शनिबार, वैशाख २६, २०८३

अस्ट्रेलियामा लागु औषधजन्य कारण दैनिक पाँच जनाको मृत्यु

मेरोन्यूज २०८० वैशाख २१ गते २०:१०

काठमाडौँ । युनिभर्सिटी अफ न्यू साउथ वेल्स (एनएसडब्ल्यू सिड्नी)का विज्ञहरूको प्रारम्भिक अनुमानअनुसार सन् २०२१ मा दैनिक पाँच जना अस्ट्रेलियाली नागरिकको औषधिको ओभरडोज र अन्य कारणले मृत्यु भएको छ ।

Advertisement
NiccNicc

बिहीबार प्रकाशित रिपोर्टअनुसार सन् २०२१ मा अस्ट्रेलियामा एक हजार सात सय ८८ जनाको लागु औषधका कारण मृत्यु भएको थियो । यो संख्या उक्त वर्ष अस्ट्रेलियामा दर्ता भएका मृत्युको झन्डै एक प्रतिशत हो ।

उक्त अवधिमा अस्ट्रेलियामा प्रत्येक एक लाख जनसंख्यामा ६.९ जनाले लागु औषधका कारण ज्यान गुमाएका थिए । सन् २०२१ मा लागु पदार्थका कारण हुने मृत्युमध्ये ६३ प्रतिशत पुरुषमा भएको थियो भने ४५ देखि ५४ वर्ष र ३५ देखि ४४ वर्ष उमेर समूहका मानिसमा लागुपदार्थका कारण हुने मृत्युको ठूलो हिस्सा थियो ।

सन् २०२१ लागुऔषधको बढी प्रयोगका कारण हुने मृत्युमा सबैभन्दा बढी हेरोइन र ‘फार्मास्युटिकल ओपिओइड’ सँग संलग्न घटनाहरू भेटिएका छन् । यसका कारण कूल एक हजार आठ व्यक्तिको मृत्यु भएको थियो भने त्यसपछि ‘एन्टिपिलेप्टिक’ र ‘एन्टी–पार्किन्सनिज्म’ औषधिहरू थिए ।

उक्त प्रतिवेदनले लागुऔषधका कारण हुने मृत्युमध्ये ७६ प्रतिशत घरमै भएको, ६८ प्रतिशतले नजानेर र २७ प्रतिशतले जानाजानी गरेको उल्लेख गरेको छ । “सन् २००२ देखि लागुपदार्थका कारण हुने मृत्युदर प्रतिवर्ष औसतमा ३।५ प्रतिशतले बढेको छ र सन् २०१७ मा प्रति एक लाख अस्ट्रेलियालीमा आठ जनाको मृत्युभएको थियो,” ड्रग ट्रेन्ड रिसर्च प्रोग्रामकी प्रमुख तथा एनएसडब्ल्यू सिड्नीकी एसोसिएट प्रोफेसर एमी मयुरले भने ।

उक्त प्रतिवेदनले सन् २००२ देखि २०२१ सम्म अस्ट्रेलियामा लागुपदार्थका कारण भएका सबै मृत्युका बारेमा निष्कर्ष प्रस्तुत गरेको छ । उनले भने, “हामीले यो वृद्धिपछि लागुपदार्थका कारण हुने मृत्युको दरमा थप वृद्धि भएको प्रमाण देखेका छैनौँ ।”

अस्ट्रेलियाको ‘थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन (टीजीए)’ले बुधबार प्यारासिटामोल प्याकको साइज घटाउने अन्तिम निर्णय गरेको घोषणा गरेपछि यो रिपोर्ट आएको हो । टीजीएका अनुसार अस्ट्रेलियामा हरेक वर्ष करिब दुई सय २५ जना प्यारासिटामोलको अत्यधिक सेवनका कारण अस्पताल भर्ना हुने गरेका छन् भने ५० जना अस्ट्रेलियालीको मृत्यु प्यारासिटामोल ओभरडोजका कारण हुने गरेको छ ।

फेब्रुअरी १, २०२५ देखि, अस्ट्रेलियामा सामान्य बिक्रीका लागि उपलब्ध प्याकहरूको अधिकतम मात्रा घटाइएको छ ।

प्रतिक्रिया