सोमबार, मंसिर १५, २०८२

जिम्बावेमा वानडे विश्वकप छनोट खेल्ने नेपालसहितका १० टोलीको टुंगो

मेरोन्यूज २०८० वैशाख २७ गते ७:४६

काठमाडौं । आगामी सेप्टेम्बरमा भारतमा हुने वानडे विश्वकपका लागि जुन–जुलाईमा जिम्बावेमा छनोट खेल्ने १० वटै टोलीको टुंगो लागेको छ । यो छनोटबाट विश्वकप खेल्नका लागि दुई टोली छनोट हुनेछन् ।

आईसीसी क्रिकेट विश्वकप सुपर लिगको अन्तिम शृंखलाको बंगलादेश र आयरल्याण्डबीचको खेल वर्षाले प्रभावित भई नतिजाविहीन बनेपछि आयरल्याण्डले अब विश्वकप छनोट खेल्नुपर्ने भएको हो ।

जसको फाइदा दक्षिण अफ्रिकालाई भएको छ । दक्षिण अफ्रिकाले सुपर लिगको शीर्ष आठमा रहेर सीधै विश्वकपमा स्थान पक्का गरेको हो ।

१३ टोली सम्मिलित सुपर लिगमा आयोजक भारतसहित शीर्ष आठ टोलीले विश्वकपमा स्थान बनाएका हुन् । पुछारका पाँच टोलीले भने अब जिम्बावेमा हुने १० टोली सम्मिलित छनोट प्रतियोगिता खेल्नुपर्नेछ ।

बंगलादेशसँगको खेल नतिजाविहीन बनेपछि आयरल्याण्ड ७३ अंकसहित ११औं स्थानमा पुगेको हो । आयरल्याण्डले अब बाँकी दुई खेल जिते पनि आठौं स्थानमा रहेको दक्षिण अफ्रिकालाई भेट्ने सम्भावना टरेको छ ।

दक्षिण अफ्रिकाको ९८ अंक छ । यदि आयरल्याण्डले बंगलादेशलाई सबै तीन खेलमा हराएर नेट रनरेटमा सुधार गरेको भए विश्वकपमा पुग्ने सम्भावना कायम थियो ।

अब जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटमा १० टोली टुंगो लागेको हो । छनोटमा ४ टेष्ट राष्ट्र वेष्ट इन्डिज, श्रीलंका, आयोजक जिम्बावे र आयरल्याण्डसँगै खेल्ने छन् । सुपर लिग खेलेको नेदरल्याण्ड्स सुपर लिगको अन्तिम पाँच स्थानमा रहेपछि विश्वकप छनोटमा आइपुगेको हो ।

यस्तै स्कटल्याण्ड, ओमान र नेपालले क्रिकेट विश्वकप लिग टु कोशीर्ष तीन स्थानमा रहेर विश्वकप छनोटमा स्थान बनाएका थिए । यस क्रममा नेपालले अन्तिम १२ मध्ये ११ खेलमा जित निकालेर शीर्ष तीनमा स्थान बनाएको थियो ।

यस्तै अमेरिका र यूएईले क्वालिफायर प्लेअफमा शीर्ष दुई स्थानमा रहेर विश्वकप छनोटमा स्थान बनाएका हुन् ।

अब यी १० टोलीबीच फाइनल पुग्ने दुई टोली भारतमा हुने वान डे विश्वकप खेल्नका लागि छनोट हुनेछन् ।

आईसीसीले समूह विभाजन गरेपछि कसले कुन टिमसँग खेल्ने टुङ्गो लाग्नेछ ।

विश्वकप छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिनेछ । समूह चरणको खेलपछि दुवै समूहको शीर्ष तीन स्थानमा रहने तीनरतीन गरी ६ टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको शीर्ष दुई टोली फाइनल पुग्नदै विश्वकपमा छनोट हुनेछन् ।

प्रतिक्रिया