बागलुङको रामतोला बस्तीमा बर्खा नलाग्दै पहिरोको चिन्ता

बागलुङ । आठ महिना पहिले गाउँमाथिबाट आएको पहिराले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन । छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन ।
घर वरपरको जमिन चर्केको छ, घर छेउको बारीमा चिरा परेको छ । हिउँदका महिना पहिरो बढ्ला कि भन्ने त्रास भएन । बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीमा पहिराले फेरो हालेका घरमै बसेका सर्वसाधारणलाई बर्खा लाग्ने बेलामा भने विस्तारै चिन्ताले पिरोल्न थालेको छ ।
गत भदौ २१ गतेबाट सुरु भएको पहिरो असोजको अन्तिमसम्म रोकिएन । दशैँका बेला एक साता निरन्तर वर्षा हुँदा पहिरो निरन्तर बगिरह्यो । गाउँले घर छाडेर छिमेकमा बसे । हिउँद लागेपछि आफ्नै घर फर्किएका गाउँले आउँदो बर्खायाममा फेरि घर छाड्नुपर्ला कि भन्ने चिन्तामा छन् ।
‘हिउँदमा त दिन काटियो तर बर्खामा घर बस्न सकिँदैन,’ स्थानीय कुलराज शर्माले भने, ‘अन्त जाने ठाउँ छैन, घरमै बस्ने वातावरण छैन ।’ पहिराका कारण घर चर्किएका स्थानीय ढालनाथ शर्माले घर छाडेर हिँडे । पोखरामा रहेका छोराले कोठा भाडामा लिएर उनलाई पोखरा लगे । कुलराज शर्मा, नैनकली केसी र वीरबहादुर केसीका घर गोठ चर्केका छन् ।
‘पहिराले घरगोठ नपुरेसम्म सरकारले केही नदिने रहेछ, हामी त दिनरात तड्पेर बसेका छौँ,’ शर्मा भन्छन्, ‘घरगोठ सग्ला छन् तर भरिला भएनन् ।’ आउँदो बर्खाको चिन्ता हिउँदबाटै सुरु भएको शर्माको गुनासो छ । अघिल्लो बर्खा सकिनैलाग्दा सुरु भएको भीषण पहिराबाट हिउँदमा भएको वर्षामा समेत माटो बगिरहेको थियो ।
‘पहिराको प्रभाव गाउँका अन्य ११ घरमा पनि परेको छ, पूर्ण प्रभाव परेका सात घर छन्,’ वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘पहिरो नियन्त्रणको प्रयास भइरहेको छ, बस्ती स्थानन्तरण गर्न सकिएन, यो कठिन काम रहेछ ।’ हिउँदभरि प्रयास गरेर पहिराको अध्ययन गर्ने, भलबाढी तर्काउने र सम्भावनाको खोजी गर्ने काममात्रै गर्न सकिएको उनले बताए ।
बागलुङ नगरपालिकाले पहिरो नजिक जाने भल तर्काएको छ । घरगोठ नजिक भल नजाने गरी निकास दिइएको वडाध्यक्ष गौतम बताउछन् । ‘हामीले बस्ती स्थानान्त्रण गर्न खोजेका छौँ, तर जग्गाको अभाव छ,’ उनले भने, ‘वडाभित्र उपयुक्त जग्गा छैन, बाहिर कसले दिन्छ र ?’
वडामै रहेको जग्गामा बस्तीमात्रै स्थानान्तरण गरे पनि पीडित घर छाडेर हिँड्ने मानसिकतामा नरहेको गौतम बताउछन् । खेतीपातीका कारण सर्वसाधारणले आफू बस्दै आएको ठाउँ छाड्न नमानेको उनले बताए । डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ–११ को रायडाँडास्थित रामतोलामा प्रदेश सरकार र बागलुङ नगरपालिकाको ध्यान जान आवश्यक छ ।
पहिराले जैमिनी नगरपालिका–१ वडारको वस्ती पनि जोखिममा छ । गत साताको वर्षापछि पहिरोले माटो बगाउँदा बृहत् कुश्मीशेरा खानेपानी आयोजनाको मुहान बगाएको छ । वडारका केही परिवार पहिराका कारण विस्थापित हुने अवस्थामा छन् । (रासस)
















रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
FNJ marks World Press Freedom Day, argues free press a fundamental human rights
इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया