शनिबार, पुष १२, २०८२

सुदूरपश्चिम र पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षा हुने

मेरोन्यूज २०७९ चैत २१ गते ६:२०

काठमाडौँ । अहिले मुलुकभर स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया