सोमबार, मंसिर १५, २०८२

क्रिकेटमा नेपाली क्रेज : अधैर्य खेलाडी, धैर्य दर्शक

मेरोन्यूज २०८० वैशाख १८ गते २०:४३

काठमाडौँ । नेपाली क्रिकेट एक कीर्तिमानको नजिक पुगेको छ । खेलाडीहरूले ऐतिहासिक जित निकाल्दै गर्दा राष्ट्रिय टोली कीर्तिमान नजिक पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारको खेल सम्पन्न हुन पाएको भए सायद, नेपाली टोलीले आफैमा कीर्तिमान बनाउने थियो । तर, वर्षा भएपछि यूएईसँगको प्रतियोगिताको बाँकी खेल भोलि हुने भएको छ ।

भोलिको खेलमा जित भएसँगै नेपाली टोलीले विश्व विजेता छिमेकी देशहरूसँग प्रतिस्पर्धा गर्ने निश्चित हुनेछ । नेपाली क्रिकेट टोलीका लागि यो एक कीर्तिमान हो ।

आजको खेलमा नेपाली खेलाडीहरू ऐतिहासिक जित निकाल्न अधैर्य अर्थात आतुर देखिए । टस जितेर यूएईलाई पहिलो ब्याटिङको निम्तो दिएको नेपालले ९ विकेट लिइसकेको छ ।

जम्मा २७.३ ओभरमै ९ विकेट लिएर यूएईमाथि हाबी भएको नेपाली खेलाडीले जम्मा १०६ रन दिए । नेपाल हाबी भएसँगै यूएईका खेलाडीहरू हतास थिए । एकपछि अर्को आउट भए ।

राष्ट्रिय टोलीलाई साथ दिँदै ऐतिहासिक दिनको साक्षी बन्न हजारौँ दर्शक बिहानै खेल मैदान पुगे । उनीहरूले हरेक बलमा खेलाडीलाई साथ दिए । यूएईका खेलाडी आउट हुँदा ‘हुटिङ’ लगाए ।

दर्शकका सामू हौसिएका खेलाडीको आत्मबलले सगरमाथाको शिखर छुँदै गर्दा वर्षा हुन थाल्यो । खेल सुरु भएको डेढ घण्टापछि वर्षाले करिब २० मिनेट खेल रोकियो । वर्षा रोकिएसँगै खेल पुनः सुरु भयो ।

खेल करिब अन्त्यतिर पुग्दै गर्दा पुनः वर्षा हुन थाल्यो । यस बेलासम्म यूएईले ९ विकेटको क्षतिमा जम्मा १०६ रन बनायो । वर्षा रोकिएर पुनः खेल सुरु हुने आशामा दर्शकहरूले धैर्य गुमाएनन् । करिब चार घण्टासम्म झरीमा मैदानमै बसिरहे ।

कुवेतसँगको खेलमा वर्षासँगै भिजेका दर्शकहरू आज पूरै तयारीमा आएका थिए । उनीहरू छाता ओडेर मैदानमै बसिरहे । खेल हुने आशामा धैर्य गरिरहे । खेल भोलि हुने निश्चित भएपछि साँझ मात्रै घर फर्किए ।

संघर्षबाट निष्किएको सफलता

पछिल्लो एक महिनाको बीचमा नेपाली टोलीले खेलेको चमत्कारी खेलबाट क्रिकेटप्रेमी हौसिएका छन् । गत फागुनसम्म एक दिवसीय मान्यता जोगाउन संघर्ष गरिरहेको नेपाल विश्व विजेता भारत, पाकिस्तानसहित देशहरूसँग खेल्ने अन्तिम बिन्दुमा छ ।

यसअघि आईसीसी विश्वकप लिग २ को ६ शृंखलामा नेपालको अवस्था नाजुक थियो । कूल ६ शृंखलाबाट नेपालले जम्मा १८ अंक बनाएर छैटौं स्थानमा थियो ।

यस अवस्थमा एक दिवसीय मान्यता जोगाउन मात्रै नेपालले बाँकी तीन शृंखलाका १२ खेलमध्ये ७ खेल जित्नु पर्ने दबाबमा पुग्यो ।

तर, नेपालले १२ मध्ये ११ खेल आफ्नो पक्षमा पार्न सफल भयो । यी खेलहरू नै नेपालका लागि विश्व विजेता देशहरूसँग खेल्ने आधार बन्न पुग्यो । खेलाडीहरूमा विश्वास भरियो ।

उम्दा प्रदर्शन गरेको नेपालले ११ खेल जितेर एक दिवसीय मान्यता मात्र जोगाएन । लिगको तेस्रो स्थानमा रहेर सोझै विश्वकप छनोटमा पुग्यो ।

यता एसिया कप छनोट खेलमा पनि नेपाल अपराजित यात्रामा छ । नेपालले खेलको चार खेलमध्ये तीनमा विजयी भएको भयो भने वर्षाका कारण एक खेलमा अंक बाडेको थियो ।

भोलि हुने यूएईसँगको बाँकी खेल जिते नेपालको जित यात्रामा थप एक इँट्टा थपिने छ । एउटा इतिहास बन्ने छ ।

प्रतिक्रिया