाईं चिन्नुहुन्छ?
माओवादी केन्द्र: पहिला हाम्रै मान्छे हुन्।
कांग्रेस: ज्ञानेन्द्र चिन्नुहुन्छ?
माओवादी केन्द्र: पहिला हाम्रो हुननसकेर हामीले फालेका मान्छे हुन्।
कांग्रेस: ती के गर्दैछन् थाहा छ?
माओवादी केन्द्र: अहँ थाहा छैन। सरकार हाम्रो छ, अरु थाहा छैन।
कांग्रेस: सरकार हुनुको मात चढेछ।
माओवादी केन्द्र: सिधा भन्नुस् कुरा के हो?
कांग्रेस: दुर्गा प्रसाईं एमालेका केन्द्रीय सदस्य हुन्।
माओवादी केन्द्र: ए। कांग्रेस: ज्ञानेन्द्र पूर्व राजा हुन्।
माओवादी केन्द्र: हो। कांग्रेस: मेची पुलमा ती जम्मा भए।
माओवादी केन्द्र: किन? कांग्रेस: राजतन्त्र फर्काउन।
माओवादी केन्द्र: हो र?
कांग्रेस: आफैं सरकार भएर सूचना छैन?
माओवादी केन्द्र: प्रसाईं हाम्रै थिए। ज्ञानेन्द्रलाई फालिसकेका थियौं।
कांग्रेस: न प्रसाईं तपाईंका हुन्, न ज्ञानेन्द्रले फालिएको ठाने।
माओवादी केन्द्र: अब?
कांग्रेस: अब के? एमाले नेताको काँधमा ज्ञानेन्द्र चढिसके।
माओवादी केन्द्र: अब? कांग्रेस: अब के? हामीलाई राष्ट्रपति दिनुस्।
माओवादी केन्द्र: हैट, एमाले मान्दैन।
कांग्रेस: मान्नुहुन्न भने हामी एमालेसँगै मिल्छौं।
माओवादी केन्द्र: कसरी मिल्नुहुन्छ प्रतिपक्षी भएर?
कांग्रेस: हेर्दै जानुस्।
माओवादी केन्द्र: रिसाउनुभा?
कांग्रेस: खै रिसाको?
माओवादी केन्द्र: एमाले र राजावादी मिल्छन् भन्न खोज्नुभा?
कांग्रेस: त्यही त भनेको अघिदेखि।
माओवादी केन्द्र: कहाँ मिल्छन्? मिल्दैनन्।
कांग्रेस: मेची पुलमा हेर्नुभएन?
माओवादी केन्द्र: हेरेको।
कांग्रेस: अनि मिल्दैदनन् अझै?
माओवादी केन्द्र: ओहो! गम्भीर कुरा आयो।
कांग्रेस: अब भन्नुस्?
माओवादी केन्द्र: राष्ट्रपति लिनुस्।
कांग्रेस: अनि सरकार?
माओवादी केन्द्र: सरकार मेरो र तपाईंको।
कांग्रेस: अनि एमाले?
माओवादी केन्द्र: अँ साच्चै एमाले नि!
कांग्रेस: मिल्नु गल्ती तपाईंको।
माओवादी केन्द्र: आड लिनु गल्ती तपाईंको।
कांग्रेस: हामी मिल्न खोज्दाखोज्दै तपाईं मिल्नुभो।
माओवादी केन्द्र: तपाईं मिल्न खोज्दाखोज्दै हामी मिल्यौं।
कांग्रेस: प्रतिगमन हो एमाले।
माओवादी केन्द्र: हो तर अझै उसैसँग मिल्ने धम्की किन?
कांग्रेस: धन्न बुझ्नुभो धम्की।
माओवादी केन्द्र: कार्यनीति भन्या बुझ्नुभो?
कांग्रेस: बुझाउनुस्।
माओवादी केन्द्र: आजको गल्ती संवाद, एक महत्त्वपूर्ण कम्युनिष्ट कार्यनीती!
















पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
जुम्लामा बढ्यो चुनावी सरगर्मी
नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया