सोमबार, मंसिर १५, २०८२

नेपाल प्रहरीका क्रिकेट खेलाडीहरू सम्मानित

मेरोन्यूज २०८० वैशाख २० गते १७:४९

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी हालै सम्पन्न ‘एसीसी प्रिमियर कप २०२३’ लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका नेपाल प्रहरीका ६ जना क्रिकेट खेलाडीलाई सम्मान गरिएको छ ।

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमबीच उनीहरूलाई प्रशंसा पत्र तथा नगद पुरस्कारद्वारा सम्मान गरेका हुन् ।

सम्मानित हुने खेलाडीहरूमा प्रहरी कर्मचारीहरू नेपाल पुलिस क्रिकेट टिमका क्याप्टेन दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी एवं नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठन र राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी भई हालै सम्पन्न भएको एसीसी प्रिमियर कप २०२३ मा उत्कृष्ट प्रदर्शन गरी विजयी हासिल गरेकोमा बधाई दिए ।

राष्ट्र एवम् संगठनको छवि अझ उच्च गर्नमा आगामी दिनमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको लागि उनले शुभकामनासमेत दिए । एसीसी प्रिमियर कप २०२३ मा नेपाल प्रहरीका खेलाडीको उत्कृष्ट प्रदर्शन तथा राष्ट्रिय सम्मान अभिवृद्धिमा गरेको योगदानको नेपाल सरकारले पनि उच्च मूल्यांकन गरेको उनले बताए ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका खेलाडीहरूको मनोबल उच्च गराउन, क्षमता अभिवृद्धि गर्न र वृत्ति विकासका लागि संगठन सदैव क्रियाशील रहेको उल्लेख गरे ।

कार्यक्रममा सम्मानित खेलाडीहरूकोतर्फबाट मन्तव्य व्यक्त गर्दै कुशल भुर्तेलले नेपाल प्रहरी संगठनको प्रतिनिधित्व गरी सफलता प्राप्त गरेकोमा धेरै गौरव महसुस गरेको बताए । साथै आउँदा दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरूलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया