दुई करोड घुस माग्ने सांसदमाथि छानबिन गर्न संसदमा माग, कसले के भने ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले करोडौँ घुस मागेको अडियो सार्वजनिक भएसँगै संघीय संसदको दुवै सदनमा सांसदहरूले प्रश्न उठाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा सांसद श्रेष्ठको घुस मागेको संवादको विषयमा सांसदहरूले छानबिन गर्न माग राखेका हुन् । आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्ने भन्दै सांसद श्रेष्ठले दुई करोड मागेको अडियो सार्वजनिक भएको थियो ।
अधिकांश सांसदले बैठकमा सांसद श्रेष्ठलाई कारबाही गरी छानबिन गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको आरोप लगाए । सांसदहरूले मन्त्री बन्नका लागि घुस माग्ने सांसदलाई सरकारले छाड्न नहुने भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले रास्वपाका सांसद श्रेष्ठको टेलिफोन संवाद छानबिन गर्न संसदीय समिति गठनको माग गरे । उनले श्रेष्ठको फोन संवाद भ्रष्टाचारसँग सम्बन्धित रहेको भन्दै संसदले संसदीय समिति बनाएर निष्पक्ष छानबिन हुनु पर्ने बताएका हुन् ।
फोन संवादमा साढे दुई करोड रुपैयाँ कोर टिमलाई बुझाउनु पर्छ भनेको भन्दै कोर टिमको समेत छानबिन आवश्यक रहेको बताए । सांसद गुरुङले संसद सदस्यले गरेको कमिसन, भ्रष्टाचारसँग सम्बन्धित वार्तालापका सन्दर्भमा संसद चुप लागेर बस्न नहुने बताए ।
त्यस्तै, बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान गठबन्धनको सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको अरोप लगाए । उनले गठबन्धन सरकारकै सांसदले स्वास्थ्य मन्त्री हुन मेडिकल व्यवसायीसँग दुई करोड घुस मागेको अडियो सार्वजनिक भएसँगै सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको बताए ।
यता राष्ट्रियसभामा नेकपा एमालेकी सांसद दिलकुमारी थापा रावल (पार्वर्ती)ले दुई करोड घुस माग्ने सांसदबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग मागेकी छन् । उनले घुस लिने र दिने दुवै राष्ट्रको शत्रु भएकाले सांसद श्रेष्ठले घुस माग गरे/नगरेको सत्यतथ्य छानबिन गरी कारबाही गर्नु पर्ने बताइन् ।
उनले त्यस्ता घटना सत्य भए/नभएको तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नु पर्ने बताइन् । उनले सरकारलाई संविधान र कानूनअनुसार अघि बढ्न पनि ध्यानाकर्षण गराएकी थिइन् ।
एमालेका सांसद ऋषिकेश पाखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड पुगेछ भन्दै व्यङ्ग्य गरे । उनले स्वास्थ्यमन्त्रीको भाउ दुई करोड पुग्दा अरु मालदार मन्त्रीहरूको कति होला ? भन्दै प्रश्न गरे । उनले भ्रष्टाचारकै कारण नेताहरू सामाजिक रुपमै बहिष्करमा पर्न सक्ने चेतावनी दिए ।
अर्का सांसद उदयबहादुर बोहोराले ८७५ जना नेपालीलाई भुटानी बनाउने राजनीतिक संलग्नता ५० लाख असुल गरिएको विषय बाहिर आउन नपाउँदै सांसदले दुई करोड घुस मागेको अडियो बाहिर आएको बताए ।
उनले स्वास्थ्यमन्त्री बन्ने सांसद श्रेष्ठले व्यवसायीलाई मन्त्री बनेर अस्पताललाई दिने लेटर अफ इन्टेन शिक्षा मन्त्रालयले दिन्छ भन्ने ज्ञानसमेत नभएको देखिएको बताए । उनले अडियो झुटो भए छानबिन गरी दुर्गा प्रसाईंलाई कारबाही गर्नु पर्ने माग राखे ।
यस्तै, रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टीका प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा माफी मागेका थिए । उनले अडियो सार्वजनिक घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा याचना गरेका हुन् ।
उनले संसदको गरिमा बढाउने रास्वपाको अभियानमा अक्षुण रहने भन्दै यो घटनाले विचलित हुने नहुने बताए । उनले राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनु पर्ने बताए । अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको र पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको प्रमुख सचेतक परियारले बताएका थिए ।
उनले घुस माग्ने अडियो सार्वजनिक घटना पहिलोपटक नभएको भन्दै विगतमा पनि यस्ता घटना भएको र सबैको सत्यतथ्य छानबिन हुन आवश्यक रहेको बताए ।
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया